गर्मीले मध्यतराईको जनजीवन कष्टकर

डेडदर्जन घरको सहारा : वीरगन्जको मुटु मिना बजारमा चल्तीमा रहेको चापाकल । यो चापाकलको तिरतिरे पानीका भरमा स्थानीय १५-२० घर परिवारले पानीको गर्जो टार्दै ।

वीरगन्ज । जेठको दोस्रो सातापछि उकालिएको अत्यधिक गर्मीको कारण मध्य तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । मध्य तराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा यतिवेला ४३ डिग्रीभन्दा तापक्रम उकालो लाग्न थालेकोले यहाँको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो ।

बिहानैदेखि बहने तातो हावा र लाग्ने चर्को घामका कारण जनजीवन थप कष्टकर बन्दै गएको छ । गर्मी बढ्दै जाँदा पर्सा, बारा र रौतहटका सदरमुकाम वीरगंज, कलैया, गौर जस्ता सर्वसाधारणको जनघनत्व बढी भएका ठाउँमा पनि सर्वसाधारणको चहल पहल ह्वात्तै पातलिएको छ । गाउँघरमा भने किसानी कर्म गर्ने, र बजार क्षेत्रमा दिनभरी ठेला, रिक्सा चलाएर पेट पाल्ने सर्वसाधारणका लागि यो गर्मी ज्यान लिने खालको भएको चिकित्सकहरुले समेत बताएका छन् ।

अस्पतालमा बिरामीको अत्याधिक चाप

यस्तो गर्मीमा सकेसम्म घाममा ननिस्कने सर्वसधारणलाई नारायणी अस्पतालका चिकित्सकहरुले सुझाव दिएका छन् । यो सकसको समयमा घरबाहिर निस्कनै परे हल्का खालको फूलबाहुला भएका कपडा प्रयोग गर्ने, खानामा झोलिलो खाने कुरा खाने, पानीको मात्रा अत्याधिक बढाउने पनि उनीहरुको सुझाव छ । गर्मी पो भयो भनी फ्रिजमा राखिएको पानी झिकेर एक्कासी भने कसैले पनि नखान नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चितरन्जन साहले राजधानी दैनिकसँग बताए ।

केही समय बाहिर निकालेर बाहिरी तापक्रमसँग मिलाएर मात्र फ्रिजको पानी खानु पर्ने उनको सुझाव छ । त्यसै गरी एसीमा बसिरहेका मानिसले बाहिर जान प¥यो भने पनि एक्कासी बाहिर ननिस्की केही वेर बाहिरको वातावरणमा सन्तुलन अलि मिलाएर मात्र घाममा जान पर्ने पनि उनको सुझाव छ ।

मध्यतराई जिल्लामा रहेका सरकारी कार्यालयहरुमा पनि विगतको तुलनामा सेवाग्राहीहरुको संख्या पातलिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । एक्कासी बढेको गर्मीसँगै सेवाग्राहीहरुको संख्या केही पातलिएको छ उनले भने । अन्य जिल्लाका सरकारी कार्यालयहरुमा पनि अहिले सेवाग्राहीहरु सेवा लिन कम पुग्ने गरेको ती जिल्लाका प्रशासकहरुले जनाएका छन् । सेवा प्रदायक कार्यालयमा टाढा टाढाबाट आउने सेवाग्राहीहरु चर्को घाम र प्रचण्ड गर्मीका कारण सेवा लिनभन्दा बच्न प्रयासरत रहेको हुन सक्ने उनीहरुको तर्क छ ।

केही सातादेखि बढेको गर्मी तथा सुख्खा याममा विद्युत सर्ट हुँदा अचानक एक दर्जन बढि घरमा आगजनी भएको पनि भेटिएको छ । शहर बजारका विद्युतका पोलमा रहेका तारहरुमा समेत गर्मी मौसममा सर्ट हुन गई आगलागी भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडीकै पोलमा रहेको तारमा पनि दुईदिन अगाडी आगलागी भएको प्रहरीले बताएको छ ।

गर्मीका कारण अस्पतालमा बिरामीको ठूलो चाप
मध्य तराईको ठूलो नारायणी अस्पतालमा सामान्य अवस्थामा ओपीडीमा बिरामीको संख्या पाँच–छ सय हुनेमा अहिले एक्कासी ८ सयदेखि एक हजारसम्म पुग्ने गरेको नारायणी अस्पतालका प्रमुख डा चितरन्जन साहले बताए । यो क्रम डेड दुई हप्ताबाट ह्वात्तै बढेको उनको भनाइ छ । गर्मीका कारण मानिसको शरिरबाट बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु बढी देखा पर्छन् । मानिसमा पनि आएको केही सचेतनाले विगतको तुलनामा यो मात्रै लक्षण भएका बिरामी अस्पतालमा धेरै नआए पनि गर्मीले हुने थप रोग सहित बिरामी इमर्जिन्सी वार्डमा पनि बढेको उनको तर्क छ ।

ओपिडीमा आएका बिरामीलाई चेक गर्ने स्वास्थ्यकर्मी समेत अहिले ठूलो चापमा परेको उनको तर्क छ । पंखाहरु २४ घण्टा चल्दा विग्रिने क्रम पनि उत्तिकै भएर समस्या थपिएको उनले बताए । कुलर र एसी जडान नगरी सेवा दिने चिकित्सकहरुलाई नै सेवाग्राहीको भिडले लगातार बस्नु पर्दा थप समस्या भएको नारायणी अस्पताल प्रशासनले पनि जनाएको छ । नारायणी अस्पतालमा दैनिक डेड सय जति इमर्जिन्सीमा र एक हजार जति ओपीडीमा बिरामीहरु आइरहेको अस्पतालले जनाएको छ । बिरामी हुनेमा अधिकांश ८÷१० बर्ष मुनिका बालबालिकाहरु र बृद्धबृद्धाहरुको संख्या बढी रहेको अस्पतालले जनाएको छ ।

खाने पानीको पनि हाहाकार
अत्याधिक गर्मीको कारण बजार क्षेत्रका अधिकांश चापाकल सुकेका छन् । खानेपानी तान्ने मोटरमा समेत भू–सतहमा पानीको लेवल घटेपछि पानी आउन छोडेका छन् । यस्तो गर्मीमा खाने र सरसफाई गर्ने पानी नपाएर स्थानीयहरु झन मारमा परेको वीरगन्जको मुटु घण्टाघरका दिपक सर्राफले बताए । यो एरियाका सबै कल र मोटरहरु सुकेका छन् उनले भने । सरकारी धाराहरुमा पनि पर्याप्त पानी छैन । झन समस्या भयो उनले गुनासो गरे ।

किसानका अलग्गै समस्या

गर्मीले तराईको ग्रामीण भेगका किसानहरुले आफ्नो खेतहरु खनजोत गरी विऊ छर्न समेत सकेका छैनन् । सिंचाइको अभावले सुख्खा व्याडमा नै बीउ लगाउन ठिक्क पारेको ठाउँ समेत सुकेर जमिन धुलाम्मे भएपछि किसानहरु विखबन्धमा परेका छन् । खेतबारीमा काम गर्न समेत उनीहरुलाई निकै सकस भएको उनीहरुले गुनासो गरे । चर्को घाम र मौसमी सुखाडले बिउ बिजन छर्ने काम पनि प्रभावित हुन पुगेको उनीहरुको तर्क छ । सिंचाई अभाव र भूमिगत सिंचाइको सेवा प्रभाहमा पनि नेता, कार्यकर्ता र उनीहरुका आसेपासेले बढि सुविधा पाउने हुँदा वास्तविक किसान ठूलो मारमा परेको उदयपुर घुर्मीका किसान शम्भु यादवले गुनासो गरे । यता चैते धानमा समेत यो पटक ठूलो प्रभाव पर्न थालेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताए ।

बजारमा पेयपदार्थको भने बिक्री बढ्यो
मध्यतराईमा गर्मी बढेसँगै चिसो र पेय पदार्थको बिक्री वितरण भने बढेको छ । बजारमा काक्रो, उखु, दही, लस्सी, कोलड्रिङ्ग्स, भुई कटहर, सातु लगायतको बिक्री वितरण बढेको व्यवसायीहरुले बताए । दहीको माग पनि निकै बढेको वीरगन्जको माईस्थानस्थित दही भण्डारका संचालक उमेश साहले बताए । वीरगंजका विभिन्न ठाउँमा विगतका दिनहरुमा जस्तो निःशुल्क रुपमा पानी खुवाउदै आउनेको भने संख्या नबढेको उनको तर्क छ । यस्तो समयमा पानी वितरण गर्ने व्यक्ति र संघ संस्था अझ बढि अग्रसर हुनुपर्ने उनको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा