२० वर्ष कसैले आश नगरे हुन्छ : ओली

पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफूले नेतृत्व लिने र अरू कसैले आश नगरे पनि हुने बताएका छन् । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई हिजो शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहणमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले एमाले र देश ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने स्पष्ट पारे ।

‘कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोरपरार भनेको थिएँ,’ उनले भने, ‘जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन, आफैँ पलाउन थालेको छ ।’

‘मैले पार्टी अध्यक्ष छाडेपछि नयाँ अध्यक्षको छेउमा बसेर यो पनि चाहियो, त्यो पनि चाहियो गर्दिनँ,’ उनले अगाडि भने, ‘मागेको सहयोग दिने हो । मेरो हैसियत यो हो भनेर त्यहाँ लड्न जाने होइन । अर्काले अध्यक्ष पाएपछि मज्जाले काम गर्न पाउनुपर्छ । काम गर्न दिनुपर्छ ।’

सो अवसरमा उनले कांग्रेससहितको गठबन्धन फुट्नुको विकल्प नभएको टिप्पणी गर्दै एमालेविरुद्धको दक्षिणपन्थी गठबन्धन तोकिन पुगेको पनि बताए । उनले उक्त गठबन्धनलाई खरानीको डल्लो भनी संज्ञा दिए । ‘त्यतिबेलाको गठबन्धनलाई मैले भनेको थिएँ, यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ भिज्यो भने पनि फुट्छ । जे गरे पनि फुट्छ,’ उनले भने, ‘त्यो फुट्नेवाला थियो । फुट्नुको विकल्प नै थिएन । नभन्दै खरानीको डल्लो फुट्यो ।’

ओलीले गठबन्धन भत्काउँदैछौँ भन्ने’boutमा कति महिना पहिले सूचना दिनुपर्ने हो भनी कांग्रेसप्रति अर्को व्यङ्ग्य कसे । एमाले छिर्के लागेर लडेपछि चुपचाप नबस्ने उठेर हमला गर्ने पार्टी रहेको समेत बताए ।

माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपालगायत दलसँग गत २१ फागुनमा नयाँ सत्तासमीकरणको सहमति गरेको थियो । जसका कारण अहिले प्रदेश सरकार पनि हल्लिन पुगेका छन् । गण्डकीमा सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनको आहवान भइसकेकोमा एमालेलाई साथ दिन राप्रपालाई आग्रहसमेत गरे ।

शुक्रबार लेकसाइडको एक होटलमा उनले राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङलाई भेट गरी एमालेलाई साथ दिन आग्रह गरेका हुन् । उनले अहिले आफूलाई साथ दिनुस् पछि जे गर्नुपर्ला गरौं भनी आश्वासन दिएको नेता गुरुङले बताए ।

गण्डकीमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले यही चैत २७ दिउँसो ३ बजेसम्म समयसीमा दिएका छन् । जबकि नयाँ समीकरणका दलहरु एमाले–माओवादीले बहुमत पु¥याउन सकेका छैनन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमाले २२, माओवादी सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित