निकै जाडो हुँदा के गर्ने ?

नेपालभरि नै जाडो निकै बढेको छ । तराई क्षेत्रमा बाक्लो कुहिरो लाग्नु साथै शीतलहर चलेको छ । चिसो बढेसँगै जाडो मौसममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । जाडो मौसममा बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धालाई बढी नै समस्या हुनेगर्छ । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा बढी समस्या देखिने सम्भावना रहन्छ । चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले अहिले अस्पतालमा रुघाखोकी, भाइरल इनफ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनिया तथा मुटुका बिरामीहरू बढेका छन् ।

यति मात्र होइन जाडोयाममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोंकाइटिस, दादुरा, ठेउला हुने जस्ता समस्या पनि देखिन्छन् । यो बेलामा कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छन् ।

चिसोले विशेषगरी मुटु, हाडजोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शीतलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने गर्छ ।

जाडोयाममा जाडोबाट बच्न उचित उपायहरू नपनाएको खण्डमा जाडो र शीतलहरले मानिसको ज्यान पनि जान सक्छ । हरेक वर्ष नेपालमा खासगरी बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धाको ज्यान समेत जाने गरेको छ । त्यसैले, जाडोयाममा तातो खानेकुरा खाने तथा घर तथा शरीरलाई न्यानो गराउन आवश्यक छ ।

शरीरलाई न्यानो बनाउन एकैपटक बाक्लो बाक्लो कपडा लगाउनुभन्दा तह तहमा न्यानो कपडा लगाउँदा शरीर न्यानो हुन्छ । कान समेत छोप्ने ऊनीको टोपी तथा खुट्टालाई तातो बनाउन मोजा र चप्पल लगाउने हो भने जाडोमा धेरै राहत हुन सक्छ । मोजा लगाउँदा पसिना आउने हुनाले मोजा फेरिरहनुपर्छ । खुट्टा तातो हुँदा सहजै निन्द्रा पनि पर्छ ।

घाम लागेको छ भने दिउँसो एकैछिन समय मिलाएर घाम ताप्नाले शरीर न्यानो हुन्छ । दिउँसो घाम पर्ने कोठाका पर्दा खोल्नाले कोठा पनि तातो हुन्छ । शरीरलाई सक्रिय राख्ने हो भने पनि न्यानो हुन्छ । तर, कुहिरो लागेको तथा शीतलहर चलेका बेलामा सकेसम्म बाहिर नहिंड्ने तथा खेतबारीको काम नगर्ने । घरभित्र नै केहीबेर हिंड्ने तथा हात खुट्टा चलाइरहनाले पनि शरीरमा न्यानो ऊर्जा रहिरहन्छ ।

जाडो मौसममा चियाकफीको ठाउँमा सर्वोत्तम र स्वास्थ्यवद्र्धक शिलाजित खानु निकै राम्रो हुन्छ

जाडोयाममा घर तातो बनाउन एअर कन्डिसनर चलाउने, विभिन्न किसिमका हिटर र दाउरा बाल्ने गरिन्छ । यसरी हिटर चलाउँदा तथा आगो ताप्दा घर नै जल्ने तथा मान्छे जल्ने घटना हुने गर्छन् । त्यसैले, यसप्रति सावधान हुनुपर्छ ।

घरमा धेरै चिसो पस्ने झ्यालबाटै हो । त्यसमाथि अचेल अधिकांश घरका झ्यालका पल्ला सिसाका हुन्छन् । सिसाले घरभित्रको तापक्रम जोगाउन नसक्ने हुँदा जाडोमा झ्यालमा मोटो र गाढा रङको पर्दा राख्नुपर्छ । झ्यालमा रहेका ससाना चरबाट हावा छिर्दा हिटर बाले पनि कोठा नतात्ने समस्या आउँछ । त्यसैले, जाडो सुरु हुनु अगावै झ्यालको मर्मत गराउनु आवश्यक छ । तर, घर तातो बनाउने रहरमा सबै झ्याल ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ त्यसमा भने विचार गर्नुपर्छ ।

बिहान घाम लागेपछि झ्यालका पर्दा खोलेर सूर्यको प्रकाशभित्र छिर्न दिने हो भने घरभित्रको तापक्रम प्राकृतिक रूपमै बढ्छ र घर न्यानो हुन्छ । तर, घाम नलाग्ने झ्यालहरू भने बन्द नै राख्नुपर्छ । त्यस्तै साँझ परेपछि घरका सबै ढोका र झ्याल राम्रोसँग बन्द गर्नुपर्छ । अधिकांश ढोकाको चरबाट चिसो पस्ने हुँदा राति ढोका बन्द गरिसकेपछि त्यस्तो चरलाई कपडाले थुनिदिँदा चिसो भित्र पस्न पाउँदैन र घर न्यानो रहिरहन्छ ।

मार्बल तथा टायल इत्यादि ओछ्याइएको वा सिमेन्टको भुँई निकै चिसो हुन्छ र यस्तो भुईले सम्पूर्ण घरलाई नै चिसो बनाइरहेको हुन्छ । त्यसैले, जाडोयाममा घरको भुँई पुरै कार्पेटले ढाक्दा थप न्यानो हुन्छ । सामान्य कार्पेटमाथि ऊनी कम्बल वा गलैंचा ओछ्याउन सकियो भने बढी न्यानो अनुभूति हुन्छ । त्यस्तै, धेरै उपयोगमा नआउने कोठाका झ्याल ढोका बन्द गरेर राख्नुपर्छ । यसो गर्दा एअर सर्कुलेसन कम भई घरभित्र तातोपना कायम हुन्छ । ’cause, जति धेरै ओपन स्पेस भयो कोठा उति चिसो हुन्छ वा तताउन समय लाग्छ ।

घरको भान्सा तथा बाथरुम जस्ता ठाउँमा हावा छिर्नका लागि भेन्टिलेटर बनाइएका हुन्छन् । त्यसैले, जाडोयाममा आवश्यक भएका बेलाबाहेक यस्ता भेन्टिलेटर बन्द गर्नुपर्छ । नत्र, अरू सबैतिर तातोको प्रबन्ध मिलाए पनि भेन्टिलेटरबाट भित्र पस्ने हावाले पुरै घर चिसो पारिदिन्छ ।

जाडोबाट बच्न उचित उपाय नअपनाएको खण्डमा चिसो र शीतलहरले मानिसको ज्यान पनि जान सक्छ

जाडो मौसममा मानिसले बिहान नुहाउन अल्छी मान्छन् । तर, जस्तोसुकै जाडो भए पनि बिहान नुहाउने अल्छी गर्नुहँुदैन । बिहानै सबेरै उठेर नुहाउनाले शरीरमा चुस्तीफुर्ती बढ्छ, शरीर शुद्ध हुन्छ । तोरीको तेल वा तिलको तेलले शरीर मालिस गरेर नुहाउनु सुनमा सगन्ध छरेझैं हुन्छ । धेरै जाडो भएको खण्डमा मनतातो पानीले नुहाउन सकिन्छ । तर, धेरै तातो पानी टाउको तथा आँखामा पर्न दिनुहँुदैन ।

जाडो मौसममा सकेसम्म तातो तातो नै खानेकुरा खाँदा शरीरलाई फाइदा हुन्छ । स्वस्थ्य खानाले शरीरमा ऊर्जा दिइरहन्छ । आयुर्वेदका अनुसार जाडो मौसममा जठराग्नि तीव्र हुन्छ, जसले गर्दा पाचन शक्ति प्रवल रहन्छ । अर्थात् जाडो मौसममा खाए पिएको आहार राम्रोसँग हजम हुन्छ । त्यसैले, जाडो मौसमको सही तथा पूरा सदुपयोग गर्न पौष्टिक, बलवद्र्धक तथा गुणवद्र्धक पदार्थ सेवन गर्नुपर्छ, शुद्ध घिउबाट बनेका पदार्थ, मुंगको दालको हलवा, मासको खीर, शुद्ध घिउको जेरी र दुध, मौसमी फलफूल, कागजी बदाम, ओख्खर, किसमिस, छोहोडा, मुंगफली, अमला, सुत्ने बेलामा बेसार हालेको दुध आदि ।

जाडोयाममा जाडोबाट बच्न अत्याधिक मात्रामा चियाकफी, चुरोट तथा अल्कोहल पिउने गरिन्छ । यसरी जाडोयाममा चियाकफी, चुरोट तथा अल्कोहल पिउनाले वृद्धवृद्धा तथा मुटुका विरामीलाई हृदयाघात तथा मस्तिष्कघातको खतरा निकै बढ्छ ।

जाडो मौसममा चियाकफीको ठाउँमा शिलाजित खानु निकै राम्रो हुन्छ । शिलाजित चियाकफीको सर्वोत्तम र स्वास्थ्यवद्र्धक विकल्प हो । एक कफ दुधमा तीन चार थोपा जति शिलाजित हालेर पिउनु निकै फाइदाजनक मानिन्छ । जाडोयाममा यसरी शिलाजित सेवन गर्ने हो भने एकातिर शरीरलाई जाडोबाट बचाउन सकिन्छ भने अनेक स्वास्थ्य फाइदा पनि प्राप्त गर्न सकिन्छ । त्यसैले, जाडोयाममा कफी होइन, शिलाजित दुध पिउने गरौं ।

यसरी जाडो मौसमको उचित आहारबिहारको पालना गर्ने हो भने जाडो र जाडोका रोगबाट शरीर रक्षा गर्न सकिन्छ । शरीर पुष्ट, सुडौल तथा स्वस्थ हुन्छ, जसले गर्दा गर्मी मौसममा पनि शरीर स्वस्थ रहन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती