कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शुक्रबारको जनकपुर बोल्ट्सविरुद्धको महत्वपूर्ण खेलमा जित निकालेसँगै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो ।
लिगको आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गर्न सफल भएको हो । साविक विजेता टोली जनकपुर भने लिग चरणबाटै बाहिरिएको छ ।
पोखरा, चितवन र जनकपुर लिग चरणबाटै बाहिर
दोस्रो संस्करणको यस एनपीएलमा सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान बनाएका थिए । शुक्रबारको नतिजाले जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज लिग चरणबाटै बाहिरिएका छन् । कर्णाली याक्स भने आफ्नो २ खेलअघि नै बाहिरिएको थियो ।
एनपीएलमा सुदूरपश्चिम शीर्ष स्थानमा हुने पक्का भइसकेको छ । उसको १२ अंक छ । शनिबार (आज) हुने सुदूरपश्चिम र विराटनगर किंग्सबीचको खेलले दोस्रो हुने टोलीको टुंगो लाग्नेछ । विराटनगरका लागि दोस्रो हुन ठूलो अन्तरको जित आवश्यक छ । जसले राम्रो रनरेट बनाउन मद्दत पुग्नेछ । विराटनगरले सानो अन्तरको जित वा पराजय भोगेमा काठमान्डु दोस्रो हुनेछ । काठमाडौंको ७ खेलमा १० अंक छ भने एक खेल कम खेलेको विराटनगरको ८ अंक छ । नेट रनरेटमा काठमान्डु अगाडि छ । तालिकामा लुम्बिनी ८ अंकसहित चौथो स्थानमा छ ।
शुक्रबार लुम्बिनीले जनकपुरलाई हराएसँगै शनिबार (आज) हुने चितवन र पोखराबीचको दोस्रो खेल तथा आइतबार (भोलि) अपराह्न हुने कर्णाली याक्स र जनकपुरबीचको खेल औपचारिकतामै सीमित हुने भएको छ ।
अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन् । जसमा सुदूरपश्चिमको टुंगो लागेको छ भने अर्को टोली काठमान्डु र विराटनगरमध्ये एक टिम हुनेछ । पहिलो क्वालिफायरमा जित हात पार्ने टोली २७ मंसिरमा हुने फाइनलमा पुग्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायरमा पुगेर फाइनल पुग्ने अवसर प्राप्त गर्नेछ ।
तेस्रो र चौथो हुने टोलीले बुधबार इलिमिनेटर खेल्नेछन् । जसमा लुम्बिनी र विराटनगर या काठमान्डुमध्ये एक टोली हुनेछन् । इलिमिनेटरको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित टोली बाहिरिनेछ । बिहीबार दोस्रो क्वालिफायर हुनेछ । जसमा जित हात पार्ने टोली फाइनल पुग्नेछ भने पराजित टोली बाहिरिनेछ ।
लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराउँदै प्लेअफमा
एनपीलमा लुम्बिनीले शुक्रबार जनकपुरलाई ४ विकेटले हराएको छ । जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले ५ बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि यो लगातार तेस्रो जित हो । यसअघि लुम्बिनीले पाँचौं खेलमा पोखरा र छैटौं खेलमा विराटनगरलाई हराएको थियो । लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण ३४ रनको योगदान गरे । ३२ बलमा २ चौका र १ छक्का प्रहार गरेका रोहित मयन यादवबाट एलबीडब्लू आउट भए । उनले बलिङमा पनि २ ओभर बल फ्याँकेर १५ रन खर्चिंदै २ विकेट लिएका थिए ।
लुम्बिनीका लागि ओपनर डार्सी सटले भने ३० रन बनाए भने जेजे स्मिथ २१ रनमा आउट भए । ओपनर सुमित महर्जन गोल्डेन डकआउट भएका थिए । उनलाई इनिङको पहिलो बलमा संगिथ कुरेले बोल्ड गरेका थिए ।
जनकपुरले सन्दीप जोरालाई शून्यमा पेभिलियन फर्कायो । अन्तिम ओभरमा ३ रन चाहिएका बेला पहिलो बलमा दिलीप नाथले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । नाथले नटआउट १५ रन बनाए भने ट्रम्पलम्यानले नटआउट ६ रन बनाए । बलिङमा जनकपुरका संगिथ कुरेले ३ विकेट लिँदा मयन यादवले २ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १ सय ३२ रन बनायो ।
खराब सुरुवात गरेको जनकपुरका लागि संगिथ कुरेले नटआउट ४५ रन बनाए । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मयन यादवले २३ बलमा नटआउट २७ रन बनाउने क्रममा १ चौका र १ छक्का प्रहार गरे ।
ओपनर माज सदाकत ६ रनमा जेजे स्मिथको बलमा विकेटकिपर निरोशन डिक्वेलाबाट आउट भए । अनिलकुमार साह ७ रन बनाएर पेभिलियन फर्के । अनिल रुबेन ट्रम्पलम्यानलाई चौका प्रहार गरेलगत्तै एलबीडब्लूको धरापमा परे । जनकपुरका ओपनर आशिफ शेख २० रनमा शेर मल्लको बलमा ट्रम्पलम्यानबाट क्याच आउट भए । आशिफले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
शुभ कंसाकार ११ रनमा आउट भए । सञ्जय कृष्णमूर्ति रोहित पौडेलको बलमा डार्सी सटबाट क्याच आउट भए । उनले ११ बलमा १४ रनको योगदान गरे । लगत्तै अर्को बलमा कप्तानको भूमिकामा रहेका यान निकोल लफ्टी इटन एलबीडब्लूको धरापमा परे ।
बलिङमा लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले २–२ विकेट लिए । मल्लले ४ ओभरमा २० रन दिए भने पौडेलले २ ओभरमा १५ रन खर्चिए । जेजे स्मिथ र ट्रम्पलम्यानको नाममा १–१ विकेट रह्यो ।
सम्बन्धित समाचार
सुदूरपश्चिमको लगातार दोस्रो जित
विराटनगरको लगातार दोस्रो जित
विराटनगर र सुदूरपश्चिमको लगातार तेस्रोे जित
करणको जादुमयी खेलमा काठमान्डुको दोस्रो जित
सुदूरपश्चिमको अपराजित यात्रा, प्लेअफमा स्थान बनाउने सम्भावना बढ्दै
पाङ्मा कप फुटबल उपाधि विजेताले अढाइ लाख रुपैयाँ पाउने
एसीसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै
रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडी






