लमजुङ । लमजुङका वरिष्ठ साहित्यकार, गुरुङ भाषाविज्ञ तथा संस्कृतिविद पैडी इन्द्रबहादुर गुरुङको निधन भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका– ९, गिलुङ निवासी गुरुङको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी ९२ वर्षका थिए ।
गुरुङको युवा उमेर समाजसेवा तथा शिक्षा सेवामा वितेको थियो । पछिल्ला दशकमा भने उनी गुरुङ भाषा, संस्कार र संस्कृतिका अध्येता बनेर प्राज्ञ समेत बनेका थिए । गुरुङ समुदायमा पुरोहितलाई ‘पैडी’ भनिन्छ । गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य उनका तम् चि (गुरुङ ज्योतिष), बुद्ध तथा बोन्पो क्यालेन्डर, तो ताँ सोफ, गुरुङ (नेपाली शब्दकोष, नेपाली शब्दकोष, तमु अवस्थाको परिचय, तमु राज्य व्यवस्थाको मूल आधार नालसभा, तमु सांस्कृतिक दिग्दर्शन, सेक क्वे । सेर्गा गीत) लगायत गुरुड भाषा, ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धी दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
२०४९ सालमा उनको पहिलो पुस्तक बजारमा आएको थियो । त्यो कृति गुरुङ पर्यावरण गीत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको हो ।
पञ्चायत कालमा तत्कालीन जिल्ला पञ्चायत लमजुङको दुई कार्यकाल उपसभापति भएका थिए । गुरुडले लमजुङको ऐतिहासिक थलो दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालय, भोर्लेटारको ईशानेश्वर माध्यमिक विद्यालय र गिलुङको बुद्धोदय माध्यमिक विद्यालयको अध्यक्ष भएर शिक्षा तथा चिनियाँ– तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्षको रूपमा सामाजिक काम गरेका थिए ।
उहाँले तीन वर्षअघि प्रेरणा, गुरुङ पर्यावरण गीत र शिवधर्म नामक तीनवटा पुस्तक एकैसाथ प्रकाशन गरेर नेपाली साहित्यको भण्डारलाई थप पोटिलो बनाएका थिए ।
गुरुङ शुभराज्याभिषेक पदक, प्राज्ञ मातृभाषा साहित्य पुरस्कारलगायत विभिन्न सम्मानबाट सम्मानित छन् । पछिल्लो समय दृष्टि कमजोर र श्रवणशक्ति गुमाएका गुरुङ दमकोसमेत बिरामी थिए ।
लमजुङको गिलुङका तत्कालीन निवासी शिरसुब्बा गुरुङ र चर्माखु गुरुङको कोखबाट वि.सं. १९९१ भदौ ३१ गते जन्मिएका गुरुङको ९२ वर्षको उमेरमा निधन भएको हो । उनका जेठा छोरा सुरेन्द्रकुमार गुरुङ बेलायतमा छन् । उनी त्यताबाट आएपछि उनको इच्छा अनुसार पार्थिव शरीर जन्म गाउँ लगेर गुरुङको परम्परागत संस्कृति अनुसार उनको अन्तिम संस्कार गरिने परिवारका सदस्यहरूले बताएका छन् ।
स्व. गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।






