अब राज्यको जिम्मेवारीमा रहेर बुद्ध दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्नेछु : ल्हारक्याल

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले विगतमा आफूले बुद्ध दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न व्यक्तिगत रूपमा भूमिका खेलेको भए पनि अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्ने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नवनियुक्त उपाध्यक्ष डा. लामाले विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर भए पनि आफ्ना लागि भने गहन जिम्मेवारी भएको बताएका छन् ।

उनले आफ्नो नियुक्तिलाई लिएर विभिन्न सञ्चारमाध्यममा नियोजित र निराधार आरोप लगाइएको भन्दै त्यसको खण्डन आफूले कामबाटै गर्ने पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ गरेको छैन र मेरो जीवन दर्शन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन ।’ कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘विगत केही वर्षयता जबजब मलाई राज्यका तर्फबाट जिम्मेवारी दिइन्छ त्यहीबेला मविरुद्ध यस्ता लान्छना लगाउने गिरोह र मिडिया सधैं संगठित रूपमा सक्रिय हुने गरेका छन् र तिनीहरू एउटै जमात छन् ।

उनीहरूले लगाएका अभियोगको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु । तर, जब उनीहरूको स्वार्थमा धक्का लाग्छ तब मविरुद्ध समाचारका खेती हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो,’ उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘अघिपछि मैले संविधान सभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरममा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ गर्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्नेबेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाह फैलाइने गरेका छन् । केही सीमित मिडिया र व्यक्ति यसमा संलग्न छन्, सबै होइन ।’

आफू सिन्धुपाल्चोकको हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएको, बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचारप्रसारमा आफ्नो जीवन समर्पित गर्न‘ नै आफ्नो अपराध हो भने यो अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘बाँकी उनीहरूले लगाएका सबै आरोपको राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायको अनुसन्धानबाट मैले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् केही मान्छेहरू ? के अदालतले सफाइ दिए पनि केही पेसेवर मेरा विरोधीको इजलासले सफाइ नदिएसम्म मैले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ? कहिले नागरिकताको प्रश्न उठाए, कहिले सम्पत्ति शुद्धीकरणको । कहिले हातहतियारको त कहिले ठगीको ।

तर, ती सबै मविरुद्ध र मैले अवलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् ।’ उनले आफूविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झुठा मुद्दाबाट समेत सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरूप्रति आफ्नो भन्नु केही नरेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘के मैले उनीहरूका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नुपर्ने हो ? उनीहरूको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन । मेरो विरोध र निन्दा गर्न‘लाई नै आफ्नो पेसा बनाएकाप्रति मलाई केही पनि भन्नु छैन । मैले सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्ष बिचमा गरेका काम राज्यको रेकर्डमा र पब्लिक अडिटमा छन् । हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउनेहरूसँग कानुनी लडाइँ जितेर आएको मान्छे हुँ ।’

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार