काठमाडौं । सर्लाहीमा भारतीय नागरिकहरुको समूह जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा यो घटना भएको हो ।
३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टोलीले सुरुमा उनीहरुलाई फर्काएको थियो । तर सो समूहले पछि ठूलो संख्या भारतीय नागरिक ल्याई हुलहुज्जत गरी हतियार खोस्ने प्रयास गरेका थिए । त्यसपछि सशस्त्रले एक राउन्ड हवाई फायर गरेको हो । हवाइ फायरपछि भारतीय नागरिक भागेका थिए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले सुरुमा नेपाल आउन खोजेको समूह भारतीय तस्कर भएको र उनीहरु नेपालतर्फ सामान लिएर आउन लागेको जनाए ।
‘उनीहरुलाई सुरुमा सीमामा खटिएको सशस्त्रको टोलीले रोक्यो । त्यसपछि उनीहरु फर्किए, आज विहान करिब ६ बजेतिर भने त्यो समूहले ठूलो संख्यामा भारतीय नागरिकलाई ल्याई हाम्रा सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजे, त्यसपछि सशस्त्रले हवाई फायर गरेर उनीहरुलाई भगाए,’ प्रमुख जिल्ला अधिकारी जीसीले भने ।






