देशभर बाढी, पहिरो र डुबानको समस्या एकसाथ आइपरेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती पहिरोले पुरिँदा भएको १३ जनाको मृत्यु र २५ जना बेपत्ताको अवस्थाले देश निकै असहज प्राकृतिक विपद्बाट गुज्रिरहेको सहजै बोध हुन्छ । देशका अन्य भागमा पनि बाढीपहिरोले क्षति र विनाश निम्त्याइरहेको छ ।
पहिरो गएपछि बेपत्ताको खोजी कार्य जारी रहेको र बचेकाहरूका लागि तत्काल राहत वितरण गरे पनि स्थानीय जनतामा त्रास हराएको छैन । बाँकी रहेको लिदीको बस्ती थप जोखिमको मुखबाट टाढा छैन । स्थानीय सर्वसाधारण माथिबाट पहिरो खस्छ कि भनी एकक्षण पनि आँखा नचिम्ली हेरिरहन्छन् । जनतामाथि सन्त्रासको छायाले राज गरेको छ । स्थानीय प्रशासनबाट अझै ठूलो क्षति हुन सक्ने भएको भनी सचेत रहन आग्रह गरिए पनि वैकल्पिक वासस्थानको व्यवस्था कहाँ गर्ने भन्ने टुंगो लागेको छैन । वर्षा रोकिने छाँट छैन । फेरि पहिरो गएको ठाउँमा झनै ठूलो पहिरो तानिन सक्ने सम्भावना बढेर गएको छ । त्यति नभए पनि खस्न बाँकी रहेको माटोको भाग थोरै वर्षाका कारण पनि बगेर जाने देखिएको छ ।
लिदीको बस्ती पहिलैदेखि जोखिममा थियो । यस्ता जोखिमयुक्त बस्तीहरू नेपालका सबै जिल्लाहरूमा छन् । अग्लाअग्ला पहाडका मुनि बस्ती जहाँतही रहेका छन् । यस्तो जोखिम लिदीपछि अन्यत्र पनि नदेखिने विषयमा कोही पनि ढुक्क हुन सक्ने अवस्था छैन । किनकि लिदीका जनता यही विपत्ति निम्तन सक्ने आशंकाका साथ हरेक वर्षाका बखत रातमा अस्थायी टहरामा जाने र बिहान त्यहाँबाट आएर बस्तीमा बस्ने गरेका थिए । तर, बाढीपहिरोजस्ता प्राकृतिक विपद् रातमा मात्र निम्तिने र दिउँसो ननिम्तने हुँदैनन् । लिदीका स्थानीय जनता पनि रातमा बसेको अस्थायी टहराबाट फर्किएर आएपछि दिनमा पहिरोमा पुरिएका थिए । २०७२ सालको भूकम्प गएपछि नेपालको अधिकांश भूभाग थर्किएको, चर्किएको र अस्थिर भएको छ । यसले सापेक्ष स्थिरता प्राप्त गर्न धेरै समय लाग्छ । त्यसो त पृथ्वीको उत्पत्ति र भौगोलिक निर्माणको प्रक्रियामा सबैभन्दा कान्छो भूगोल हिमालय शृंखला हो । यो निकै पछिल्लो चरणमा चीन र भारतीय प्लेटको बीचमा रहेको टेथिर सागर उठेर बनेको हो । नेपाल भारतीय प्लेट र चीनको तिब्बतीयन प्लेट एकापसमा ठोक्किँदा उठेको निकै कच्चा र बुर्बुरे ढुंगामाटो रहेको भूगोलमा पर्छ ।
भूकम्पपछिका दिनमा सिन्धुपाल्चोकको जुरेको पहिरो खसेपछि सिन्धुपाल्चोकका धेरै बस्ती सारिनुपर्ने माग स्थानीय जनताले गरेका थिए । भूगर्वविद्हरूले पनि यसलाई गम्भीर रूपमा लिएर सरकारलाई सिन्धुपाल्चोकलगायतका अन्य जोखिमपूर्ण अवस्थामा रहेका बस्तीको बेलैमा वैकल्पिक बस्ती स्थानान्तरण गर्न सुझाएका थिए । तर, समयको मागलाई बेलैमा सम्बोधन गर्न नसक्दा लिदीको जस्तो दुर्घटना निम्तन पुगेको छ । यस्ता दुुर्घटना देशभर निम्तन सक्ने भएकाले अन्य बस्तीहरूमा पनि यस्ता जोखिमको खोज र अनुसन्धान गरी बेलैमा होसियारी अपनाउनु जरुरी छ । यसका साथै लिदीका पहिरोपीडितका लागि तत्काल राहत पु¥याई सापेक्ष सुरक्षित स्थानमा स्थानीय जनताको व्यवस्थापन गरिनुपर्छ । क्षतिपूर्ति र स्थायी बसोबासका लागि सापेक्ष योग्य र उर्वर भूमिमा यस्ता वैकल्पिक बस्तीहरू बसाइनु जरुरी छ ।






