काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सन् २०१९ को १९ डिसेम्बरदेखि हालसम्म आइपुग्दा ७ लाख बढी मानिस संक्रमित भइसकेका छन् । सुरुमा सामान्य रूपमा लिइएको कोरोना भाइरसको संक्रमण वुहान सहरका ५५ वर्षीय एक व्यक्तिमा देखिएको थियो ।
२० डिसेम्बरसम्म आइपुग्दा सो भाइरस संक्रमितको संख्या ६० पुग्यो । त्यसपछिका दिनमा यो संक्रमण फैलने क्रम विश्वभर बढ्दै गएको थियो । हालसम्म कोरोना भाइरसबाट विश्वमा ७ लाख ३१ हजार ५ सय ३७ जना संक्रमित भइसकेको र ३४ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिले अमेरिकासहित इटाली, स्पेन, फ्रान्स लगायत देशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोना भाइरसले आममानिस मात्रै नभई सेलिब्रेटी, खेलाडीदेखि विश्वका राजनेतालाई समेत थलो पारेको छ । हलिउडका चर्चित अभिनेता टम हन्क्सदेखि पछिल्लो समय बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, बेलायतका स्वास्थ्यमन्त्री माट हानकोक, बेलायतका राजकुमार चाल्र्स कोरोनाको संक्रमणमा परेका छन् । हलिउडका चर्चित अभिनेता टम हन्क्स श्रीमतीसँग अस्ट्रेलियामा रहेका बेला कोरोना संक्रमित भएका हुन् । उनकी श्रीमती रिटा विल्सन समेत कोरोना संक्रमित भएकी थिइन् ।
कोरोना संक्रमण हुनेमा अस्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि रहेका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरे पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । हाल उनी आइसोलेसनमा छिन् । कोरोना संक्रमणको पुष्टि हुनेमा ब्राजिलका राष्ट्रपतिका सञ्चार प्रमुख फेबियो वाजगार्टन पनि रहेका छन् । उनलाई कोरोना संक्रमण पुष्टि हुनुअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए ।
कोरोनाको चपेटामा आउनेमा स्पेनकी उपप्रधानमन्त्रीसमेत रहेकी छन् । २५ मार्चमा स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोमा पनि कोरोना संक्रमण देखिएको हो । स्पेनका प्रधानमन्त्री पेड्रोकी श्रीमती डोना बेगोना गोमेजलाई पनि कोरोना पोजेटिभ देखिएको हो ।
२५ मार्च मै बेलायतका राजकुमार चाल्र्सलाई कोरोना भाइरस पोजेटिभ देखिएको उनको औपचारिक निवास कल्यारन्स हाउसले पुष्टि गरेको थियो । मध्यम खालको कोरोना भाइरस देखिएको उनको स्वास्थ्य अवस्था ठीक भए पनि राजकुमार चाल्र्स घरमै एकान्तवासमा बसेका छन् ।
नाइजेरियन राष्ट्रपतिको चिफ स्टाफ अब्बा कायरीलाई २४ मार्चमा कोरोना भाइरस पोजेटिभ देखियो । पोजेटिभ देखिएपछि उनी उपचारपछि एकान्तवासमा बसेका छन् । युरोपियन युनियनका प्रमुख बेक्सिट समन्वयकर्ता मिसेल बर्नियरलाई पनि गत बिहीबार कोरोना भाइरसको संक्रमण भएको उनी आफैंले ट्वीट लेखेर घोषणा गरेकी थिइन् । ब्राजिलका ऊर्जा मन्त्री बेन्टो अल्बुकर्कलाई कोरोना भाइरस पुष्टि भएको त्यहाँका राष्ट्रपतिले क्याबिनेट बैठकमा जानकारी गराएका थिए । ब्राजिलकै राष्ट्रिय सुरक्षा सल्लाहकार अगस्टस हेलेनस १८ मार्चमा आपूmलाई कारोना भाइरस पुष्टि भएको ट्वीटरमा लेखेका थिए । ७२ वर्षका हेलेन्स हाल घरमै आइसोलेसन (एकान्तवास)मा बसिरहेको उनले ट्वीटरमा उल्लेख गरेका थिए ।
१७ मार्चमा जर्मनका लागि इजरायली राजदूत जेरेमी इस्साचरोफलाई कोरोना पोजेटिभ देखिएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको थियो । जर्मनको एक कार्यक्रममा सहभागी भएर फर्किएपछि स्वास्थ्यमा असहज महसुस भएपछि चेकजाँच गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
बास्केटबल स्टार रुडी गोबर्ट पनि कोरोना भाइरसको संक्रमणमा परे । रुडीले कोरोनाको मजाक उडाएर प्रेस कन्फेरेन्समा सबै माइक छोएको अर्को दिन संक्रमण पोजेटिभ देखिएको थियो । अर्का एनबिए स्टार डोनोवन मिसेललाई पनि कोरोना पुष्टि भएको छ । युभेन्टसका खेलाडीहरु डेनियल रुगानी, पाउलो डिबालामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै, आर्सनलका हेद कोच मिकेल अर्टेटा पनि कोरोनाको संक्रमणमा परेका थिए । उनी भने अहिले ठीक भइसकेका छन् । स्पेनमा कोरोना भाइरस संक्रमणका कारण युवा फुटबल प्रशिक्षकको निधन भयो । २१ वर्षका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो ।
जापान फुटबल एसोसिएसनका प्रमुख कोजो तासिमालाई १७ मार्चमा कोरोना पोजेटिभ देखियो । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटनलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना गर्न प¥यो । कोरोना भाइरसबाट अति प्रभावित मुलुक इरानका उपराष्ट्रपति मसोमे एबतेकरमा पनि पोजेटिभ देखियो । कोरोनाबाट संक्रमित भएपछि उनको घरमै राखेर उपचार भइरहेको छ । इरानमा दर्जनभन्दा बढी सांसद, डेपुटी स्वास्थ्य मन्त्रीसहित अन्य उच्च अधिकारीमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको छ । साथै इरानका संस्कृति मन्त्री अलि अस्घर मोउनेसान, राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष रेजा सालेही अमिरीसमेत कोरोनाको संक्रमणमा परेका छन् ।
कोरोना संक्रमित हुने बलिउडकी एक मात्र सेलिब्रेटी गायिका कनिका कपुर हुन् । कनिका लन्डनबाट भारत आएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिलेसम्म तेस्रो टेस्टसमेत पोजेटिभ आएको बताइएको छ । अमेरिकाको हाभार्ड विश्वविद्यालयका अध्यक्ष लावरेन्स बाको र उनकी पत्नी एडले बाकोलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।






