डमी स्वरले गायिका बनायो बेनिसा पौडेललाई

‘विहे भाका छैन म
कुमारी नी हैन म
मरीहत्तै धेरै गर्छन, कसैको नी भैन म…’

यतिबेला प्रदर्शन भईरहेको चलचित्र छक्का पञ्जा ५ को गीत हो यो । यो गीतको भिडियोमा अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा राउतको प्रेम सम्बन्धलाई स्थापित गरिएको दृष्य चलचित्रमा समेटिएको छ । दुई महिनामा करिब ९० लाख पटक युट्युवमा हेरिएको यो गीतका गायिका बेनिसा पौडेल हुन् ।

दीपक शर्माको संगीत रहेको यो गीतमा सुरुमा बेनिसालाई ‘डमी’ स्वरको लागि प्रस्ताव गरिएको थियो । गीत सुन्दा निकै मनपरेपछि उनले यो गीतमा सुरुमा डमी स्वर दिईन् । यसमा गायिकाको रुपमा स्थान दिने बाचा संगीतकार दीपकले बेनिसासँग गरेका थिएनन् ।

यसरी चलचित्रको गीतमा डमी स्वर दिएको उनको पहिलो पटक थिएन । यस अघि बेनिसाले आधा दर्जन चलचित्रका गीतमा डमी स्वर दिईसकेकी थिईन् । दुई चलचित्रको गीतमा त उनकै स्वर राख्ने भनिए पनि पछि अरु नै गायिकाको स्वर राखिएको थियो । त्यसैले यो गीतमा पनि उनले डमी स्वर दिईकी थिईन् ।

जब यो चलचित्रकी निर्देशक दीपाश्री निरौला र निर्माता एवम् अभिनेता दीपकराज गिरीले बेनिसाको स्वर मन पराए । त्यसपछि बेनिसालाई यो गीत गाउन प्रस्ताव गरे । त्यतिबेला बेनिसामा खुसीको सिमा रहेन् ।

त्यो पल सम्झँदै राजधानीसँग बेनिसाले भनिन्,‘दीपक शर्मा सरले संगीत गर्नुभएको चलचित्रको थुप्रै हिट गीतको डमीमा मैले स्वर दिएको थिएँ । तर यसपट आफुले डमी स्वर दिएको गीतलाई नै पूर्ण रुपमा गाउन पाउँदा खुसीको सिमा रहेन् ।’ छक्का पञ्जाको ब्रान्डसँग जोडिन पाउँदा सुरुमा त उनलाई पत्यार नै लागेको थिएन ।

बाल कलाकारको रुपमा गायन यात्रामा लागेकी बेनिसाले गायनमा सँघर्ष गरेको एक दशक भयो । एक दशकमा पहिलो पटक आफ्नो गीत विहे भाको छैन यतिबेला सर्वाधिक हिट भएको यी गायिकाले बताएकी छिन् ।

झट्ट सुन्दा दुई अर्थ लाग्ने यो गीत गाउँदासम्म यी गायिकाको दिमागमा महिनावारी नभएकी किशोरीलाई कुमारी भनिन्छ भन्ने थियो । यो गीत बजारमा आएपछि उनलाई धेरैले गीत गाउँदै जिस्क्याए । त्यसपछि बल्ल उनले कुमारी भन्ने शब्दको अर्थ बुझिन् । तथापि परिवारले यो गीत गाउँदा उनलाई प्रसँसा नै गरे । तर पनि धेरैले यस्तो गीत नगाएको भए हुन्थ्यो भन्ने सल्लाह दिएको पनि उनले बताईन्,‘ झट्ट सुन्दा दुई अर्थी लागे पनि गीतलाई धेरैले मन पराईदिनु भयो र हिट पनि भयो । डमीबाट पूर्ण गायनमा माथि उठ्न पाउनु नै मेरोलागि ठुलो अबसर हो ।’

गायिका बेनिसाको यो नै चलचित्रको पहिलो गीत भने हैन, उनले चलचित्र चुरीफुरीको गीत चार वर्ष अघि नै गाएकी हुन् । त्यसपछि उनले नाई नभन्नु ल–६, दीलमायाँ २ जस्ता चलचित्रको गीत पनि गाइसकेकी छिन् । तथापि चलचित्र छक्का पञ्जा ५ को यो विवाह भएको छैन गीत बजारमा आएपछि बल्ल बेनिसालाई चलचित्र पाश्र्व गायिका भनेर दर्शकले चिनेका छन्,‘धेरैले मलाई चलचित्रमा गाएको यो पहिलो गीत हो भनेर सोध्नु भएको छ । बिगतका चलचित्रका गीतहरु नचलेका कारण पनि धेरैलाई यो नै चलचित्रको पहिलो गीत जस्तो लागेको हो ।’ उनले भनिन् ।

चलचित्र छक्का पञ्जा ५ को गीत छायाँकन हुने क्रममा उनी छायाँकन स्थलमा पुगेकी थिईन् । त्यतिबेला आफ्नो गीत गाउँदै अभिनेत्री वर्षा सिवाकोटी छमछमी नाचेको देख्दा गर्वले उनको छाती फुलेको थियो । अभिनेता दीपकराज र अभिनेत्री वर्षाले आफ्नो स्वरका तारिफ गर्दा उनी फुरुँग भईन् । आफुले आज यो सफलता हाँसिल गर्न बिगतमा धेरै मेहनत गर्नु परेको यी गायिकाले बताएकी छिन् ।

दमकमा जन्मेकी बेनिसाले वाल्यकालमै मिठो गीत गाउन थालेपछि उनलाई बुबा आमाले दैनिक उर्लावारी लागेर गायक कला सिकाएका थिए । त्यसपछि बाल कलाकारको रुपमा भ्वाईस अफ नेपालमा भाग लिएकी उनी त्यतिबेला पहिलो राउन्डमा पुगेर बाहिरिईन् । भ्वाईस अफ नेपालले उनलाई चिनाएपछि त्यसको केही वर्षमा बेनिसाले नेपाल आईडलको चौथो सिजनमा भाग लिईन् । उनी चौथो सिजनमा उत्कृष्ट सातौंसम्म पुगिन् । अहिले संगीतमा स्नातक अध्ययन गरिरहेकी बेनिसाले थुप्रै गीतहरु गायिसकेकी छिन् । तथापि उनलाई चलचित्रमा डमी स्वरमा बढी प्रयोग गरिन्थ्यो । यसपटक बल्ल डमी स्वरबाट माथि उठेर उनी पूर्ण गायिका बनेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)