इलाम । आगामी १५ वैशाखमा इलाम–२ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २५ वर्षदेखि ६८ वर्ष उमेरसम्मका उम्मेदवार रहेका छन् । निर्वाचनका लागि शनिबार २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा कम उमेरका अर्जुनबहादुर शाही २५ वर्षका छन् । यस्तै, योगेन्द्र गुरुङ २९, मिलनकुमार योङहाङ लिम्बु ३१ वर्षका रहेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको हो । कुनै पनि दलमा आबद्ध नभई निर्वाचनमा होमिएको बताउने लिम्बु पछि रास्वपाबाट उम्मेदवार बनेका हुन् ।
नेकपा (एमाले)बाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ ३३ वर्षका भए । उनलाई नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले समर्थन गरेको छ । नेम्वाङ भन्छन्, ‘सबै उम्मेदवार अब्बल हुनुहुन्छ, तर जित भने मेरै हुनेछ ।’
त्यस्तै, स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंको पनि उमेर ३३ वर्ष मात्र भएको छ । मनोनयन दर्ता गराएकामध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज रानामगर ३६, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहोरा ३७, स्वतन्त्र उम्मेदवार राज बस्याल ४०, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४, राप्रपाकी लक्ष्मी गुरुङ ४५, नेकपा (एस)का जितबहादुर राई ४६, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ र स्वतन्त्र उम्मेदवार मनोज निरौला ४९ वर्षका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बु ५३, नेपाली जनता दलका रेशमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्षका छन् ।
६८ वर्षे डकेन्द्रसिंह थेगिम र त्यही उमेरका गणेशबहादुर चौहान सबैभन्दा ज्येष्ठ हुन् । डकेन्द्र पहिचान पक्षधर समूहका तर्फबाट साझा स्वतन्त्र उम्मेदवार हुन् भने गणेशबहादुर रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार हुन् । लामो समय शिक्षण पेसामा रहेर राजनीतिमा आएका डकेन्द्र यसपटक इलाम क्षेत्र २ का मतदाताले पहिचान पक्षधर उम्मेदवारलाई जिताउने दाबी गर्छन् ।
यस क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्वाङले २०५६ सालयताका सबै निर्वाचन जितेका थिए । नेम्वाङ उम्मेदवार बनुन्जेल प्रायः ५० वर्ष उमेर कटेका व्यक्ति नै यस क्षेत्रका उम्मेदवार बनिरहेका थिए । यसपटक भने उम्मेदवार बन्नेमा युवाको संख्या बढी देखिएको छ ।
महिला उम्मेदवार शून्य
उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराउँदा महिला भने शून्य रहेका छन् । १२ दल र आठ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्दा पनि महिलाको संख्या शून्य भएको हो । विभिन्न दल र स्वतन्त्र उम्मेदवारले पञ्चेबाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुुगेर उम्मेदवारी दर्ता गराएका थिए ।






