काठमाडौं । नेपाली चलचित्रमा छायांकन अघि कलाकार फेरबदल हुनु नियमितता जस्तै भएको छ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र परालको आगोमा पनि फेरी कलाकार हेरा फेरी भएको छ ।
यो चलचित्रमा यस अघि अभिनेता खगेन्द्र लामिछानेलाई अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको थियो । यति बेला चलचित्र हर्षमा व्यस्त रहेको खगेन्द्रको यसपछि अर्को चलचित्र डबल ट्रिपलको छायांकन सुरु हुने भएपछि उनले यसलाई समय दिन नसक्ने बताए । सोही कारण अर्को महिनाबाट छायांकन सुरु गरिने भनिएको चलचित्र परालको आगोमा खगेन्द्रलाई भनिएको चरित्रमा अभिनेता प्रकाश सपुत अनुबन्धित भएका छन् ।
चलचित्रको निर्माण कम्पनी हरि ओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई परालको आगोमा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले हरि ओम सिने मेकर्स निर्माता कम्पनीलाई यो चलचित्र निर्माणको मन्जुरी दिइसकेको छ । परालको आगो मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।
निर्माता पोखरेलका अनुसार अभिनेता प्रकाश यो चलचित्रका प्रमुख दुई पात्रमध्ये एक चरित्रमा हुन् । यसअघि यो चलचित्रमा जितु नेपाल र सुहाना थापा पनि मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे, गौँथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको चरित्र चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले खुलासा गर्न नमिल्ने बताए ।
सम्बन्धित समाचार











