डुङ्गाको भरमा भविष्यः पुलको प्रतीक्षामा हर्दौना

कपिलवस्तु । कपिलवस्तुको दक्षिणी भेग, भारतसँग सीमा जोडिएको उर्वर भूभाग। धान, गहुँ र ऊखुका खेतबीच बगिरहने बाणगङ्गा नदी। यही नदीको किनारमा अवस्थित छ हर्दौना। महाराजगञ्ज नगरपालिका–१० को एक गाउँ, जसको नाम चुनावी मौसममा धेरै सुनिन्छ, तर चुनाव सकिएपछि प्रायः हराउँछ। कारण एउटै पुल।

वर्षौंदेखि हर्दौना र यशोधरा गाउँपालिका ८ को इटवा सुल्तनवापुर जोड्ने पुल निर्माणको विषय यहाँका बासिन्दाका लागि केवल विकासको प्रतीक मात्र होइन, जीवन र जोखिमबीचको सेतु हो। तर विडम्बना, यो सेतु अहिलेसम्म कागज र भाषणमै सीमित छ।

डुङ्गाको भरमा दैनिकी
बाणगङ्गा नदी पार गर्न हर्दौनावासी आज पनि डुङ्गाको सहारामा छन्। वर्षायाममा नदी उर्लँदा यो यात्रा अझ जोखिमपूर्ण बन्छ। विद्यालय जाने बालबालिका, बजार जानुपर्ने किसान, अस्पताल धाउनुपर्ने बिरामी सबैको जीवन नदीको बहावसँग जोडिएको छ।

स्थानीय एक बासिन्दा भन्छन्, “हर्दौनाको मुख्य समस्या नै पुल हो। पुल बने यो क्षेत्रको विकासले फड्को मार्छ। तर नेताहरूले पुलकै नाममा कयौँ पटक मत लिएर प्रतिबद्धता बिर्सिएका छन्।” उनका अनुसार आफू सानो हुँदादेखि नै यहाँ पुल बन्ने कुरा उठ्दै आएको हो। पुस्ता फेरियो, चुनाव फेरिए, तर पुल बनेन।

अर्का एक स्थानीयको अनुभव झन् पीडादायी छ। “चार–पाँच वर्षअघि पुल बन्ने भन्दै निर्माण सामग्रीसमेत खसालिएको थियो। चुनाव सकिएपछि सबै सामान उठाएर लगे। कसले र किन उठायो, थाहा भएन।” यो घटना हर्दौनावासीका लागि केवल निराशा मात्र होइन, अपमानको अनुभूति पनि बनेको छ।

पाँचगाउँको भविष्य अन्योलमा
तत्कालीन हर्दौना गाविस अन्तर्गत पर्ने पाँचगाउँ अहिले महाराजगञ्ज नगरपालिका १० मा समेटिएको छ। यो क्षेत्र भारतसँग सिमाना जोडिएको रणनीतिक भूभाग हो। उत्तरतर्फ कजरहवा हुँदै गैडहवासम्म पक्की सडक पुगेको छ। तर नदीमा पुल नहुँदा सदरमुकाम तौलिहवा पुग्न लामो घुमाउरो बाटो अपनाउनुपर्छ।

यदि हर्दौनामा पुल बने, तौलिहवा पुग्ने दूरी उल्लेख्य रूपमा छोटिनेछ। यसले व्यापार, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक गतिविधिमा सहजता ल्याउनेछ। स्थानीयवासीहरू भन्छन्, “हर्दौनामा पुल बने हर्दौना मात्र होइन, जिल्लाकै विकासले गति लिन्छ।”

छिमेकी घाटमा पुल, यहाँ आश्वासन मात्र
बाणगङ्गा नदीकै लक्ष्मणघाट, रामघाट, बिजगौरी र बर्गदीघाटमा पुल निर्माण भई सञ्चालनमा आइसकेका छन्। ती स्थानका बासिन्दाले पुलको प्रत्यक्ष लाभ लिइरहेका छन्। यातायात सहज, बजार पहुँच विस्तार, जग्गाको मूल्य वृद्धि, आपतकालीन सेवामा तीव्रता तर हर्दौना र खोरियाका बासिन्दा भने अझै प्रतीक्षामा छन्। उनीहरूको प्रश्न सरल छ “हाम्रो पालो कहिले?”

चुनावी भाषण र दोहोरिँदो इतिहास
यो क्षेत्रबाट लगातार चार पटक सांसद निर्वाचित भएका बृजेशकुमार गुप्ता दुई पटक मन्त्रि बनिसकेका सुरेन्द्रराज आचार्य पुन बिक्रम सिंह थापा र दृघनारायण पाण्डे सँग अहिले पुनः प्रतिस्पर्धामा छन्। अघिल्ला निर्वाचनहरूमा गुप्ता र आचार्यले हर्दौनामा पुल बनाउने प्रतिबद्धता जनाएका थिए। यसपालि पनि चुनावी सभामा पुलको विषय उठेको छ।

तर हर्दौनावासी अब भाषणभन्दा बढी कामको प्रतीक्षा गरिरहेका छन्। “अब पक्का पुल बन्छ, मलाई जिताउनुस्” भन्ने आग्रह उनीहरूले धेरै पटक सुने। तर जितपछि पुलको फाइल कहाँ पुग्छ, कसैलाई थाहा हुँदैन।

नदीको बहाव र बगरमा परिणत जमिन
पुल नबन्नु केवल आवागमनको समस्या मात्र होइन। बाणगङ्गा नदीले वर्षेनी बहाव परिवर्तन गर्दा हर्दौनाको करिब ३ सय बिघाभन्दा बढी उर्वर जमिन बगरमा परिणत भएको स्थानीयहरू बताउँछन्। यदि समयमै तटबन्ध र बहाव व्यवस्थापन गरिएको भए क्षति कम हुन सक्थ्यो।

एक स्थानीय भन्छन्, “नेताहरू गाउँमा आएर पुल बनाउने र नदीको बहाव मोड्ने आश्वासन दिन्छन्। तर निर्वाचनपछि सबै बिर्सिन्छन्।” बाढीको उच्च जोखिममा बस्दै आएका यहाँका बासिन्दाका लागि पुल निर्माणसँगै नदी व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ।

हर्दौनाको कथा केवल एउटा गाउँको कथा होइन; यो ग्रामीण विकास र चुनावी राजनीतिबीचको अन्तरको उदाहरण हो। पूर्वाधार विकासलाई चुनावी एजेन्डा बनाउने तर कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्तिले जनतामा अविश्वास बढाएको छ।

स्थानीय तहको पुनर्संरचनापछि नगरपालिकाको अधिकार र बजेट बढेको छ। संघीय र प्रदेश सरकारसँग समन्वय गरी यस्ता रणनीतिक पुल निर्माण गर्न सकिने आधारहरू छन्। प्रश्न केवल प्राथमिकताको हो।

हर्दौनावासीका लागि पुल केवल कंक्रिट र फलामको संरचना होइन। यो उनीहरूको सुरक्षित भविष्यको आशा हो। विद्यालय जाने बालकको निर्भय यात्रा, गर्भवती आमाको समयमै अस्पताल पुग्ने सम्भावना, किसानको उत्पादन बजारसम्म सहज रूपमा पु¥याउने बाटो यी सबै पुलसँग जोडिएका छन्। चुनाव फेरि नजिकिँदैछ। सभा, जुलुस, घोषणापत्र र भाषणको लहर फेरि चल्नेछ। तर यसपटक हर्दौनावासीले वाचा होइन, कार्यान्वयनको स्पष्ट योजना, समयसीमा र बजेटको सुनिश्चितता खोजिरहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार