धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले धनकुटाको जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई कारबाही गरेको नेकपा एमाले धनकुटा प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि साधारण सदस्य नरहने गरि कारबाही गरिएको हो ।
राई २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट साँगुरीगढी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएकी हुन् । उनी एमाले धनकुटा जिल्ला कमिटी सदस्य समेत रहेकी थिइन् । उपाध्यक्ष राईले चुनावमा नेपाली कांग्रेसको पक्षमा लागेर एमालेलाई असहयोग गरेको आरोप लागेको प्रचार विभाग प्रमुख कटेलले जानकारी दिए । उनलाई कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको जनाएको छ ।
पार्टीले कारवाही गरेपछि उनको पद धरापमा परेको बताउने गरिएको छ । पार्टीले कारबाही गरेपछि जनप्रतिनिधिको पद रहने वा नरहने निर्वाचन आयोगले निर्णय गर्नेछ । यद्यपी कतिपय जनप्रतिनिधिलाई पार्टीले कारबाही गरेपछि आयोगले जनप्रतिनिधिको पदबाट पनि हटाउँदा अदालत आयोगको निर्णय उल्टाउने गरेको नजिर पनि रहेको रहेको छ ।
त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन् ।
यता आफूलाई गरिएको भनिएको कारबाही’bout प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताइन् । उनले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन् ।






