एकीकृत समाजवादीः नेपालमाथि खनालको आरोपैआरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि सम्मानित नेता झलनाथ खनालले विभिन्न आरोप लगाउँदै सुधार्न सुझाव दिएका छन् ।

स्थायी कमिटी, पोलिटब्युरो कमिटीको बैठक सम्पन्न गर्दैै बसेको केन्द्रीय कमिटीको बैठकमा खनालले विभिन्न आरोप लगाएका छन् । पार्टीको युवा संघ र अनेरास्ववियुको नेतृत्व अपानि जारी गर्दै नेपालले हटाएपछि खनालले बैठकमा लिखित रूपमै विभिन्न प्रश्न उठाएका हुन् ।

खनालले ६ पेजको फरकमत बैठकमा राख्दै १०औं राष्ट्रिय महाधिवेशन गरेर स्वयं पार्टीलाई समेत टीके प्रथाबाट जनवादी केन्द्रीयताका आधारमा निर्देशित कमिटीहरू बनाउन थालेको आरोप लगाएका छन् ।

पार्टीको भर्खरै छापिएको विधानका विषयमा असन्तुष्ट रहेका खनालले आफूलाई ‘सामान्य सदस्य’ भन्दै केन्द्रीय कमिटी बैठकमा ‘गलत निर्णयलाई सच्याऔं, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाऔं’ भन्ने शीर्षकमार्फत फरकमत राखेका छन् ।

उनले सबै जनवर्गीय संगठन जनवादी ढंगले रूपान्तरित र हस्तान्तरित गर्नुपर्ने भन्दै फगत केन्द्रीयतावादी, निरंकुशतवादी वा टीकेवादी तरिकाले गर्न नहुने भनेका छन् ।

जनसंगठनका प्रमुखलाई ठाडो निर्देशनमा हटाउने, जनवादी ढंगले निर्णय गर्न नदिने, अपानि जारी गरेर हटाउने, पक्षपातपूर्ण र पूर्वाग्रह व्यवहार गर्ने कुराको विरोध फरकमतमा छ ।

उनले फरकमतमा अध्यक्ष नेपाललाई लक्षित गर्दै गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका अपनाइएको र त्यसको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्ने भनेका छन् ।

‘यो अवस्थामा टीकेप्रथा, ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छँदाखाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरूमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघठनकारी तरिका हो’, खनालले भनेका छन्, ‘हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ । यो निरंकुश तरिका हो, यो नोकरशाही तरिका हो ।’

उनले अगाडि भने, ‘आजको युगमा यस्ता तरिका चल्दैनन्, यो स्वीकार्य हुँदैन र त्यस्ता तरिकाले पार्टी पनि चल्दैन र जनसंगठनहरू पनि चल्दैनन् । पार्टीले यो कार्यशैली र निर्णय गर्ने तरिका सच्याउनुपर्छ ।’

एकीकृत समाजवादीका २५ वटा जनसंगठन रहेको बताउँदै उनले ती सबै जनसंगठनलाई पार्टी महाधिवेशनको भावनाअनुरूप जनवादी ढंगले रूपान्तरित हुने र आवश्यकताअनुसार नेतृत्व हस्तान्तरण हुने समान अवसर दिनुपर्ने खनालले नेतृत्वलाई सुझाव दिएका छन् ।

‘कुनै जनसंगठनका प्रमुखहरूलाई ठाडो निर्देशनका आधारमा पदबाट हटाउने, उनीहरूलाई जनवादी ढंगले निर्णय गर्न पनि नदिने र पार्टी अपानि जारी गरेर हटाउने अनि कुनैलाई उनीहरूको प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गर भन्ने गत स्थायी कमिटीको यो निर्णय बिलकुल पक्षपातपूर्ण, डबल स्ट्यान्डर्डयुक्त र पूर्वाग्रही रहेको देखिन्छ’ खनालले भनेका छन् ।

