इलाम । इलाम नगरपालिका–९ मेची राजमार्गस्थित राज दुवाली यति बेला निकै चर्चामा छ । केही दिन अघिसम्म पहिरोका कारण सडक अवरुद्ध भएर चर्चामा रहेको राज दुवाली अहिले शिला भेटिएको भन्दै लीला मच्चिएर चर्चामा छ ।
खेलाको बगर भित्तामा भेटिएको भनिएको शिलाको विषयमा कसैले खोलामा ढुङ्गा नभेटिएर के भेटिन्छ त भन्ने गरेका छन् भने कतिपयले जसले देखेको उसैलाई लैजान दिनु नाटक धेर भयो भन्ने गरेका छन् । शिला भेटिएको भनेपछि अहिले दिनमा दुई तिन जना आएर फलाक्ने गरेको पाइएको छ ।
कसैले यहाँबाट लैजान नमिल्ने भन्दै फलाक्छन् त कसैले संरक्षण गर्न सक्दैनौ भने लैजान दिनु भन्दै फलाक्ने गरेका छन् । अहिले राज दुवालीमा काम्ने र हेर्नेको भिड सुरु भइसकेको छ ।
शिला उत्खनन गरेको र लैजान लागेको भन्दै स्थानीयले इलाम नगरपालिकामा खबर गरेपछि नगर प्रमुख केदार थापा र शिला भेटिएको भनिएको वडाका वडाध्यक्ष गोपाल चौहान समेत उक्त ठाउँमा पुगेका थिए ।
त्यहाँ विवाद उत्पन्न भएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी पनि त्यहाँ पुगिन । नगर प्रमुख थापाले प्रमीला कार्कीले सपनामा देखे अनुसार नै भेटेको र निकालेको भनेपछि शिला लैजान समस्या भयो भने सहजीकरण गरी दिउला भनेको बताए । उनले त्यसपछि अरू पनि आउने काम्ने र अनावश्यक भिड गरेर नाटक देखाउन थालेको भन्दै प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेर त्यहाँ अनावश्यक भिड लाग्न नदिने बताए ।
यता आफूलाई पाथीभरा माता भनेकी प्रमिला कार्की सपनामा म त्यहा फोहोरमा अलपत्र छु मलाई ल्याएर संरक्षण गर भने पछि ल्याउन खोजेको बताउछिन । उनी स्थानीयले त्यहा मन्दिर बनाएर संरक्षण गर्छन भने आफू जबर जस्ती नगर्ने बताउछिन ।
समिति बनाउने तयारी
सपनामा देखिएको भनिएको शिला भएको इलाम नगरपालीका नौ राज दुवालीमा अहिले स्थानीय समिति बनाउने तयारी गरिरहेका छन् । पाथिभरा माता भन्ने प्रमीला कार्कीले सपनामा देखेको भनिएको सिला फोहोरमा रहेको भन्दै उत्खनन गरेर लैजान रोक लगाएका स्थानीय समिति बनाएर मन्दिर स्थापना गर्ने तिर लागेका हुन । अहिले शिला उत्खनन भनिएका ढुङ्गा पुजेन सुरु भइसकेको छ । त्यस आसपासमा लास डढाउने ठाउँ समेत रहेको छ ।
शिला भनिएको ढुङ्गामा बसेपछि
राज दुवालीमा शिला भेटियो भनेपछि त्यहाँ निकै भिड हुन थालेको थियो । त्यही भिडमा इलाम नगरपालिका नौ का यमनाथ भण्डारी पनि थिए । उनले शिला भनिएको ढुङ्गामा खुट्टा राख्ने र बस्ने गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । किन बस्नु भएको भन्ने प्रश्नमा उनले खोलाको ढुङ्गामा बस्न खुट्टा राख्न नपाउने भन्दै प्रतिवाद गरेपछि विवाद उत्पन्न भयो । अहिले उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पाटी इलामले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।
यसरी सुरु भयो राज दुवालीमा शिला
इलाम नगरपालिका ४ की आफूलाई पाथीभरा माता भन्ने २३ वर्षकी प्रमीला कार्कीले सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई “शिला” रहेको स्थान देखाएकी बताइन । सपनामा देखेको अनुसार स्थानीय बासिन्दाहरूले उपस्थितिमा सो स्थानमा उत्खनन गरेर शिला भेटिएको र लैजाने भन्ने भनेपछि स्थानीयले रोकेका थिए ।
चार वटा शिला भनिएका ढुङ्गा निकालेपछि एउटा ठुलो भएकोले निकाल्न सकेनन् । बुधवार त्यसलाई उत्खनन गर्ने भनेर जेसिवा लगेर उत्खनन गर्न अघि बढे । मेसिन लैजाने क्रममा एउटा साप देखा सर्प मेसिनको चक्का मुनी पस्यो । त्यस पछि नाग देवी उत्पन्न भएको भन्दै इलाम नगरपालिका १० की गोमा तामाङ नाम गरेकी महिला काम्दै बक्न थालिन ।
उनले कि लैजान देऊ कि संरक्षण गर भन्दै बकिन । सोहिदिन झापाबाट आचार्य थरका एक जना व्यक्ति आएर काम्दै यसलाई यहाँबाट उठाउन नमिल्नै भन्दै बके । बुधवार यतिकैमा दिन बित्यो । बिहीबार बिहान भारत बाट आएको भन्दै एक जना आएर बक्दै थिए ।
त्यस पछि सन्दकपुर गाउँपालिकामा पर्ने माबुकी सम्झना गुरुङ पनि आइपुगिन । उनलाई सपनामा त्यहाँ तपाई जानु भनेर रात भर सुत्न नदिएपछि म यहाँ आए । उनले यहाँ पञ्चकन्या देवी छन् भन्दै जसले देख्नु भएको उसैलाई दिनु पर्ने बताइन ।






