काठमाडौं । गत महिना मलेसियाको कम्पुङ सेकोलाह जुरुमा एक महिला र उनकी छोरीको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली पुरुषसँग सम्बन्धित मुद्दाको सुनुवाई नोभेम्बर २६ मा सारिएको छ। अभियुक्त ३५ वर्षीय दिनेश कुमार मण्डलले बहसमा मलायु भाषा नबुझेकोले मजिस्ट्रेट नुरुल रसिदाह मोहम्मद अकितले नेपाली दोभाषेको नियुक्तिको लागि मिति तोकेका छन्।
अक्टोबर १८ मा, ५१ वर्षीया सारिया चे हिन र उनकी धर्मपुत्री ११ वर्षीया नूर अफरीना अलिशा अब्दुल रहीम कम्पुङ सेकोलाह जुरुको एक घरमा मृत फेला परेका थिए। महिलाको शव भान्साकोठामा र बालिकाको शव माथिल्लो तल्लामा फेला परेको थियो। घटनापछि मलेसियन प्रहरीले अनुसन्धानमा सहयोग गर्न दिनेश सहित तीन नेपाली पुरुषहसहित मृतक महिलाको पतिलाई हिरासतमा राखेको थियो।
मण्डल आमा छोरीको हत्या गरेर दलाललाई ४ हजार रिंगेट तिरेर नेपाल भाग्ने क्रममा इमिग्रेसन जाँदा पक्राउ परेका थिए । अब मण्डलको अदालतमा पेशी २६ नोभेम्बर २०२५ तोकिएको छ भने ३०२ को मुद्दामा मृत्यु दण्ड सजाय हुन सक्ने वा ४० वर्ष जन्म कैद र १२ कोर्रा हुनेछ।
अहिले मलेसियाको जेलमा १ सय ६४ जना नेपाली विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार हत्या अभियोगमा १९ ,फौजदारीमा ३१,लागुऔषधमा २८, लागुऔषध र मिश्रित २१ र आप्रवासन सम्बन्धी मुद्धामा ६५ जना नेपाली रहेका छन्।






