अग्नि सापकोटाविरुद्धको मुद्दा फेरि शून्यबाट सुनुवाइ सुरु

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । सो मुद्दामा बुधबारबाट पुनः संवैधानिक इजलासमा शून्यबाट सुुनुवाइ सुरु भएको हो ।

चारपटक निर्णय सुनाउने पेसी तोकेर निर्णय दिन नसक्ने तीन न्यायाधीशले फेरि सोही मुद्दामा सुनुवाइ गर्दै

यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ सकेर चारपटक निर्णय सुनाउने मिति तोके पनि फैसला हुन नसकेपछि रिटहरूमा पुनः शून्यबाट सुनुवाइ सुरु भएको हो । तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठसहित तत्कालीन वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले गत १२ वैशाखमा सापकोटासँग सम्बन्धित तीनवटा रिटको सुनुवाइ गरेको थियो ।

सुनुवाइपछि निर्णय सुनाउन (निसु) का लागि २३ जेठ, २३ साउन, १२ भदौ र ९ असोजमा पेसी तोकिएको थियो । चौथोपटक निसुको मिति तोकिए पनि ९ असोजमा संवैधानिक इजलास ‘अन्य आदेश’ गरेर पन्छिएको थियो । १३ वर्षदेखि सर्वोच्चमा यो मुद्दा घुमेको घुम्यै छ ।

ती रिटमा राउत प्रधानन्यायाधीश भएर आएपछि बुधबार पहिलोपटक पुनः सुनुवाइ थालिएको छ । अहिले ती रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूसहित वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडाल सम्मेलित संवैधानिक इजलास गठन गरेका छन् । अघिल्लोपटक ‘फैसला दिन नसकेको’ इजलासमा रहेका तीन जना (बहुमत) न्यायाधीश राउत, मल्ल र रेग्मी अहिलेको इजलासमा पनि भएकाले यसपटकसमेत अन्तिम आदेश दिनेमा आशंका छ । निर्णय दिन नसकेर हच्किएका बहुमत तीन न्यायाधीशले पुनः शून्यबाट मुद्दाको सुनुवाइ गरेर फैसला अब कसरी गर्न सक्छन् भन्नेमा कानुन व्यवसायीले आशंका व्यक्त गरेका छन् । यसअघि सोही मुद्दामा निर्णय किन दिन नसकेको त्यसको आधार र कारणसमेत खुलाउन सकेनन् । द्वन्द्वकालीन मुद्दा ६ महिनाभित्र सक्ने विस्तृत शान्ति सम्झौता भए पनि १८ वर्ष बित्दा पनि टुंगिन सकिरहेको छैन भने अर्कोतिर अदालतले ठोस निर्णय दिन नसक्दा यो मुद्दाको अन्तिम किनारा कहिले लाग्छ भन्न सक्ने अवस्था छैन ।
काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । द्वन्द्वकालीन घटना नियमित प्रक्रियाबाट अनुसन्धान गरेर मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउने मिल्ने कि नमिल्ने भन्ने विषयको अन्योलता संवैधानिक इजलासले व्याख्या गर्नुपर्नेछ । संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेको छ । तर, रिट निवेदकले भने हत्यासँग जोडिएको विषय भन्दै फौजदारी न्याय प्रणालीअन्तर्गत नियमित अदालतबाट मुद्दा दर्ता हुनुपर्ने माग राखेका थिए ।

सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले ६ असार २०६८ मा दर्ता गरेका थिए । काभ्रे दाप्चाका स्थानीय व्यापारी तथा श्रीकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको अपहरणपछि हत्यामा माओवादी नेता अग्निप्रसाद सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्नाखर गौतम र नोर्बु मोक्तान संलग्न रहेको आरोप छ ।

सापकोटालाई पक्राउ पुर्जी जारी रहेकै अवस्थामा तत्कालीन माओवादी सरकारले २०६८ साल जेठमा सूचना तथा सञ्चारमन्त्री नियुक्त गरेको थियो । उनलाई पक्राउ गर्नुपर्ने र मन्त्रीका रूपमा उनको नियुक्तिले घटनाको निष्पक्ष अनुसन्धानमा बाधा गर्ने भनी मानवअधिकार रक्षकको एक समूहले नियुक्तिलाई अदालतमा चुनौती दिएको थियो । सार्वजनिक सरोकारको मुद्दामा सुनुवाइ गर्दै २०६८ सालमा सर्वोच्च अदालतले सापकोटालाई मन्त्रीका रूपमा गरिएको नियुक्ति रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सापकोटालाई पदमुक्त गराउने कुनै कानुन नरहेको तथा उनीविरुद्ध गम्भीर आरोप रहेको अवस्थामा पदमा बसिरहने वा छोड्ने उनको नैतिकताको विषय भएको अदालतले आदेशमा भनेको थियो ।

यस मुद्दामा भइरहेको प्रगति रोक्न तत्कालीन मन्त्रिपरिषद्ले १२ साउन २०६९ सालमा अग्निप्रसाद सापकोटा तथा सूर्यमान दोङविरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो । पीडितकी पत्नी पूर्णिमाया लामाले सरकारको निर्णय उल्ट्याई पाऊँ भन्दै ७ मंसिर २०६९ सालमा सर्वोच्च अदालतसमक्ष रिट निवेदन दायर गरेपछि अदालतले ११ मंसिर २०६९ सालमा सरकारलाई निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

२२ चैत २०७२ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले सो मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन् । पूर्णिमायाले दायर गरेको रिटको अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको थियो । तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ‘हालसम्म फरार अपराधी भएकाले सो जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै ६ असार २०६८ सालमा कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए ।

यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५-१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो । सर्वोच्चको सो आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ ।

सर्वोच्चले काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भए÷नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न ६ असार २०६८ सालमा आदेश दिएको थियो । न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले प्रत्येक १५÷१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो ।

तर, जिल्ला प्रहरी कार्यालयले सर्वोच्चको आदेशका उल्लंघन गर्दै एक÷एक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ । हालसम्म प्रहरीले गरेको काम अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षक शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र गर्ने कार्य भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ ।

यस्तै, द्वन्द्वपीडित तथा मानवअधिकार रक्षकले चिन्ता व्यक्त गरेको भए पनि १२ माघ २०७६ सालमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट निवेदनउपर सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । तर, विगतका अन्तरिम आदेश तथा सापकोटाको मुद्दामा भइरहेको अनुसन्धानका विषयमा ३० दिनभित्र विवरण उपलब्ध गराउन सरकारलाई आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही