मलेसियामा ७६९ नेपालीसहित ९० हजार भन्दाबढी अवैध आप्रवासी कामदार पक्राउ

काठमाडौं । मलेसियाली अध्यागमन विभाग (जेआईएम) ले सन २०२५ को डिसेम्बर २४ सम्म देशभरि सञ्चालन गरिएका १३ हजार ६७८ अपरेशनहरू मार्फत ९० हजार भन्दा बढी कागजात नभएका आप्रवासी कामदारहरूलाई पक्राउ गरेको छ।

मलेसियाली जेआईएमका उप–महानिर्देशक (अपरेसन) दातुक लोकमान एफेन्दी राम्लीका अनुसार ती अपरेसनका क्रममा कुल २ लाख ३५ हजार ३४३ जना विदेशी नागरिकको जाँच गरिएको थियो। जाँचमा संयुक्त राष्ट्रसंघीय शरणार्थी परिचय पत्रधारी ५ हजार २९४ जना पनि समावेश थिए।

उनका अनुसार विभागले प्रत्यक्ष सञ्चालन गरेका अपरेसनबाट ५० हजार ४७२ जना अवैध आप्रवासी पक्राउ परेका छन् भने ४१, हजार ३५७ जना मुख्य प्रवेश नाकाबाट तथा अन्य सुरक्षा निकायबाट हस्तान्तरण भएर नियन्त्रणमा लिएर राखिएको बताए। अपरेसनका क्रममा सबैभन्दा धेरै पक्राउ पर्नेमा इन्डोनेसियाली नागरिक रहेको उनले बताए।

जेआईएमले सार्वजानिक गरेको तथ्यांक अनुसार पक्राउ पर्नेमा इन्डोनेसियाका १५ हजार ३८५, बंगलादेशका ११ हजार १०५ , म्यानमारका ९ हजार ७८९, फिलिपिन्सका ४ हजार ३६५, पाकिस्तानका २ हजार ४९७, भारतका १ हजार ६३०, थाइल्यान्डका १ हजार ४९३, चीनका १ हजार ३८, भियतनामका ९ सय ९ र नेपाली नागरिक ७ सय ६९ जना रहेका छन्। अन्य विभिन्न देशका नागरिक पनि सूचीमा छन्।

यसैगरी,कागजात नभएका आप्रवासीहरूलाई काममा राख्ने वा आश्रय दिने रोजगारदाताहरूको सन्दर्भमा, पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै मलेसियाली नागरिकहरू २ हजार १२, बंगलादेशका रोजगारदाताहरू ३४, इन्डोनेसियाका २१ जनालाई पक्राउ गरिएको जनाएको छ । यस्तै पाकिस्तान, चीन, थाइल्याण्ड र म्यानमारका रोजगारदाताहरूलाई पनि हिरासतमा राखिएको छ।

यी कारबाहीहरू सार्वजनिक गुनासोहरू र कागजात नभएका आप्रवासीहरू सहित विदेशी कामदारहरूको लागि हटस्पटको रूपमा पहिचान गरिएका स्थानहरूमा सङ्कलन गरिएका गुप्तचर जानकारी पछि सञ्चालन गरिएको थियो। अध्यागमन विभागले कानून उल्लङ्घन गर्ने रोजगारदाताहरूलाई मुद्दा चलाउने छ भने कागजात नभएका आप्रवासी समस्यालाई सम्बोधन गर्न दृढ र प्रतिबद्ध रहेको जनाएको छ।

अहिले मलेसियाको जेलमा १ सय ६४ जना नेपाली विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार हत्या अभियोगमा १९ ,फौजदारीमा ३१,लागुऔषधमा २८, लागुऔषध र मिश्रित २१ र आप्रवासन सम्बन्धी मुद्धामा ६५ जना नेपाली रहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना