फेवाताल किनारमा सडक महोत्सव

पोखरा । पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली विदेश जाने प्रचलन थियो । नेपालमा आकर्षक कार्यक्रम नहुँदा पोखरा घुम्न आएका विदेशी पर्यटक पनि स्वदेश फर्किन्थे ।

तर, साढे दुई दशकयता पोखरामै सडक महोत्सव हुन थालेपछि नेपाली मात्र नभएर विदेशी पर्यटक पनि फेवाताल किनारमै नयाँ वर्ष मनाउन लालायित हुने गरेका छन् । त्यसको श्रेय जान्छ, आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरालाई ।

रेवान पोखराले आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष पोखरा सडम महोत्सव गर्दै आएको छ ।

रेवानले यस वर्ष पनि आगामी १३ देखि १७ पुससम्म लेकसाइडमा २७ औं पोखरा सडक महोत्सव तयारी गरेको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको सोमबार पत्रकार सम्मेलनमा आयोजकले जनायो । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडक छेउ रेष्टुरेन्ट उतारेर विभिन्न खानाका परिकारबाट पाहुनाको स्वागत गर्ने गर्छन् । त्यसो त यो महोत्सवले नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सवको परिचय बनाएको छ ।

ताल किनारको ३ किमी लामो सडकमा सवारी आवागमन बन्द गरेर हुने यो महोत्सव पर्यटकीय राजधानी पोखराको ब्रान्ड नै बनिसकेको रेवान अध्यक्ष विश्वराज पौडेलले दाबी गरे । उनका अनुसार महोत्सवमा विभिन्न खानाका परिकारसहित लाइभ कन्सर्ट, लोपोन्मुख झाँकी, मौलिक भेषभूषा, परम्परागत नृत्य, खेलकुद गतिविधि, टक शो, पोखराको सौन्दर्य झल्काउने वृत्तचित्र प्रदर्शनी, फोटो प्रदर्शनी लगायत गतिविधि हुने छन् । खेलकुदतर्फ फेवातालमा बोट रेस, वेटर रेस, टग अफ बार लगायत हुनेछन् ।

कार्यक्रम संयोजक वसन्त गौतमले यो महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटेको बताए ।

रेवान पोखरा महासचिव वीरेन्द्र शेरचन पोखरा आफैँमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला संग्रहालय रहेको उल्लेख गर्दै महोत्सवले यही पहिचान स्थापित गर्दै पर्यटन र अर्थतन्त्रमा टेवा पुग्ने विश्वास लिएको बताए । विशेषगरी जाडोयाममा सुस्ताउने पर्यटन व्यवसाय चलायमान बनाउँदै ‘बाह्रै महिना पोखरा’ को सन्देश विश्वभर प्रवाह गरेको बताए ।

महोत्सवले गाउँ गाउँमा उत्पादित कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शन र बिक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाएको आयोजकको भनाइ छ । यसका अलावा क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरुले नेपालमै बसेर रमाउन सक्ने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा पनि प्रत्यक्ष सहयोग गरेको छ ।

महोत्सव दर्शकको थामिनसक्नु भिड हुने भएकाले सुरक्षा व्यवस्था चुस्त पारिने आयोजकले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन