चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् ।
नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो ३९ र नेपाली मकै ३६ रुपैयाँमा खरिद हुने गरेको थियो । अहिले भारतीय मकैको मूल्य प्रतिकिलो ५४ र नेपाली मकैको मूल्य ५० रुपैयाँभन्दा माथि पुगेको छ । यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो ८७/८८ बाट बढेर ९५/९६ रुपैयाँ पुगेको छ ।
नेपालमा मकै र भटमासको पिना सबैभन्दा बढी कुखुराको दानामा प्रयोग हुन्छ । दानामा मकै ५० देखि ६० प्रतिशतसम्म प्रयोग हुन्छ भने भटमासको पिना २५ प्रतिशत प्रयोग हुन्छ । कुखुराको दानामा यसका अतिरिक्त थोरै मात्रामा तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिनजस्ता वस्तु प्रयोग हुन्छन् । ढुटोको मूल्यसमेत प्रतिकिलो ३५ बाट ४७ रुपैयाँ पुगेको छ ।
सापकोटाका अनुसार दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ । यससँगै विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ । जसका कारण खर्च बढेको उनले बताए ।
नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुन्छ । ती सबै तेस्रो मुलुकबाट आयात हुने गर्छन् । यस्तै, मकै वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म खपत हुने गरेको छ । जसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आउने गरेको छ भने बाँकी नेपालकै उत्पादनले धान्ने गरेको छ ।
भारतमा मकैको मूल्य बढेपछि अहिले कुखुराको दानामा प्रयोग नहुने कमजोर गुणस्तरको मकै इथानोल उत्पादनका लागि भारत जाने गरेको उनले जानकारी दिए ।
कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकिलो पाँच र लेयर्स कुखुराको दानाको मूल्य चार रुपैयाँ बढाएका छन् । हाल दानाको मूल्य प्रतिकिलो ५५ देखि ७५ रुपैयाँसम्म पर्ने गरेको छ ।
सापकोटाले तत्कालका लागि राहत दिन दानाको मूल्य बढाइएको भए पनि वास्तविक लागत धान्न नसक्ने अवस्था रहेकाले मूल्य थप बढ्ने बताए ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दानाको लागत मूल्य बढेसँगै अण्डाको उत्पादन लागत प्रतिगोटा दुईदेखि तीन रुपैयाँसम्म बढेको बताए । यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम भएको थियो । दानाको लागत मूल्य प्रतिकिलो करिब १० रुपैयाँले बढ्ने भएपछि अण्डाको उत्पादन लागतसमेत बढेको उनले बताए ।
लागत मूल्यसमेत नपाएर धेरै किसान विस्थापित भइरहेको अवस्थामा लागत मूल्य नजिक पुगेको केही समयमै दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान थप संकटमा पर्ने उनको भनाइ छ ।
नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् । पुराना किसानले लगानी थपेको र नयाँ किसानसमेत व्यवसायमा आएकाले उत्पादन बढेको हुँदा बजारको माग धान्न सम्भव भएको हो ।
ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको लागत मूल्य बढेपछि चल्ला र मासुको उत्पादन लागत वढेको बताए । जिउँदो कुखुरा प्रतिकिलो लागत २१० हाराहारी रहेकोमा बढेर २३० रुपैयाँभन्दा बढी पुगेको बताए । यस्तै लेयर्स कुखुराको चल्ला प्रतिगोटाको लागत मूल्य १२० बाट १५० र ब्रोइलर चल्ला ६५ बाट ८० रुपैयाँ पुगेको उनको भनाइ छ । लामिछानेले दानाको कच्चा पदार्थको मूल्य अस्वभाविक बढ्दा पशु र पन्छीको उत्पादन लागतमा वृद्धि भएको बताए । यसबाट गाईभैँसीको दूधको लागत, माछा उत्पादनको लागत मूल्य, बङ्गुरको लागत मूल्य सबै बढेको छ । जसको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको किसानले बताएका छन् ।
सम्बन्धित समाचार
नेप्से स्थिर रहँदा पौने ६ अर्बको कारोबार
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?
एनपिएलमार्फत अन्तरराष्ट्रियस्तरमा चम्किँदै नेपालको पर्यटन
वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो





