पोखरा । पोखरामा पहिलोपल्ट प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको सो प्रतियोगिता यही ८ देखि १५ जेठसम्म पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पोखरा भलिबलका फ्यान धेरै भएको र राजधानीबाहिर पनि एनभिए लिग लैजानुपर्छ भन्ने उद्देश्यले पहिलोपल्ट पोखरा आएको बताए ।
उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले भाग लिने छन् । जसमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब बुटवल छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशका टिमले भाग लिने अध्यक्ष चन्दले बताए । भलिबलको व्यवसायीकरण र युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले प्रत्येक टिममा ३ जना विदेशी खेलाडी राख्न मिल्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
दुवैतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागतमा उत्कृष्ट लिबेरो, लिफ्टर, ब्लकर, सर्भर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार साथमा मेडल प्राप्त गर्ने छन् । पुरस्कारमा मात्रै ३२ लाख खर्च हुने आयोजकले जनायो ।
संघ महासचिव रोशन श्रेष्ठले प्रतियोगिताका लागि करिब ९० लाख खर्च हुने अनुमान रहेको बताए ।






