काठमाडौं । काठमाडौं महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक तथा व्यापारिक गरिमालाई पुनर्जीवित गराउने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण रोक लगाएको हो ।
काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता जोगाउन आज (शनिबार) देखि ‘भेहिकल फ्री असन’ कार्यक्रम विधिवत् रूपमा सुरु भएको छ ।
आज वैशाख ५ गतेदेखि लागू हुने गरी असन प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन चल्न दिइएको छैन । जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइएको छ । असन आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, अब हरेक शनिबार असनमा सवारीको कोलाहल हुने छैन । त्यसको सट्टा यहाँ रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शनी हुनेछ । स्थानीय बाजागाजा, गायन र नृत्यका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिहरूको प्रवर्द्धन गरिनेछ ।
महानगरपालिकाको वडा नं. २७ को नेतृत्व र स्थानीय क्लबहरूको सक्रियतामा सुरु भएको यस अभियानले असनको वायु प्रदूषण कम गर्न र पैदल यात्री, विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
यसै अभियानको अवसर पारेर आजैदेखि असन लगायत महानगरका ८ विभिन्न स्थानमा ‘वाटर एटीएम’ समेत सञ्चालनमा ल्याइएको छ । महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा जडान गरिएका यी एटीएमबाट सर्वसाधारणले निःशुल्क रूपमा शुद्ध पिउने पानी पाउनेछन् ।
सम्बन्धित समाचार
कलाकार सागर लम्साल पक्राउ
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावित पार्न गोल्छासहितका व्यवसायीको दबाब
वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै
रास्वपा सांसद राणाले त्यागिन् आइसल्यान्डको वाणिज्यदूत
६ देशका राजदूतलाई फिर्ता बोलाउने बालेन सरकारको निर्णय
चीनका राजदूत झाङले परराष्ट्रमन्त्री खनालसँग गरे शिष्टाचार भेटवार्ता
बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद लामिछाको माग माग





