ओलम्पिक कमिटीका सदस्यका लागि मनोवैज्ञानिक कक्षा

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आफ्नो कार्य समितिका सदस्यहरूका लागि एकदिने अनलाइन मनोवैज्ञानिक कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि एनओसीले खेलाडीका लागि एकहप्ते मनोवैज्ञानिक कक्षा सञ्चालन गरेको थियो । नेपाल ओलम्पिक कमिटीको बिहीबार बसेको कार्यसमितिको भर्चुअल बैठकले सो निर्णय गरेको हो । शनिबार १ बजे इन्द्र गुरुङमार्फत अनलाइन मनोवैज्ञानिक कक्षा सञ्चालन गरिने भएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको सो भर्चुअल बैठकमा कोरोना भाइरस (कोभिड–१९)ले खेलकुद क्षेत्रमा पु¥याएको असर र यसबाट नेपाली खेलकुद र खेलाडीलाई सुरक्षित राख्ने विषयमा समेत छलफल भएको थियो । ‘खेलाडीका लागि ओलम्पिक कमिटी सबै खाले सहयोग गर्न तयार छ । त्यसका लागि कमिटीले नियमित छलफल गरिरहेको छ । खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा खेलकर्मीहरूसँग अन्तक्र्रिया गरेर तत्काल एक्सनमा जाने काम भइरहेको छ,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

सो बैठकमा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष धुव्र प्रधानसहित कार्यसमितिका सदस्यहरूको उपस्थिति थियो । बैठकले लकडाउनको समयमा खेलाडी, प्रशिक्षकलाई कसरी फिट राख्ने भन्ने विषयमा विशेष चासो लिएको थियो । खेलाडीसँग प्रशिक्षकको नियमित सम्पर्क गराउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलगायतका संघसंस्थाले लकडाउनका समयमा घरमै बसेर कसरी फिट हुने भन्ने विषयमा दिएका अनलाइन परामर्थहरूमा खेलाडीलाई सहभागी गराउनेलगायतका विषयमा छलफल भएको नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले बताए । ‘खेलाडीलाई पहिले त मनोवैज्ञानिक रूपमा फिट राख्नुपर्ने अवस्था छ ।

त्यसपछि घरभित्रै रहँदा कसरी फिट रहने भन्ने विषयमा फिटनेसका ट्रेनिङहरूमा सहभागी गराउने भन्नेछ,’ श्रेष्ठले भने, ‘कतिपय खेलाडीलाई सामान्य डाइट खानसमेत समस्या रहेमा त्यसका लागि सहयोग गर्नेछ ।’ यसैगरी, खेलाडीको फिटनेसका लागि एनओसीले फिटनेस प्यानल बनाउने तयारीसमेत गरेको छ । एनओसीले यसअघि नै डाक्टरको एउटा प्यानल बनाएको छ । जहाँ खेलाडीले २४ घन्टा नै अनलाइनमार्फत आफ्ना स्वास्थ्य समस्या राख्न सक्नेछन् । ‘डाक्टर प्यानलमा २४ घन्टा नै खेलाडीले आफ्नो स्वास्थ्य र कोभिड–१९ को विषयमा जिज्ञासा राख्ने सक्नेछन्,’ प्यानलका संयोजक डा. सरोजकृष्ण श्रेष्ठले बताए । ‘उनीहरूले कुनै औषधि प्रयोग गर्दा समेत परामर्थ लिनैपर्छ । किनकि डोपिङको विषयमा समेत ध्यान दिनुपर्ने भएकाले खेलाडीले औषधि प्रयोग गर्दा संवेदनशील हुनुपर्छ । यसका लागि सजिलो होस् भनेर हामीले अनलाइन र अफलाइन परामर्थ दिइरहेका छौं ।’

नेपाल ओलम्पिक कमिटीले यसअघि ओलम्पिक छनोट खेल खेल्ने र वाइल्ड कार्डका लागि तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारीहरू तथा सञ्चारकर्मीसँग समेत भर्चुअल बैठक बसेको थियो । एनओसीले भर्चुअल रूपमा समेत नियमित सम्र्पकमा रहेर गतिविधि अगाडि बढाउने बताउँदै आएको छ । उसले ओलम्पियनहरूलाई खेलाडी र समुदायलाई समेत जनचेतना जगाउने खालको सन्देशहरू सामाजिक सञ्जालमार्फत राख्नसमेत सुझाव दिएको थियो ।

नेपाल ओलम्पिक कमिटीले दिएको मनोवैज्ञानिक परामर्श खेलाडी र प्रशिक्षकका लागि प्रभावकारी भएको कीर्तिमान तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टले बताए । उनले सो परामर्थले खेलाडीलाई लकडाउनका समयमा घरभित्रै बसेर पनि आफ्नो अभ्यासलाई सुचारु गर्ने, जीवनशैलीलाई अनुशासित बनाउने कार्य गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी