दैलेख । दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख दाहालले जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताएका हुन् । जिल्लामा पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख दायित्व रहेको बताए।
आफु जिल्लामा कार्यरत रहँदासम्म इमान्दारिता पुर्वक जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । शान्ति सुरक्षा कायम गर्ने क्रममा सबैसँग समन्वय र सहकार्य गर्ने समेत उनले बताए। पछिल्लो समयमा सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेकाले प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरिने प्रहरी प्रमुख दाहालले जानकारी दिए । उनले प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाउने बताए।
यस्तै पत्रकार महासंघका दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले नागरिकको शान्ति सुरक्षा लागु औषध नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिनु पर्ने बताए। कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले डियसपी दाहाललाई आ–आफ्ना सुझाव दिएका थिए ।






