पोखरा । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई एकपल्ट मानसिक अस्पताल गएर जँचाउन भन्दै गम्भीर आक्षेप लगाएका छन् ।
शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ओलीले पोखरामै शुक्रबार गरेको भन्ने अभिव्यक्तिको विषयलाई लिएर उक्त आक्षेप लगाएका हुन् । राष्ट्रिय युवा संघ नेपालको शुक्रबारदेखि पोखरामा १० औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । पोखराको अमरसिंह चौरमा आयोजित उद्घाटन समारोहलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
माओावादीको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तरगर्त माओवादी अध्यक्ष प्रचण्ड पनि शुक्रबार साँझ हेमजा हुँदै पोखरा छिरेका छन् । शनिबार पोखराको चिप्लेढुंगामा माओवादीले पार्टीका शीर्षनेताहरुको उपस्थितिमा सभा आयोजनासहित तत्काललाई एक चरणको मध्यपहाडी लोकमार्गको अभियान टुंगाउँदैछ ।
शुक्रबार पत्रकार सम्मेलनमा उनले भने, ‘म सुन्दैछु, यिनै प्रधानमन्त्री आज पोखरामा आका थिए कि के थिए, यिनले प्रतिनिधि सभामा भनेका थिए, भव्य र सभ्य सभा हामीले आयोजना गरेको सरकारविरोधी सभालाई भनेर पनि बोलेका थिए । म सुन्दैछु, आज आएर प्रचण्ड राजासँग मिल्ने अभियान हो भनेर कही न केही बोलेको सुन्छु । अरु त बोल्नु छैन, यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीजीलाई एकचोटी मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु ।’
उनले माओवादीको अभियानका क्रममा संकलित सुझावहरु सरकारलाई गएर बुझाउने र आगामी बजेटमा माग सम्बोधन नभए परिणाम गम्भीर हुने चेतावनी समेत दिए ।
‘यसबीचमा विभिन्न संघसंस्थाहरु, पार्टीहरु, स्थानीय सरकार सबैले दिएका ज्ञापनहरु, मागहरु बजेटमा यी कुराहरु पारित हुनुपर्ने भनी गरेका आग्रहहरु भोलि (शनिबार) बेलुका गएर यसको गम्भीरता सरकारलाई बुझाउने छौं,’ उनले चेतावनी दिए, ‘बजेटमा यी कुरा परेनन् भने यसको परिणाम अझ गम्भीर हुन सक्छ भनी चेतावनी दिने हदसम्म जाँदैछौं ।’
उनले माओावदीको अभियानमा अभूतपूर्व जनसहभागिता, उभार देखा परेको पनि दाबी गरे । ‘यो अभियान माओवादी केन्द्रको मात्र होइन, यो नेपालमा विकास र समृद्धिको आशा राख्ने तमाम् नेपाली जनताको, देशमा राजनीतिक स्थायित्व खोज्ने सबै नेपालीको, राष्ट्रिय स्वाधिनताको अभियान बन्न पुग्यो,’ प्रचण्डले भने ।
अगाडि भने, ‘हामीले झापाको केचनाकवलबाट सुरु गरेको अभियान कास्कीसम्म आईपुग्दा सबैको अभियान बन्न पुग्यो । माथि नेताहरुले जेसुकै भने पनि हामी स्थानीय तहमा जहाँ नेपाली काँग्रेसको सरकार भएका ठाउँमा, त्यहाँ एमालेकै सरकार भएका ठाउँमा हाम्रो स्वागत गरियो, अभिनन्दन गरियो । सफलताको शुभकामना दिइयो । कैयौं ठाउँमा सहयोग पनि पु¥याइयो । यो अभियानमा माओवादीको राजनीतिक अभियानमा नभएर देशकै अभियान बन्न पुगेको छ । देशको समस्या समाधानको अभियान हो । राष्ट्रिय एकता सुदृढ बनाउने अभियान बन्न पुग्यो ।’
उनले यथास्थितिवादी र प्रतिगामीहरुको बीचमा कही न केही साँठगाँठ देखा परेको पनि आरोप लगाए । ‘तपाईहरुले देखिहाल्नु भयो, चैत १५ गतेको ब्यानर नै यथास्थितिवादी र प्रतिगामीहरुका विरुद्ध सभा भनेर राख्यौं । त्यो प्रदर्शनले राजावादीहरुको हरकतलाई, राजावादीहरुको षड्यन्त्रलाई राम्रैसँग प्रतिवाद ग¥यो । उनीहरु यति उग्र बनेकी अब जनमत आफ्नो पक्ष छैन भन्ने देखेपछि थोरै मान्छे तीनकुनेमा उतारेर हत्या, हिंसा, आगजनी, लुटपाट सबै चित्र देखियो । को हो राजावादी भन्ने कुरा पनि जनताले राम्रोसँग थाहा पाए । र, गणतन्त्रवादीहरु कति अनुशासित हुन्छन् भन्ने कुरा पनि विशाल जनमत गणतन्त्रवादीको पक्षमा छ भन्ने कुरा समाजवादी मोर्चाको नामबाट हामीहरुले गरेको कार्यक्रमले प्रस्ट पा-यो, उनले भने ।






