पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको राम्दी–रानीमहल खण्डमा ट्र्याक खोल्ने र स्तरउन्नति कार्य धमाधम भइरहेको छ ।
१७ किलोमिटर खण्डको केही भागको ट्र्याक १० वर्षअगाडि खुलेको भए पनि स्तरउन्नतिको काम भने रोकिएको थियो । गौरवको आयोजना भए पनि बजेट सुनिश्चित नहुँदा यस खण्डको स्तरउन्नति भएको थिएन ।
कालोपत्र डबल लेन सडक बनेपछि बागलुङ मालढुंगादेखि पूर्वी नवलपरासी गैंडाकोटसम्म करिडोर निर्माण कार्य पूरा हुनेछ । करिडोरले चीन र भारतका धार्मिक पर्यटक आवतजावतमा वृद्धि हुने, कृषि उत्पादन बजारीकरणमा सहज हुने र सिमापार व्यापारलाई सहज हुनेछ ।
पर्यटकीय हिसाबले महŒवपूर्व रहेका क्षेत्रहरू राम्दी नदी धाम, रानीमहल दरबार र रुरुक्षेत्र धामसहितका करिडोरसँग जोडिएका क्षेत्रमा चहल पहल बढ्ने र यस क्षेत्रको विकासमा सहयोग पुग्ने स्थानीय डोलराज अधिकारीले बताए ।
कालीगण्डकी करिडोर चीनको सिमाना कोरलादेखि गैंडाकोटसम्मको ४ सय ४२ किलोमिटर छ । गंैडाकोटदेखि मालढुंगासम्मको २ सय ४० किलोमिटरमध्ये १७ किलोमिटर मात्र सडक निर्माण बाँकी थियो ।
नेपाल सरकारबाट १ अर्ब ४८ करोड रुपैयाँ बजेट सुनिश्चित भए पनि ठेक्कामार्फत राम्दी–रानीमहल क्षेत्रमा धमाधम काम भइरहेको हो । थोदुङ हिम सगरमाथा जेभीले निर्माण कम्पनीले भ्याटसहित ८५ करोड रुपैयाँ लागतमा सडक स्तरउन्नति गर्ने गरी २०८१ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । ३ वर्षमा सडक स्तरउन्नतिको काम सक्ने गरी सम्झौता भएको थियो ।
राम्दी–रानीमहल खण्ड स्तरउन्नति भएसँगै मालढुंगादेखि गैंडाकोटसम्म करिडोर निर्माण सकिने गैंडाकोट, राम्दी, मालढुंगा सडक आयोजना पाल्पा कार्यालयकी प्रमुख कल्पना अधिकारीले बताइन् ।
करिडोरबाट प्रत्यक्ष रूपमा गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरू पूर्वी नवलपरासी, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्यादी, मुस्ताङ, पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय लाभान्वित हुनेछन् । २ सय ४० किलोमिटर खण्डमा अझै १४ वटा पक्की पुल निर्माण गर्न आवश्यक रहेको छ । १० वर्षदेखि अलपत्र रहेको राम्दी–रानीमहल खण्ड स्थानीय जनता र जनप्रतिनिधिको निरन्तर प्रयासपछि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएको हो । करिडोरको राम्दी–रानीमहल खण्ड स्तरउन्नतिमा निरन्तर लागिपरेको पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।
लुम्बिनी र गण्डकी प्रदेशको मेरुदण्ड कालीगण्डकी करिडोर निर्माणले यस क्षेत्रको पर्यटन विकास, सीमापार व्यापार, कृषि उत्पादनको बजारीकरण, अस्पतालसम्मको पहुँच र रोजगारी सिर्जनामा मद्दत पुग्ने देखिन्छ । तर, निर्धारित समयमा निर्माण सम्पन्न गर्न सबैको पहल आवश्यक छ ।
सम्बन्धित समाचार











