२०२६ सालमा बज्रबाराही माईको मूर्ति चोरी भएपछि तीन वर्षसम्म जात्रा भएन । पछि, २०२९ सालमा अर्को मूर्ति बन्यो । अनि मात्र सुरु भयो, ललितपुर चापागाउ“को ‘मु जात्रा । ‘चोरी भएदेखि २०२८ सालसम्म जात्रा भएन, गाउँ नै शोकमा डुब्यो,’ खः गुठी अर्थात् बज्रबाराही खट गुठीका सदस्य राज महर्जन भन्छन्, ‘नयाँ मूर्ति बनेपछि मात्रै जात्रा सुचारु भएको हो ।’
त्यसो त, ६ वैशाख २०७८ चापागाउँबासीका लागि ‘ऐतिहासिक’ दिन थियो । आफ्नो गाउँठाउँबाट ५२ वर्षअघि चोरी भएर राष्ट्रिय संग्रहालयमा राखिएको बज्रबाराही माईको मूर्ति भित्रिइँदै गर्दा पूरै गाउँ ‘सिन्दुर जात्रा’मा समाहित हुन पुग्यो । ‘मूर्ति फिर्ता पाउँदा हामी स्थानीयमा खुसीको सीमा नै थिएन,’ खः गुठीका सदस्य महर्जन सम्झन्छन्, ‘राष्ट्रिय संग्रहालयबाट मूर्ति बोकेर बाहिरिँदै गर्दा मैले अलौकिक आनन्द अनुभूत गरेको थिएँ ।’
अस्ति बिहीबार (गत २३ चैतमा) सम्पन्न ‘मु जात्रा’पछि अब २०८१ वैशाखमा मात्रै जात्रा परेको छ । २०८० सालमा ‘मलमास’का कारण जात्रा अवरुद्ध हुने भएको हो ।
‘मु जात्रा’का बेला आगछें (देवघर)मा बिहान पुजाआजा गरी भन्सार डबलीमा बिसाइएको सजिसजाउ खटमा बज्रबाराही मातालाई विराजमान गराएर बाजागाजासहित नगरपरिक्रपछि बज्रबाराही मन्दिरमा राखिन्छ । त्यहाँ स्नान गराई तान्त्रिक विधिअनुसार पुजाआजा गरेपछि ‘मु जात्रा’ शुभारम्भ भएको मानिन्छ ।
खटसहित मध्यराति नै बज्रबाराही मन्दिरबाट ‘कसैलाई थाहा नदिई’ राक्षस, भूत, पिचासको समय पुजारी टोल हुँदै वखा डबलीबाट भगवती चोकमा खट बिसाइने परम्परा छ । यस ठाउँमा दरबारको पुजा लिई मातालाई विभिन्न गरगहनासहित सजाइन्छ । र, बाजागाजासहित सिन्दुरजात्रा गर्दै मुलगणेश मन्दिरसँगै पुनः भन्सार डबलीमा बिसाइने धार्मिक चलन छ । यसको केही समयपछि पुजारी टोलका खलक गुठीयार पुजाआजासहित माताको खट बोकेर माथि यरखवा भैरव मन्दिर परिक्रमा गर्दै पुनः तल भगवती चोकमा बिसाइन्छ । गुठीयारको भोजभतेरपछि नगरका विभिन्न चोकमा माताको पुजासहित पुनः भैरव मन्दिर अगाडि ल्याइन्छ ।
साँझपख नगरबासी र पाहुनाले पुजा तथा दर्शन गरेपछि यसैदिन दिन नगरका सम्पूर्ण बाजागाजासहित भैरव मन्दिर तीन पटक परिक्रमा गराई बजारमा खट नचाएर वखा डबलीमा विशेष जात्रा गरिन्छ । पुनः भगवती चोकमा खट नचाएर बजार क्षेत्र घुमाइन्छ । त्यसपछि चापागाउँको मुलचोक कृष्ण मन्दिर अगाडि खट बिसाएर जात्रा सम्पन्न गरिने चलन छ ।
जात्रा सकेपछि मुलपुजारी आचार्यबाट तान्त्रिक विधिअनुसार पुजाआजा हन्छ । साथै, मातालाई ‘लसकुस’ गरी नयाँ बेहुलीझैं आगछें (देवघर)मा सुरक्षित राखिन्छ । र, जात्रा विधिवत् सम्पन्न हुन्छ । विशेषगरी खः गुठीका गुठीयारले जात्रामा खट बोक्ने प्रचलन रहिआएको छ ।
राजा श्रीनिवास मल्लले सुनको मूर्ति बनाएर खट निर्माण गरी चैत शुक्ल पक्षमा जात्रा सञ्चालन गरेको धार्मिक किम्वदंती भेटिन्छ ।
तस्बिर : सुरेम देशार






