विदेशीसँग भिड्न मौलिक कथा

दुई वर्ष लामो कोरोना संक्रमण मत्थर भएसँगै अन्यजस्तै नेपाली चलचित्र क्षेत्रमा पनि चहलपहल बढ्न थालेको महसुस हुन्छ । चलचित्र बजार खुलेकोमा चलचित्रकर्मी जति उत्साहित छन्, उत्तिकै चिन्तित पनि ।

डब्बु क्षत्री

मूलतः कोरोनाकालबाट केही महिनायताबाट नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ बाहेक अरुले ‘बक्स अफिस’मा खासै व्यापार नगर्नुले पनि उनीहरू चिन्तित देखिएका छन् । ‘अब यो वर्ष नेपाली चलचित्र उद्योग कस्तो होला ?’ भन्ने चासो भइरहेकै बेला स्वदेशी चलचित्रकर्मी चिन्तित छन् ।

२०७८ सालको सिनेमा उद्योग नियाल्दा गत वैशाख दोस्रो साताबाट कोरोना दोस्रो लहर सुरु भयो । यसपछि करिब ८ महिना हल बन्द भए । कोरोनापछि गत पुस पहिलो साताबाट हल खुले । पुसक दोस्रो साता रिलिज ‘कठपुतली’ले राम्रै व्यापार ग¥यो । यसपछि माघे संक्रान्तिलक्षित पुस अन्तिममा ‘चपली हाइट ३’ आयो । यो फिल्मलाई त्यसैबेला रिलिज दक्षिण भारतीय फिल्म ‘पुष्पा’ले शहीद बनाइदियो ।

नेपालमा कोरोना तेस्रो लहर सुरु भएपछि गत २ माघबाट फेरि हल बन्द भए । जम्मा तीन दिन हलमा चलेको ‘चपली हाइट ३’ कोरोनाकै कारण उत्रियो । यसरी २ माघबाट नेपालमा हल कोरोनाका कारण महिनाभन्दा बढी समय बन्द भए । तेस्रो कोरोना लहर साम्य भएसँगै फागुन पहिलो साताबाट हल खुलेका हुन् । यसपछि १३ फागुनमा रिलिज ‘म यस्तो गीत गाउँछु–२’ राम्रो व्यापार ग¥यो । लगत्तै, ‘आकाशे खेती’ रिलिज भयो । उदय सुब्बा निर्देशित यो फिल्मले आशातीत व्यापार गर्न सकेन ।

महँगा बजेटका नेपाली चलचित्र पनि दर्शकमाझ आए । तीन करोडमाथिको बजेटका दुई फिल्म ‘लप्पन छप्पन २’ र ‘चिसो एस्ट्रे’ हलमा आए । ‘लप्पन छप्पन’ युरोपमा छायांकन गरिएको ‘मल्टीस्टारकास्ट’ फिल्म हो । ‘चिसो एष्ट्रे’ भूपि शेरचनको कवितामा आधारित प्रयोगवादी फिल्म थियो । यी दुईमध्ये ‘चिसो एष्ट्रे’ले समीक्षकबाट राम्रो प्रतिक्रिया पायो । तर, व्यवसायिक रूपमा यी दुबै सफल हुन सकेनन् ।

यसपछि १८ चैतमा रिलिज ‘हेलो जिन्दगी’ पनि दक्षिण भारतीय फिल्म ‘आरआरआर’को मारमा प¥यो । तीन करोडमाथिको लगानीको फिल्मको छायांकन बेलायतमा गरिएको थियो । ‘हेलो जिन्दगी’ले पनि निर्मातालाई व्यवसायिक रूपमा सुख दिन सकेन ।

नेपाल चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारी ‘अब नेपाली चलचित्र निर्मातालाई सबैभन्दा ठूलो डर भनेकै दक्षिण भारतीय सिनेमा हो’ भन्छन् । हुन पनि पछिल्लो तीन महिनायता ‘पुष्पा’, ‘आरआरआर’, ‘केजिएफ च्याप्टर २’जस्ता दक्षिण भारतीय फिल्मले नेपाली चलचित्र बजारलाई पूर्ण प्रभाव पारेका छन् ।

सहरकेन्द्रित कथामा आधारित नेपाली चलचित्रले विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेपछि अहिले गाउँकेन्द्रित विषय हुन थालेका छन्

दक्षिण भारतीय उद्योग तेलुगु, मलालयम, कन्नडका फिल्म हिन्दी भाषामा स्वरांकन गरेर नेपाली सिनेमा हलमा आउन थालेका छन् । अग्रज निर्माता छविराज ओझाका अनुसार हिन्दीमा स्वरांकन गरिएका तेलुगु, मलालयम, कन्नड फिल्म भारतीय टेलिभिजन च्यानलमा हेर्दाहेर्दा नेपाली दर्शकमा दक्षिण भारतीय फिल्मको स्वाद बसिसकेको छ ।

यही स्वादलक्षित गरेर यहाँका वितरकले दक्षिण भारतीय फिल्म सस्तोमा ल्याएर नेपालका हलमा रिलिज गर्न थालेका छन् । दक्षिण भारतीय फिल्मका तुलनामा नेपाली निकै फितलो हुने गरेको छ । दक्षिण भारतीय स्वादमा पल्किँदै गएका नेपाली दर्शकलाई हप्तैपिच्छे नयाँनयाँ फिल्म दिन थालेपछि नेपाली सिनेबजार प्रत्यक्ष प्रभावमा परेको छ ।

चलचित्र निर्माता निर्देशक तथा नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष उदय सुब्बा यसअघि हलिउड र बलिउडका सिनेमाले निकै प्रभाव पारेको स्मरण गर्दै ‘केही महिनायताबाट दक्षिण भारतीय फिल्म पनि खुलेआम प्रदर्शन हुन थालेपछि अब पुरानै बजेटमा फिल्म बनाउन नसक्ने’ बताउँछन् । नेपाली फिल्म प्रवर्धनका लागि सोही अनुसारको चलचित्र नीति नबनाए नेपाली सिनेमाको भविष्य अन्यौलमा पर्नेमा उनी चिन्तित छन् ।

विदेशी सिनेमाले नेपाली बजार कब्जा गर्न थालेपछि चलचित्रकर्मी मौलिक कथामा फर्किन थालेका छन् । २०७९ सालमा केही फरक चलचित्रसमेत बजारमा आउँदै छन् ।

सुदूरपश्चिमबाट वैदेशिक रोजगारमा गएका एक नेपालीको ज्यान विदेशमा गएपछि त्यसको शव नेपाल ल्याउन गरिएको संघर्षमा दीपेन्द्र के. खनालले ‘चिसो मान्छे’ बनाएका छन् । असार पहिलो साता रिलिज हुने यो चलचित्रले मौलिक कथा भन्ने छ । अब नेपाली मौलिक कथावस्तुमा सिनेमा बनाएर दर्शकलाई आफ्नो स्वाद दिएमात्र विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्न सकिने यी निर्देशकको कथन छ ।

निर्देशक दिनेश राउत एक शिक्षकको संघर्ष कथामा चलचित्र ‘प्रकाश’ बनाएका छन् । अभिनेता प्रदीप खड्कालाई शिक्षक बनाएर जुम्लामा छायांकन गरिएको चलचित्रले पनि मौलिक परिवेश र विषयवस्तुका आधारमा विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्ने विश्वास उनको छ ।

रिलिज संघारमा रहेका ‘बुलाकी’ र ‘मन्त्र’ पनि नेपाली परिवेशका सिनेमा हुन् । सहरकेन्द्रित कथामा आधारित नेपाली चलचित्रले विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेपछि अहिले गाउँकेन्द्रित विषय हुन थालेका छन् । २०७९ मा यो ‘ट्रेन’ नेपाली फिल्म उद्योगमा स्थापित हुने आशा भने गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 497 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३