सुन्तला खेतीतर्फ स्याङ्जाका किसानको आकर्षण बढ्दै

प्राविधिकसँग किसान : सुन्तला किसानलाई रोगका बारेमा जानकारी गराउदै सुन्तला परियोजनाका प्राविधिक इन्द्र सुवेदी । अर्जुनचौपारी गाउँपालिका ४ स्थित सिरिनडाँडामा हिमलाल पौडेलले लगाएको सुन्तलाको बोटमा लागेको रोगको बारेमा सुवेदीले समाधानको उपाय सुझाउदै । तस्विर : श्रीकृष्ण सिग्देल–स्याङ्जा

स्याङ्जा । हरेक बर्ष आम्दानीको स्रोत बन्दै आएको सुन्तला खेती लगाउनेको संख्या स्याङ्जामा बढ्दै जान थालेको छ । धेरै दुख गर्न नपर्ने र राम्रो आम्दानीको स्रोत हुनेभएपछि जिल्लामा सुन्तलाखेती गर्ने किसानहरु बढेका छन् । सुन्तला किसानका समस्या र समाधानका लागि जिल्लामा अनुगमन समेत गरिएको छ ।

लोभलाग्दो आम्दानीको स्रोत

राष्ट्रिय फल घोषणा गरिएको सुन्तलाको जिल्ला हो स्याङ्जा । स्याङ्जा सुन्तलाबाट प्रमुख आयआर्जन गर्ने जिल्ला पनि हो । फटफुट सुन्तला खेती गर्दै सामान्य आयआर्जनमा रहेका स्याङ्जाका किसानहरु पछिल्लो समय यो खेतीलाई प्रमुख आम्दानीको स्रोत बनाउन थालेका छन् । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई कार्यालय स्थापना भएपछि सुन्तला लगाउने किसानहरुको आकर्षण समेत ह्रुवात्तै बढेको छ ।

रातो राम्रो, गुलियो मिठो भन्ने उखान झै स्याङ्जाको सुन्तला अहिले देशभर चिनिन्छ । सुन्तलाले छुट्टै पहिचान बनाएको स्याङ्जामा यो बर्षमात्रै बाँजो र जंगल रहेको ५० हेक्टर जमिनमा सुन्तलाखेती सुरु गरिएको परियोजनाले जनाएको छ । हरेकबर्ष ५० देखी १ सय हेक्टर खेरा गएको जमिनको सदुपयोग गर्दै आएका किसान प्राविधिक सहित बिरुवा अनुदानमा पाउँन थालेपछि सुन्तलाखेती तर्फ उनीहरुको रुची बढ्न थालेको परियोजनाको तथ्याङकले देखाएको छ ।

बाँझो जमिनको सदुपयोग : अर्जुनचौपारी १ का अगुवा सुन्तला किसान फणिनारायण अर्याल लगाएको सुन्तलाको बगैचा । बाँझो रहेको जमिनलाई अर्यालले सुन्तलाखेती लगाएर सदुपयोग सगै आम्दानी समेत गरेका छन् ।

सुन्तला सुपरजोन, परियोजना, जिल्ला समन्वय समिति, जिल्ला कृषि ज्ञान केन्द्र, डिभिजन बन, पशु सेवा, कृषि स्रोत केन्द्र र पत्रकारहरु सहितको टोलीले सुन्तलाखेतीको अनुगमन गरेको छ । सरोकारवाला निकायहरु सहितको अनुगमनमा गएको टोलीले स्याङ्जा सुन्तलाको प्रमुख आम्दानीको स्रोत भइसकेको औल्याएका छन् ।

किसान पनि सुन्तलाखेती तर्फ निकै उत्साही देखिएको र यो अनुगमनले किसानलाई फाइदा पुगेको सुन्तला सुपरजोन संचालक समन्वय समितिका संयोजक बोधराज अर्यालले बताए । सिमित साधनश्रोतले सुन्तलाखेती गर्नपर्ने बाध्यता किसानसगँ रहदै आएकाले उत्पादनमा अझै सन्तोजनक नभएपनि आशा भने गर्नुपर्ने धारणा संयोजक अर्यालको छ ।

बेला—बेलामा हुने अनुगमनले किसानका समस्या र समाधान पहिचान गर्न सजिलो हुदै आएको छ । सुन्तला सुपरजोन परियोजना स्याङ्जामा आएपछि बाँझो जमिनको सदुपयोग गर्न पाएकोमा किसानहरु खुशी भएका छन् । सुन्तलाखेती कै कारण गाउँ छाड्नेहरु गाउँ फर्कन थालेको फेदिखोलाका सुन्ताल किसान शिवप्रसाद गौतमले बताए ।

२५ जनाको समुहगत रुपमा १४० रोपनीमा झण्डै २८ सय बिरुवा रोपण गरिएको उनले बताए । पुरै जमिन जंगल बनेको थियो उनले भने,‘अहिले यसलाई फाडेर सुन्तला रोपण गरेका छौं ।’ यसबाट आम्दानीको स्रोत हुने आशामा छौं उनले भने ।

सुन्तलाखेतीबाट केहीबर्ष पछि आम्दानीको पर्खाइमा रहेका किसानहरु सुन्तलाखेतीले सन्तुष्ट भएको बताएका छन् । देश विदेश घुमेर आम्दानीको राम्रो कमाई गरेपनि गाउँको जमिन खेरा गएको देखेर गाउँ फर्केर सुन्तला खेती गरेको अर्जुनचौपारीका हिमलाल पौडेलले बताए । प्राविधिक सहयोग र सुन्तलामा चाहिने सबै परियोजनाबाट पाएकाले सुन्तलाखेतीमा कुनै समस्या नभएको उनको भनाई छ ।

स्याङ्जामा अहिले समुहगत र व्याक्तिगत रुपमा फार्म दर्ता गरेर व्यवसायीकरुपले सुन्तलाखेती गर्नेको संख्या उल्लेख्य रहेको छ । ८ बर्ष पहिला ८५० हेक्टरमा उत्पादन हुदै आएको सुन्तला हालसम्म आइपुग्दा २२५० हेक्टरमा सुन्तला उत्पादन हुदै आएको छ । ५५ करोड आम्दानी हुदै आएको स्याङ्जामा हाल १५० करोड आम्दानी हुने सम्म पुगेको छ ।

सिजनल खेती र धेरै दुख गर्न नपर्ने भएपछि सुन्तलाखेती तर्फ स्याङ्जाका किसानहरु बढी आकर्षण हुन थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्साल बताउछन् । बाँझो जमिनको सदुपयोग गर्ने किसानको संख्या बढेको प्रमुख लम्सालले बताए । अवको ५ बर्षपछि स्याङ्जा सुन्तलामय हुने लम्सालको विश्वास छ ।

गतबर्ष १९ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको स्याङ्जामा यसबर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अपेक्षा गरिएको छ । भौगोलिक दृष्टिकोणले साथ दिएको स्याङ्जाका अधिकांश क्षेत्रमा सुन्तला उत्पादन हुन्छ । यो खेतीलाई अझै साधनश्रोत र विश्व बजारीकरणको व्यवस्था गर्न सरकारले ध्यान दिने हो भने स्याङ्जा मात्रै नभएर देशकै आर्थिक मेरुदण्डको रुपमा रहने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तातोपानी कुण्ड लमजुङका लागि प्रकृति बरदान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा