काठमाडौ । कम्बोडियामा अलपत्र परेका र गैरकानुनी गतिविधिमा संलग्न भएका नेपाली नागरिकको अवस्था’bout नेपाली दूतावासले गम्भीर ध्यानाकर्षण जनाउँदै उद्धार तथा सचेतना अभियान तीव्र बनाएको छ। थाइल्याण्डस्थित दूतावासले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार, विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका नेपालीहरू अनलाइन स्क्यामिङ लगायतका गैरकानुनी कार्यमा फस्ने क्रम बढ्दो छ।
बिहिबार मात्र दूतावासले २० जना नेपाली नागरिकलाई उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काइएको छ। उनीहरूलाई दूतावासले आवासीय नेपाली संघको समन्वय र स्थानीय सरकारी निकायको सहयोगमा नेपाल पठाइएको दूतावासले जनाएको छ। यसैगरी अन्य समस्यामा परेका नेपालीहरूको पहिचान र उद्धार प्रक्रिया पनि निरन्तर जारी रहेको छ।
विज्ञप्तिमा भनिएको छ कि धेरै नेपालीहरू आकर्षक तलब र सहज रोजगारीको प्रलोभनमा परेर थाइल्याण्ड पुगेपछि अनलाइन ठगी (स्क्यामिङ) जस्ता गैरकानुनी काममा जबरजस्ती संलग्न गराइएका छन्। कतिपय अवस्थामा उनीहरूको राहदानी जफत गरिन्छ र स्वतन्त्र रूपमा आवतजावत गर्न नपाउने अवस्था समेत देखिएको छ।
यसका लागि दूतावासले पीडित नेपालीलाई निःशुल्क ‘वन–वे ट्राभल परमिट’ (एकतर्फी यात्रा अनुमति पत्र) जारी गर्ने व्यवस्था मिलाएको छ। त्यसैगरी, पीडित नेपालीहरूलाई तत्काल सम्पर्कमा आउन र सहयोग लिन दूतावासले अनुरोध गरेको छ।
दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन र वैधानिक प्रक्रिया पूरा नगरी वैदेशिक रोजगारीमा नजान चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “छोटो समयमा धेरै कमाउने लोभमा गैरकानुनी बाटो रोज्दा जीवन र स्वतन्त्रता दुबै गम्भीर जोखिममा पर्न सक्छ।”
पर्यटन तथ्यांकअनुसार, पछिल्ला वर्षहरूमा नेपालीहरूको कम्बोडियामा यात्रा उल्लेखनीय रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया पुगेकोमा, सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,१४०, सन् २०२४ मा ६,५०४ र सन् २०२५ मा ६,६७६ जना पुगेका छन्।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले सबैमा अनुरोध गरेको छ ।केहि दिन अघि मात्र कम्बोडियाबाट २१ जना नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थियो।