‘हामीले एमालेबाट हामीहरूले किन विद्रोह गरेका थियौं, यहाँनेर नेतृत्वले मुटु छामेर सम्झना गर्नुपर्छ’, उनले अगाडि भनेका छन् । १०औं महाधिवेशनमा खनाललाई सम्मानित नेता भनेर सर्वसम्मत चयन गरेको थियो । पछिल्लोपटक विधान छापिएर आउँदा सम्मानित नेता केन्द्रीय कमिटीले चयन गर्ने प्रावधान राखेर आएपछि खनाल झनै आक्रोशित छन् ।

आचारसंहितामा कडाइ
यसैबीच, एकीकृत समाजवादीले आचारसंहिता जारी गर्दै कडाइका साथ लागू गर्नेभएको छ । पार्टीका नेता–कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाइएको जनाइएको छ ।

१३ बुँदा समेटिएको तीन पेज लामो आचारसंहिता पार्टीले बनाएको छ । जसमा उद्देश्य, प्रारम्भ, पालनकर्ता, मागदर्शक सिद्धान्तजस्ता विषय समेटिएका छन् । श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, आफैं पनि श्रम गर्ने मूल्यमान्यता रहने आचारसंहितामा उल्लेख छ ।

नेता तथा कार्यकर्ताहरू एकआपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितामा उल्लेख छ । यस्तै, बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्न नहुने, कुनै वर्ग, जाति, समुदाय, लिंग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

‘परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्धबाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ,’ एकीकृत समाजवादीले निर्माण गरेको आचारसंहितामा उल्लेख गरिएको छ ।

यस्तै, एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरू अध्ययाशील हुनुपर्ने भएको छ । आचारसंहिताको ११ नम्बर बुँदामा अध्ययनशीलता हुनुपर्ने र अल्छी बन्न नहुने उल्लेख छ । आचारसंहितामा भनिएको छ, ‘अध्ययाशीलता कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको विशेष पहिचान हो । उनीहरू अध्ययनशील हुन्छन्, हुनुपर्छ । कुनै पनि विषयमा राम्रो अध्ययन गरेर मात्र निर्णयमा पुग्ने गर्नुपर्छ । अध्ययन नगरी वा राम्रोसँग नबुझी गरिएको निर्णय अपरिपक्व हुन सक्छ । हामीले अध्ययन गर्नैपर्छ र कुरा राम्ररी बुझ्नैपर्छ । अध्ययन गर्न अल्छी गरेर राम्ररी नबुझी निर्णय गर्ने काम कदापि गर्नुहुँदैन ।’

अपानिमार्फत हटाएकामा असन्तुष्ट
यसैबीच शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य आरती लामाले असन्तुष्टि पोखेकी छन् । बैठकमा अन्तरपार्टी निर्देशनमार्फत अनेरास्ववियु अध्यक्षबाट पदमुक्त भएकी लामा र अध्यक्ष नेपालबीच भनाभनसमेत भयो । लामाले आफूलाई अपानिमार्फत हटाइएकामा असन्तुष्टि पोख्न थालेपछि अध्यक्ष नेपालले चुप लाग्न निर्देशन दिएका थिए ।

तर, लामाले आफूले बोल्न पाउनुपर्ने जिकिर गरिरहिन् । उनले आफूलाई जारी केन्द्रीय कमिटी बैठकबाट न्याय दिनुपर्ने माग गर्दै गर्दा उनलाई चुप लाग्न निर्देशन दिइएको थियो । अध्यक्षले चुप लाग्न भने पनि बोलिरहेपछि महासचिव घनश्याम भुसालले लामालाई मञ्चबाट हटाएर केन्द्रीय सदस्य बस्ने कुर्सीतर्फ पठाएका थिए ।

यता, एकीकृत समाजवादीले लामालाई बैठकस्थलबाट बाहिर निकालिएको भनेर गरिएको प्रचार झूटो भएको जनाएको छ । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जारी केन्द्रीय कमिटी बैठकलाई लिएर लामालाई बैठकबाट निकालियो भनेर अनावश्यक प्रचार गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबीच झगडा प¥यो भनेर भएको प्रचारमा कुनै सत्यता छैन,’ अर्यालले भने ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

हरिपुर्वा नगरपालिकामा नगर अस्पताल सञ्चालन, स्थानीय खुसी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी