काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण हुने दर भने अझै घटेको छैन । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गथ्र्यो, तर विगत ३ वर्षयता भने चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २० जना पुग्ने गरेका छन् । चिकित्सकहरूका अनुसार चिसो मौसम सुरु हुँदा पनि डेंगु संक्रमण घटेको छैन । चिसो बढ्दा पनि डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकले पनि देखाँउछ । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरूको भनाइ छ ।
यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमण दर २ हजार ८ सय ५ जनामा देखिएको थियो । यस वर्ष डेंगुको संक्रमण अझै दुई सातासम्म देखिनसक्ने चिकित्सकहरूको भनाइ छ ।
पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिना नै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर, पछिल्लो समय यसभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको हो ।
जनस्वास्थ्यविद् कृष्णप्रसाद रिजालका अनुसार तराईका जिल्लामा विगतका वर्षमा प्रकोपको रूपमा देखिएको डेंगु संक्रमण घटेको पाइएको थियो । डेंगु संक्रमण गराउने लामखुट्टे ३५ डिग्री सेल्सियस नाघेपछि बाँच्न नसक्ने भएकाले पनि विगतमा गर्मी बढेसँगै संक्रमण दर घटेको थियो । पहाड र हिमालमा भने संक्रमण बढ्नुमा डेंगु गराउने लामखुट्टे १३ डिग्री सेल्सियससम्ममा बाँच्नसक्ने विज्ञको भनाइ छ ।
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा डेंगु गराउने लामखुट्टे २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर (२१) फिटमाथि लामखुट्टे सर्दै गएको छ । त्यसैगरी, भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ । पछिल्लो ४० वर्षको तथ्यांक हेर्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढीले पहाड र हिमालको तापक्रम बढिरहेको छ ।
यही कारणले ती क्षेत्रमा लामखुट्टेका लागि उपयुक्त वातावरण बनिरहेको छ । नेपालको तापमान सन् १९६८ देखि १९९० को दाँजोमा सन् २०३० मा १ दशमलव ४ डिग्री सेल्सियस, सन् २०६० मा २ दशमलव ८ डिग्री सेल्सियस र सन् २०९० मा ४ दशमलव ७ डिग्री सेल्सियसले वृद्धि हुने वैज्ञानिकहरूको अनुमान छ ।
नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेंगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको १ वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो । पछिल्लो समय जलवायु परिवर्तनसँगै तापक्रममा वृद्धि हुँदा डेंगुलाई उपयुक्त मौसम बन्न पुगेको र सन् २०२२ यता बाह्रै महिना डेंगु संक्रमण देखिएको छ । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १ सय ३३, फेबु्रअरीमा ३ र १ सय ३०, मार्चमा १५ र १ सय ९५, अप्रिलमा १८ र १ सय ५८, मेमा २५ र १ सय ६३ तथा जुनमा ९३ र १ हजार २६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ ।
त्यस्तै, जुलाईमा ७ सय २० र ६ हजार ४ सय ५९, अगस्टमा ३ हजार ७ सय ८ र १४ हजार ५ सय ३४, सेप्टेम्बरमा २७ हजार ५ सय २९ र १३ हजार ९ सय १२, अक्टोबरमा १७ हजार ८ सय ८९ र १२ हजार ६ सय ९९, नोभेम्बरमा ४ हजार २ सय ९० र २ हजार ८ सय ५ तथा डिसेम्बरमा ४ सय ८३ र ५ सय ७६ नयाँ केस देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांकनुसार डेंगु संक्रमणको संख्या १९ हजार ५ सय ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल सबैभन्दा धेरै काठमाडौंमा ३ हजार १ सय ३ जना संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा २ हजार ८ सय ४७, तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२ जनालाई डेंगु संक्रमण भएको छ । चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।