काठमाडौं । यसपालिको दसैंमा काठमाडौंबाट देशभरका विभिन्न गन्तव्यमा जाने यात्रुहरूका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारबाट खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार यातायात व्यवसायीको उपस्थितिमा भएको बैठकले दसैंका लागि शनिबार १२ असोजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
सो बैठकमा यातायात व्यवस्था विभागले आगामी १० असोजबाटै टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको थियो । तर, बैठकमा सहभागी यातायात व्यवसायीले तयारीको समय केही कम हुने सुझावसहितको धारणा राखेपछि दुवै पक्षबीच भएको सो छलफलमा आगामी १२ असोजदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने सहमति जुटेको हो ।
सरकार र सम्बन्धित यातायात व्यवसायी प्रतिनिधिहरूबीच सम्पन्न भएको बैठकले सम्भव भएसम्म यातायात व्यवसायीले अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
सम्भव भएसम्म व्यवसायीले अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने
आगामी १७ असोज घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि अध्ययन, विभिन्न पेसा, व्यवसाय एवं काम विशेषले काठमाडौं उपत्यकामा बस्दै आएका लाखौं यात्रु सडकमार्ग हुँदै आ–आफ्नो गन्तव्यमा जाँदै छन् ।
यातायात आवागमन सहज बनाउन १७ असोजको घटस्थापनादेखि आगामी १ कात्तिक पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत सो बैठकले गरेको विभागले जनाएको छ ।
सोही बैठकमा घटस्थापनादेखि पूर्णिमासम्म यात्रुबाहक सवारीसाधनलाई देशभर रुट परमिट खुला गर्ने निर्णय पनि भएको विभागले जानकारी दिएको छ । सम्बन्धित यातायात व्यवसायी, गोंगबुको नयाँ बसपार्कस्थित लोत्से बहुउद्देश्य प्रालि, नाडाका प्रतिनिधि, सिप्रदीसमेतका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच सम्पन्न भएको सो बैठकमा ट्राफिक प्रहरीको पनि उपस्थिति थियो । विभागले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने बताएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरूले यस्तो जानकारी गराएका हुन् । उनले छलफलका क्रममा सरोकारवालाहरूले दिएको सुझावका आधारमा आगामी १२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको जानकारी दिए । ‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न र सम्बन्धित काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था गर्ने र गराउने निर्णय गरिएको छ,’ प्रवक्ता पनेरूले भने, ‘अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गर्ने र गराउने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णयसमेत भएको छ ।’
सो अवधिमा कुनै सडकको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका ठूला आकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने निर्णयसमेत भएको विभागले जनाएको छ । २० वटा बुँदामा गरिएका निर्णयबमोजिम दसैंका यात्रु बोक्ने सवारी चालकले खाना खाजा खुवाउने स्थानमा कुनै भिडभाड नहुने किसिमको सहज व्यवस्था मिलाउनुपर्नेछ ।
यसैगरी, लामो दूरीका सवारीको अनिवार्य यान्त्रिक चेकजाँच गर्नुपर्ने, अनिवार्य दुई जना चालक राख्नुपर्ने, १८ वर्ष नपुगेका नाबालकलाई परिचालकको काममा लगाउन नपाउने लगायत कडा व्यवस्था गरेको छ । सो व्यवस्था पूर्ण रूपले पालना नगर्नेहरूमाथि तत्काल कानुनी कारबाही हुने निर्णय भएको विभागले जनाएको छ ।






