वर्षासँगै बाढीपीडितमा देखिएको झाडापखाला

 

मनसुन सुरु भएसँगै देशभर बाढी र पहिरोको प्रकोप बढेको छ । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी समाचारमा शीर्षस्थानमै छन् । पानी तथा सरसफाइजन्य समस्याले गाल्ने डरका कारण रोकथामका लागि जनचेतना तथा रोकथामका उपाय अपनाइएका छन् । सुरुमा ६ सयसम्म मानिस राखिएको विद्यालयबाट विस्तारै भाडाकुँडा, खाद्यपदार्थसहित घरमा पठाउन थालिएको छ । स्वास्थ्यकर्मी परिचालन गरिएको छ । दाताले दिएको खाद्यपदार्थ कुहिएको तथा संक्रमित भएकाले झाडापखालाका बिरामी पटकपटक देखिने गरेका छन् । स्वास्थ्य मन्त्रालयले पनि बाढीपहिरोबाट विस्थापित भएकालाई समूहमा बस्नपर्ने तथा जोखिम बढेकाले कोरोनाको खोप लगाउने निर्णय गरिसकेको छ ।

वर्षा मौसमको सुरुवातसँगै टाइफाइड, प्याराटाइफाइड, जन्डिस, हैजा, झाडापखाला, पोलियो, जुका, जापानी इन्सेफलाइटिस, औंलो, कालाज्वर, तथा हेपाटाइटिसजस्ता रोग देखापर्छन् । मुलुकमा देखापर्ने जनस्वास्थ्य समस्या खासगरी गरिबी, विपन्नता, अशिक्षा, पोषणयुक्त खानाको अभाव, प्रशस्त खाना खान नपाउनु, सरसफाइ तथा हेरचाहको अभाववाट उत्पन्न हने गरेको छ । त्यसैमा अझ उपचारका लागि स्वास्थ्य संस्थामा लग्ने प्रचलनको अभावले महामारीका रूप पनि लिने गरेको छ । पानीको अभाव तथा प्रदूषणले र सरसफाइमा अपर्याप्तता तथा स्वास्थ्यसम्बन्धी जानकारी अभावले वर्षांैदेखि फैलिएका झाडापखालाबाट दर्जनौं बढीले ज्यान गुमाइरहेका छन् । एउटा समाचार सेलाउन नपाउ“दै अर्को जिल्लामा, गाविस प्रभावित भएको खबर सञ्चार माध्यम तथा दैनिक सञ्चार माध्यममा सम्प्रेषण भइरहेका भए पनि कोरोना महामारीपछि कम भएका छन् ।

शरीरबाट जुन अनुपातमा नुन र पानी खेर गएको छ सोही अनुपातमै पुनर्जलीय झोल खुवाउने प्रक्रियालाई पुनर्जलीय उपचार भनिन्छ

भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीविबाट हुने झाडापखाला लामो समयसम्म रहने गर्छ

गर्मी र वर्षा याममा झिंगाको संख्या निकै बढ्ने, व्यक्तिगत र वातावरणीय सरसफाइ अपर्याप्त हुने र पानी प्रदूषित हुने भएकाले झाडा पखाला बढ्छ । वर्षायाममा पटकपटक बाढी आउने, जीवजन्तु मर्ने, पानी प्रदूषित हुने वातावरण फोहोर भई खानेकुरा र पानी प्रदूषित भएर यो रोगको महामारी देखिन्छ । तथापि आजको वैज्ञानिक युगमा पनि झाडापखालाजस्तो शून्य मृत्युदर भएको सामान्य रोग पनि नेपालका लागि चुनौतीकै रूपमा छ ।

के हो झाडापखाला ?

एक दिनमा तीन वा सोभन्दा बढीपटक पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । आँखाले देख्न नसकिने कीटाणुहरूको कारणबाट खाना, पानी संक्रमित भई खाना, पानी र फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । पुराना रोगहरूको लक्षणको रूपमा पनि पखाला लाग्छ ।

कारण

झाडापखाला विषाणु, जीवाणु र परजीविका कारणबाट लाग्छ । भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरुन्जेल निको नहुने गर्छ ।

एक्कासि हुने झाडा पखालामा भाइरल ससाना बालबालिकामा रोटा विषाणुको संक्रमणले झाडा पखाला लाग्छ । ब्याक्टेरिया भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि, प्रोटोजोवल इ हिस्टोलाइटिका, जिपारडिया लाम्वलिया आदि पर्छन् । विषाक्त खाना (फुड प्वाइजनिङ)बाट हुने र दीर्घकालीन (क्रोनिक) हुने पर्छन् । टाइफाइड र जन्डिसमा पनि पखाला कहिले का“ही लाग्न सक्छन् । त्यसैगरी, शरीरका प्रणालीका रोग शरीर क्रिया, एन्टिबायोटिक औषधि र अन्य केही औषधिले पनि पखाला गराउन सक्छन् ।

लक्षण तथा चिह्न

हुन त प्रत्येक उमेर तथा लिंगका व्यक्तिलाई यो रोग लाग्ने भए पनि बालबालिकालाई बढी सताउने गर्छ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्छ । आन्द्राको शोषण शक्ति घट्छ । दिसा बस्दा पिचकारीबाट अर्थात् पचाकाको तेजिले उत्सर्जित हुन्छ, वाकवाकी लाग्ने र वान्ता हुने हुन्छ । दिसामा नपचेको भोजनका टुक्रा रहेको र साह्रै गन्हाउने हुन्छ । पेट गड्याङगुडुङ गर्छ, दुख्छ । हातखुट्टा र मांसपेशी दुख्छ, बाउँडिन्छ, गल्छ । बच्चाले झर्को मान्ने, बेचैन हुने, बढी मात्रामा तिर्खा लाग्छ । रिङटा लाग्छ, कमजोरीको महसुस हुन्छ, मुख, जिब्रो सुक्खा र फोहोरी हुन्छ ।

त्यसपछि आँखा गाडिने, गाला भित्र धसिने हन्छ । पिसाब कम हुन्छ तथा जलविनियोजन बढी भएमा पिसाब हुँदैन । रुँदा आँसु आउँदैन । बच्चामा तालु धसिन्छ । आँखा सुक्खा हुन्छ, शरीर चिसो हुन्छ, पेटको छाला तन्काएर छोडदा मुजा परिराख्छ, विस्तारै फर्कन्छ, नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुन्छ, रक्तचाप कम हुन्छ, श्वासप्रश्वास तीव्र हुन्छ, बिरामीमा आलस्य हुन्छ । अझै पनि उपचार नगरे दीर्घ झाडापखालाले कुपोषण, कडा खालको जलविनियोजन सेप्टेसेमिया डिसइलेक्टोलाइटेमिया र सिकिस्त भएमा बिरामीले खान, पिउन नसक्ने, लोलाउने, पिसाब बन्द हुने, बालबालिकाको तालु भासिने, आ“खा झिम्क्याउन नसक्ने रक्तसञ्चार रोकिने, फोक्सो र मुटुले काम नगर्ने, बेहोस हुने साथै समयमै उपचार नभएमा अन्तमा मृत्युसमेत हुन्छ ।

घरेलु उपचार

झाडापखाला हुँदा घरमै गरिने उपचारलाई घरेलु उपचार भनिन्छ, जसमा निम्नलिखित पर्छन् ।
१. कुपोषणबाट जोगाउन साबिककै जस्तो खानेकुरा दिने गर्नुपर्छ ।
२ प्रशस्त मात्रामा घरेलु झोलकुरा खुवाउनुपर्छ ।

आमाको दूध खाने बच्चा भए साबिकभन्दा बढीपटक दूध खुवाउनुपर्छ । बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुरा जस्तै दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, फिका चिया, भातको माड, अन्न पातलो लिटो यी समेत नभएमा सादा पानी प्रशस्त मात्रामा दिनुपर्छ । समुदायमा झाडापखाला लाग्दा पानी पिउन नदिने अत्यन्त गलत धारणा छ । जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन गई मृत्युसमेत हुन सक्छ ।

३ झाडा पखालाबाट खेर गएको लवण, पोषक तत्व र पानी पूर्ति गर्न पुनर्जलीय झोल बनाएर पनि खुवाउनुपर्छ । शरीरबाट जुन अनुपातमा नुन र पानी खेर गएको छ सोही अनुपातमै पुनर्जलीय झोल खुवाउने प्रक्रियालाई पुनर्जलीय उपचार भनिन्छ । पुनर्जलीय झोल बनाउन सर्वप्रथम साबुन पानीले राम्रोसँग हात धोई सफा गरिएका ६ चिया गिलास वा १ लिटरको भाँडो, चम्चा, पानी राख्ने भाँडो र छोप्ने बिर्को वा ढक्कन तथा जीवनजलको पुरिया तयार पार्नुपर्छ । त्यसपछि ६ चिया गिलास शुद्ध र सफा पानी एउटा सफा भाँडोमा राखी त्यसमा १ पुरिया जीवनजल राखेर सफा चम्चाले चलाई पुनर्जलीय झोल तयार पार्नुपर्छ । यसरी तयार पारिएको पुनर्जलीय झोल जतिपटक पखाला लाग्छ त्यति नैपटक खुवाउँदै जानुपर्छ । प्रयोग नभएको बेला पुनर्जलीय झोल राखेको भाँडो सफा बिर्कोले छोप्नुपर्छ । यसरी तयार पारेको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।

बान्ता गरेमा १० मिनेट पर्खी बिस्तारैबिस्तारै खुवाउनुपर्छ । जीवनजलको प्याकेट सकिएमा तथा झाडापखाला नथामिएमा घरैमा जीवनजल ६ चिया गिलास वा दुई माना सफा उमालेको पानीमा दुई ठूलो चम्चा चिनी÷मह वा ग्लुकोज, चौथाइ चिया चम्चा नुन र सोडियम बाइकार्बोनेट र सम्भव भए कागती÷सुन्तलाको रस आधा कप राखी बनाउन सकिन्छ वा झोलिलो पदार्थ खुवाउन सकिन्छ ।

अन्तमा, घरेलु उपचार गर्दा पनि तीन/चार दिनमा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा गरेमा, तारन्तार वान्ता गरेमा, ज्यादै तिर्खाएमा राम्ररी खान पिउन नसकेमा, ज्वरो आएमा कम्पन हुन थालेमा, मुख खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटोछिटो चलिरहेमा, रक्तचाप कम भएमा दिसामा रगत देखिएमा, मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मीकहाँ लैजानुपर्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 639 times, 1 visits today)

epaper

ताजा समाचार

मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो