दैलेख । डुगेश्वर गाउँपालिका–२ लाँकुरी उम गाउँका सुनिलराज बिसी ३३ वर्षका भए । बिसीको घर वरिपरिको खेतबारी यतिबेला तरकारीले हराभरा भएको छ । तरकारीबाटै मनग्य आम्दानीसमेत गर्न थालेका छन् ।
२०७४ सालमा वडा सदस्यमा पराजित सुनिलले राजनीतितिर वितृष्णा लागेर आफू कृषि पेसामा होमिएको बताए । उनले २०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए । बुबाको अकस्मात् मृत्युपछि राजनीतिमा होमिएका बिसी सक्रिय राजनीति छोडेर कृषि पेसामा अँगालेका हुन् ।
२०७७ सालमा ‘खड्ग बिसी पशुपन्छी तथा कृषिफर्म’ दर्ता गररी कृषि पेसामा लागेका थिए । त्रिभुवन विश्वविद्यालयसँगै जोडिएको केन्द्रीय बागबानी कीर्तिपुर अध्ययन केन्द्रमा फुर्सदमा समयमा नियमित आउजाउले बिसीलाई कृषि पेसामा लाग्ने हुटहुटी जगाएको थियो । ‘त्यही प्रेरणाले मलाई माटोको माया लागेको हो,’ उनले भने, ‘म फुसर्दको समयमा कृषि बागवानी केन्द्रमा साथीसँगै आउजाउ गर्थें । त्यहाँ उत्पादन भएका नर्सरी र तरकारी खेतीको जानकारी लिने मौका मिल्यो । कीर्तिपुरमा सामान्य ज्ञान लिएपछि गाउँमै गएर किसान बन्ने रहरले मैले कृषि पेसा सम्हालेको हुँ ।’

त्यसो त गाउँका मानिसलाई बारीमा तरकारी खेती लगाऊँ भन्दा खुबै जान्ने भएको भनेर उनको कुरा पनि काट्थे । एक वर्षसम्म लगातार गाउँका मानिसलाई बिसीले सम्झाउँदा पनि मानेनन् । गाउँका अन्य मानिसलाई बारम्बार खेतबारीमा ताजा तरकारी लगाउन अनुरोध गर्दा कसैले टेरेनन् । कसैले यो पेसा अँगाल्ने नदेखिएपछि उनी आफंै तरकारी, विभिन्न बोटविरुवाको नर्सरी लगाएर कृषि पेसामा होमिए । पढे लेखेका व्यक्तिले कृषि पेसा गर्दैनन् भन्ने गाउँलेको भनाइलाई बिसीले गाउँकै अगुवा कृषक बनेर एक उदाहरणीय काम गरेका छन् । ‘कृषिमा मानसम्मान उत्तिकै छ । हाम्रा मान्छे दुःख गर्न अल्छी गर्छन्, परिश्रम गरे नेपालकै माटोमा सुन फल्छ,’ उनले भने ।
अलैंची नर्सरीबाट व्यवसाय सुरु गरेका बिसीले सुरुका वर्षमा ७ लाख रुपैयाँसम्म आम्दानी गरे । विश्वव्यापी कोभिड–१९ ले अन्य व्यापारी झंै अलंैचीको बजारमा माग घट्न थालेपछि अलंैची छोडी तरकारीसँगै सुन्तला, कागती, ओखर, जुनारलगायतको बिजु बेर्नासहित कलमी बिरुवाको नर्सरी बारीमा लगाउन थाले । कृषि अनुसन्धान केन्द्रको १ महिने तालिम र कृषिविकास कार्यालयमा कृषक प्रोत्साहन कार्यक्रम स्वीकृत भएपछि सीप र साधन दुवै पाएपछि उनलाई कृषि पेसा गर्न ठुलै मद्दत मिल्यो ।
बिसीले पाँच रोपनी क्षेत्रफलमा नर्सरी सञ्चालन गरेका छन् । नर्सरीमा ग्राफ्टिङ विरुवा पाँच हजार, विजु विरुवा ५ हजार, टाइफिलेट गरेका ५ हजार र सुन्तला कागजी, कलमी ७० हजार, टिमुर १० हजार कृतिपुर ग्राफटिङ ५ हजार विरुवा, ओखरका १ हजार बिरुवा बेच्नका लागि तयार छन् । पहिलो वर्षमा बिरुवा बिक्रीबाट ७ लाख रुपैयाँ कमाएका बिसीले चालू आर्थिक वर्षमा ८० हजार बेर्ना बिक्रीबाट २१ लाख कमाउने लक्ष्य रहेको सुनाए ।
सुरुमा १ लाख ५० हजार नर्सरी सुरु गरेका बिसीको फर्म ५० लाखको बेर्नाहरू रहेका छन् । चालू आर्थिक वर्षमा टिमुर कफीसहित मसला बालीका बेर्ना छन् ।

‘नर्सरी बेर्नाबाटै मेरो वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ, तरकारीसमेत गरी २०÷२२ लाख जति कमाउँछु । उत्पादन गरेको तरकारी र बेर्ना जिल्लामै खपत हुने गरेको छ,’ उनले भने, ‘हाम्रो मुख्य व्यापार केन्द्र सुर्खेत हो । कहिलेकाहीं जिल्लामा पनि पठाउने गरेको छु ।’
उनलाई पढेलेखेका व्यक्तिले दुःखी पेसामा किन लाग्यो होला भनेर कुरा नकाटेका पनि होइनन् । तर, पढेलेखेकाले नै कृषि पेसालाई अँगालेपछि गाउँका अन्य व्यक्तिलाई अब केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जागेको स्थानीयबासी बताउँछन् । संघ र प्रदेश स्थानीय सरकारले कृषि पेसामा लागेका व्यक्तिलाई सजिलै ऋण उपलब्ध गराई आयआर्जन गर्न लगाए गरिबी परिवारको जीविकोपार्जनमा सुधार आउने बिसीको बुझाइ छ ।
‘अनुदानको सही सदुपयोग नहुँदा कृषकका समस्या ज्यूँकात्यू नै छन् । व्यवस्था बदलिए पनि किसानका पीडा कम हुन सकिरहेको छैन,’ पालिकाले ५० हजार रुपैयाँ लैजान अनुरोध गर्दा पनि आफूले अस्वीकार गरेको जानकारी दिँदै उनले भने ।
पछिल्लो समय बिसीलाई अन्य गाउँका बासिन्दाले समेत विश्वास गर्न थालेका छन् । अनुदानको दुरुपयोग बढेकाले अनुदानलाई अनलाइन सिस्टममा राखेर अनुदान कोर्ड राखेर वितरण गर्नुपर्ने बिसीको भनाइ छ । किसान कहाँ अझै पनि अनुदान गएको छैन । नेता कार्याकर्ताको आसेपासेमात्र अनुदान आफ्नो पोल्टा पार्ने गरेको उनले आरोप लगाए । पालिकाले एक घर एक जर्सी गाई, एक घर, सय कुखुरा दिने कार्यक्रम ल्याए गरिबी न्यूनीकरणमा कम हुनेमा बिसी उत्तिकै आशावादी छन् ।






