राजनीति समाज सेवाको क्षेत्र हो । देशको विधिविधान बनाउने संयन्त्र हो । देश निर्माणको नेतृत्व गर्ने संस्था हो । राजनीतिमा राजकीय गुणको आवश्यकता पर्दछ । राजकीय गुण भन्नाले असल आचरण, सादगी जीवन, पारदर्शीता, विकासको दृष्टिकोण, देशको माया र प्रशासनिक कार्यकुशलता जस्ता कुरा पर्दछन् । दुःखका साथ भन्नुपर्छ कि हाम्रो देशको राजनीति न त सेवाको क्षेत्र बन्न सक्यो । न त नेतागणमा राजकीय गुण छ । विगत तीन दशकदेखि यो मुलुकले विधिको शासनमा सञ्चलन गरी सुशासन र विकास दिन सक्ने कुनै पनि राजनीति दल वा नेता पाउन सकेन ।
बरु विकेन्द्रीकरणका नाममा अनेक संरचना खडा गरी दलका कार्यकर्तालाई पद र पैसाको सुविधा वितरण गरियो । आफन्तजन पोस्ने काम भयो । शीर्ष नेतादेखि स्थानीय तहका नेतासम्म गाडी, घोडा, तलब, भत्तालगायतका सुविधा लिने मात्र काम भयो । राजनीति क्षेत्रका केही अपवादबाहेकका नेता, कार्यकर्ता, आसेपासेमा फाइभस्टार लेवलको जीवनशैलीको प्रगति हो । जनता हेरेकोहेरै भए । देश कंगाल हुँदै गयो ।
नेपालमा विश्वजगत्मा भएका राजनीतिक दर्शन, सिद्घान्त र ‘वाद’को प्रयोग भइसकेका छन् । पुँजीवाद, समाजवाद, माक्र्सवाद र जनवाद जुनसकै वादको गर्जन गरे पनि नेपाललाई चाहिएको विकासवाद हो । आर्थिक समृद्घि हो । रोजगारको अवसर हो । दर्शनका गफले नागरिकका पेट भरिँदैनन् । शरीर ढाकिँदैनन् । देशको विकास हुन सक्दैन । हाम्रा राजनीतिक नेताले यिनी दर्शनका गफ गरेर जनताले झुक्याउने काम गरे । नेतागणमा अध्ययन, अनुसन्धान, कार्ययोजना, विकासको भिजनभन्दा पनि उमेर, ज्येष्ठता, जेलमा बसेको अवधि जस्ता आधारमा नेतृत्वमा पुग्ने र राजनीतिक गर्ने संस्कृति नै राजनीतिक कर्म बन्यो ।
अहिलेको व्यवस्थालाई संघीय, जनतन्त्र, समुदायतन्त्र, समतामूलक, समावेसी, समानुपातिक समाजवादउन्मूख राजनीतिक प्रणाली भनिएको छ । १० वर्षसम्म युद्ध चलाएका कमान्डर प्रचण्ड अहिले प्रधानमन्त्री छन् । उनले आप्mनो दललाई सर्वहारा पार्टी भन्न रुचाउँछन् । तर, उनको जीवनशैली फाइभस्टारभन्दा माथिको छ । अनेक आर्थिक भ्रष्टाचारमा यिनको नाम जोडिएको छ । व्यापारी माडवारी यिनका बिजनेस पार्टनर भएका समाचारहरू आउने गरेका छन् । करोडौं रुपैयाँको घडी नाडीमा झल्काएर अगाडि–पछाडि दर्जनौं सुरक्षाकर्मीबीच यिनी हुइँकिइरहेका छन् ।
आफन्तजन पोस्नमा सबैभन्दा अगाडि यिनकै नाम आउँछ । माओवादी दलका नेताको आर्थिक हैसियत ह्वात्तै बढेको छ । प्रायः भ्रष्टाचारमा नमुछिएका नेताहरू बिरलै छन् । माओवादी सहरमुखी, विलाशी र फाइभस्टार सुविधामा रमाउने दलका रूपमा समाजमा चित्रित छ । सर्वहारा भनिने नेतागणका काठमाडौं सहरमा आलिसान घर, महँगा गाडी र सुविधा सम्पन्न जीवन बिताएका छन् । यिनीहरूमा न त लोकलाज छ न त जवाफदेहीता नै ।
त्यसो त देशका प्रायः सबै राजनीतिक दलका नेतागणको जीवनशैली फाइभस्टार सुविधामा सम्पन्न छ । यो फइभस्टार कल्चर केन्द्रदेखि प्रदेश हुँदै पालिकासम्म झाँगिएको छ । केन्द्रीय नेता, मन्त्री, सांसद, प्रदेशमन्त्री र प्रदेश सांसद हुँदै पालिका अध्यक्षसम्म तलब, भत्ता, गाडी, घोडा, पेट्रोल आदि इत्यादि शीर्षकमा सुविधा लिएका छन् । जनप्रतिनिधिको तडकभडक र चुरीफुरी सर्वसाधारणभन्दा फरक रहेको देखिन्छ । अहिलेको व्यवस्था आवरणमा मात्र लोकतान्त्रिक प्रणाली हो । दलमा आन्तरिक लोकतन्त्रको अभ्यास छैन । कुनै पनि दलका शीर्ष भनिने नेतामा लोकतान्त्रिक आचरण देखिँदैन ।
राजनीतिक नेता तथा कर्मचारीलाई फाइभस्टार तहको आर्थिक हैसियतमा पु-याउन जनताको पनि उत्तिकै भूमिका छ
अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका नेता वर्तमान प्रधानमन्त्री पुष्पकमल दहालको निर्णयमा देश चलेको छ । राजनीतिक दलबीच पदको भागबन्डा जस्ता मामलामा विपक्षी दलका नेता खड्गप्रसाद ओली पनि संलग्न भएर तीन जना नेताले निर्णय गरेको पाइन्छ । हरेक दलका नेतामा शीर्ष नेतृत्वको विरोध गर्ने क्षमता छैन । चित्त नबुझे पनि तैचुप, मैचुपको संस्कृतिमा दोस्रो, तेस्रो बरीयताका नेताहरू रहेको देखिन्छ । यिनीहरूले शीर्षसँग टकराब लिने बित्तिकै अवसरहरू प्राप्त हँुदैनन् । फाइभस्टार जीवनशैली ओह्रालो लाग्दछ ।
देश अहिले राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले थला परेको छ । राजनीतिक शक्तिलाई सिंहदरबारबाट विभाजन गरेर गाउँगाउँसम्म पु¥याउने संरचनाहरू बने । ७६१ वटा सरकारहरू बनाइयो । केन्द्रदेखि पालिकासम्मका जनप्रतिनिधिले केही अपवादबाहेक यो वा त्यो नाममा आर्थिक आयआर्जनका बाटा र पाटामा नै ध्यान केन्द्रित गरेको अवस्था छ । सिद्धान्ततः प्रजातन्त्रलाई जनताले जनताद्वारा, जनताको लागि बनाइएको राज्य व्यवस्था भन्ने गरिन्छ । जनताले निर्वाचनमा मतदान गरेर जनप्रतिनिधिलाई विभिन्न पदमा पठाउने भएकाले जनताद्वारा भनिएको हो । तर, राजनीतिले जनतालाई न त विकास दियो न त रोजगारी, सुशासन, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा ।
हाम्रो देशमा राजनीति र प्रशासनतन्त्रको भ्रष्टीकरण ठुलो चुनौती हो । भ्रष्टमति भएको राजनीतिक नेतृत्व र पञ्चायती व्यवस्थादेखि प्रशासनलाई दुहुनो गाई बनाएको कर्मचारीतन्त्रका कारण मुलुकका हरेक क्षेत्र कमजोर भएका छन् । यो भ्रष्टीकरणलाई नियन्त्रण गर्ने काम राज्यको हो । राज्यका संयन्त्रको हो । तर, राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी पहिलो पक्ष र सेवाग्राही, व्यापारी एवं ठेकेदारहरू दोस्रो पक्षका रूपमा भ्रटाचारमा सक्रिय छन् । शासक तथा प्रशासकहरू कालेकाले मिलेर खाम भालेको स्वार्थमा लागेकाले भ्रष्टाचार कहालीलाग्दो अवस्थामा पुगेको छ । भ्रष्टाचारकै कारण पछिल्लो तथ्यांकअनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा गरिब देश बन्न पुगेको छ ।
देशमा आर्थिक क्रान्ति नगरी रोजगारी, आर्थिक प्रगति र विकास सम्भव छैन । देशमा कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकीकरण र बजारीकरण नगरी कृषकको जीवनस्तर उकासिन सक्दैन । कृषि उत्पादनमा आधारित उद्योगको स्थापना नगरी रोजगारीको अवसर प्राप्त हुँदैन । राज्यको ध्यान उल्लेखित क्षेत्रमा छैन । देशको ढुकुटी नेताको व्यवस्थापनमा स्वाहा पारिएको छ । ललितपुरको भैंसेपाटीमा निर्माण भएका मन्त्री निवास फाइभस्टार होटेल जस्ता सुविधा सम्पन्न छन् । प्रदेश सरकारले बनाउने संरचनामा अर्बौं लगानी गरिएको छ । यति गरिब देशले अर्बौं रुपैयाँ खर्च गरेर किन मन्त्रीलाई निवास बनाउनुप¥यो ? जनताको करले बनेको देशको ढुकुटीबाट उद्योग खोल्नुपर्दथ्यो । अस्पताल निर्माण गर्नुपर्दथ्यो ।
नेपालमा कुनै पनि पदमा बसेर शुद्ध कमाइबाट कसैको पनि फाइभस्टार जीवनशैली सम्भव छैन । हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । देशमा कुनै पनि विकासका आयोजना समयमा नै निर्माण सम्पन्न हुन नसक्नुको पछाडि पनि भ्रष्ट आचारले काम गरेको हुन्छ । निर्माण भएका संरचना गुणस्तरीय बन्न नसक्नुमा पनि भ्रष्टाचार नै जोडिएको छ । राजनीतिक नेतासँग सेटिङ गर्ने, ठेक्कापट्टा मिलाउने, कमिसनको लेनदेन गर्ने संस्कृति नयाँ होइन ।
एकातिर स्वार्थबस नीतिगत रूपमा नै भ्रष्टाचार हुने गरेको छ भने अर्कोतिर भ्रष्टाचार गर्न पाइने ठाउँमा पदस्थापन, सरुवा वा बढुवा मिलाउन ठुलो रकमको चलखेल हुने गरेका समाचार आइरहन्छन् । रकमसहित नेताको घरदैलोमा पुग्ने उच्च पदस्थ कर्मचारीको लाइन हुने गर्दछ, भनिन्छ । यस्तो संस्कृति बोकेको राजनीति र प्रशासनतन्त्रले कसरी देश उभो लाग्दछ ?
त्यसो त राजनीति तथा कर्मचारीलाई फाइभस्टार तहको आर्थिक हैसियत प्रदान गर्न जनताको पनि उत्तिकै भूमिका छ । भ्रष्टलाई मतदान गर्नु भनेको पनि नेपाली जनताले भ्रष्टलाई प्रश्रय दिनु हो । यसका साथै जनताको स्तरबाट आप्mनो निजी फाइदाका लागि कर्मचारीलाई घुस नखुवाउने र भ्रष्टलाई बहिष्कार गर्ने हो भने आर्थिक अनियमितता घट्दै जानेमा दुईमत नै छैन । पृथ्वीनारायण शाहको भाषामा घुस लिनेहरू मात्र नभएर दिनेहरू पनि देशका शत्रु हुन् ।
अन्त्यमा हामीहरू कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता हुनुभन्दा पहिले स्वतन्त्र र सार्वभौम देशका नागरिक हौं । नेपाली हौं । नेपाल हामी सबैको साझा घर हो । यो देशको सुरक्षा, संरक्षण, प्रगति र विकास गर्ने हामी सबैको दायित्व हो । अब आर्थिक विकास र नागरिक समृद्घिका लागि लडाइँ गर्नुपर्ने बखत आएको छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो । अब हामीहरू एकजुट भएर देश निर्माणको साझा उद्देश्यका लागि जुटौं । भ्रष्टलाई सामाजिक बहिष्कार गरौं । भ्रष्टाचारको अन्त्य र सुशासनका लागि नागरिक दबाब सिर्जना गरौं, अब बिलम्ब नगरौं ।






