राइनास नगरपालिका–४ को चेपे नदी किनारको चक्रतीर्थ धाम पौराणिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण रहे पनि प्रचारप्रसार अभावमा ओझेल परेको थियो । यो थलो अब भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनका पारखीका नजरमा पर्न थालेको छ ।
पौराणिक मान्यताअनुसार समुद्र मन्थनपछि निस्केको अमृत घडा लुकाउन देवताले लिएर हि“डेको बेला दानवले थाहा पाएर अवरोध गर्न खोजेपछि भगवान् विष्णुले दानवविरुद्ध सुदर्शन चक्र प्रहार गरेको थलो रहेको चक्रतीर्थ धाम विकास समिति सल्लाहकार खिला शर्मा बताउँछन् । २०१८ देखि २०२२ सालसम्म त्यहा“ एक साधुले उत्खनन कार्य गरेको र एक हातभरको चक्र फेला परेका थिए । त्यसपछि ‘चक्रतीर्थ’ रहन गएको जनविश्वास छ । तर, संरक्षण अभावमा चक्र चोरी भयो ।
सर्वोदय सेवाश्रम अध्यक्ष तथा धर्मनाथ धाम संयोजक कृष्णराज ओलियाले नदी आफैंमा तीर्थ भएको सुनाए । उनका अनुसार ५ सय वर्षअघि नेपाल एकीकरणको इतिहाससँग जोडिएको थलोलाई अन्य खेतीको तुलनामा कम लगानीमा बढी आम्दानी गर्न सकिन्छ ।
चक्रतीर्थकै महत्वका कारण साबिक गाउँ विकास समितिको नामसमेत चक्रतीर्थ राखिएको ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं हिलसिटी कलेज प्रमुख मातृका खनाल बताउ“छन् । उनका अनुसार समुद्र मन्थन गरी निस्केको अमृत विषयमा देवता र दैत्यको झगडा हुँदा देवताले यही बाटो भएर दूधपोखरीमा लगेर अमृत लुकाएको किंवदन्ती पाइन्छ ।
यो स्थानमा च्यवन ऋषिले आएर आफ्ना मातापिताका लागि तर्पण दिन लाग्दा तयार गरिएका भाडाँकुडा सबै चेपेमा आएको बाढीले बगाए लगेपछि पुनः भोलिपल्ट भा“डाकु“डा खोजी ल्याएर पुनः तर्पण दिएको पूर्वजबाट सुनेको खनाल बताउँछन् । उनका अनुसार ती ऋषिले भोलिपल्ट ती भाडा खोज्दै जाँदा धमिलिकुवामा पुगेर एक व्यक्तिलाई ‘यस्ता प्रकारका भाडा नदीले बगाएर ल्याएको देख्यौं ?’ भन्दै ऋषिबाट सोधनी भएछ । ती व्यक्तिले नदीको पारीको एककुनामा ती भाडा देखाइदिए । ऋषिले आफ्ना भाडा चिने, त्यसपछि ती व्यक्तिलाई ‘तिमी त चिलजस्ता रहेछौं’ भनेछन् । तिनै व्यक्तिका सन्तानपछि चिलुवालका रूपमा परिचित भएको भन्ने किंबदन्ती छ ।
तत्कालीन राजा यशोब्रह्म शाहकी रानी बसन्तावतीले पतिको तर्पण दिन रोजेको स्थल पनि यही रहेको धाम संरक्षक एवं राइनास नगरपालिका–३ का वडाध्यक्ष स्वतन्त्र हमाल बताउँछन् । चक्रतीर्थ धाममा पूर्वाधार विकाससहितका काम गर्न २०७२ सालमा चक्रतीर्थ धाम विकास समिति गठन गरियो । त्यसको नेतृत्व पूर्वशिक्षक एवं समाजसेवी जगतप्रसाद कट्टेलले गरेका छन् । यस क्षेत्रको विकासका लागि डीपीआरसमेत तयार भएको छ ।
धामसम्म सडक विस्तारसहितका केही काम अघि बढाइएको समिति उपाध्यक्ष नरमाया शाहीले बताइन् । धामका अर्का संरक्षक एवं राइनास नगरपालिका–४ वडाध्यक्ष जैमान गुरुङले धामका नाममा यतिबेला ११ आना जग्गा, त्यसबाहेक अन्य सबै सामुदायिक वन क्षेत्र रहेको सुनाए ।
हालै गरिएको महायज्ञमा ३६ लाख संकलन भएको चक्रतीर्थ धाम विकास समिति अध्यक्ष एवं सप्ताहव्यापी श्रीमद भागवत् ज्ञान महायज्ञ संयोजक जगतप्रसाद कट्टेलले जानकारी दिए ।
हरेक वर्ष स्थानीय पहलमा शिवरात्रि, अक्षय तृतीया भजनकीर्तनसहित रुद्री गर्ने गरिएको धाममा मातातीर्थ औंशीका अवसरमा महोत्सव आयोजना गरेर यस स्थानको महत्व प्रचारप्रसारसहित चक्रतीर्थ धामलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउने काममा लागिपर्ने समिति सचिव बलराम पराजुलीको प्रतिबद्धता छ ।






