कांग्रेस संसदीय दलको नेता चयनमा सकस

काठमाडौं । निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दासमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्रको आन्तरिक टकराब एवं शक्ति संघर्षले दल नेता चयनमा सकस भएको हो । सहमतिका नाममा निर्वाचन कार्यसमेत रोकिएको छ । निर्वाचन कार्य रोकिएपछि दलको नेता चयन अनिश्चित बनेको छ ।

सर्वसम्मतिको प्रयास असफल भएपछि कांग्रेसले दलको नेता चयन गर्नका लागि शुक्रबार निर्वाचनबाटै छनोट गर्ने प्रक्रियासमेत स्थगित गरेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दलको नेता बन्ने दौडधुपमा रहेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापाको ससुरा समेत रहेका केसी सर्वसम्मतबाटै दलको नेता बन्न चाहन्छन् । निर्वाचनबाट दलको नेता छनोट गर्ने अवस्था आए निर्वाचन प्रक्रियामा सहभागी नहुने बताउँदै आएका केसी दलको नेता छिट्टै चयन हुनुपर्ने बताउँछन् । केसीले ज्येष्ठ सदस्यको हैसियतमा अन्य सांसदहरूलाई सपथ खुवाएका थिए भने सभामुख चयनपूर्व सदनसमेत चलाएका थिए ।

आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मासहित निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला समूहको समेत समर्थन रहेको छ । आचार्यलाई भने सभापति थापाले समर्थन गरेका छन् । आचार्य विशेष महाधिवेशन र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर नेता हुन् । कांग्रेसको १४औं महाधिवेशनमा आङ्देम्बे देउवा पक्षबाट सहमहामन्त्रीमा र आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेसले संसदीय दलको नेता चयनमा ढिलाइ गर्दा संवैधानिक परिषद्समेत अपूर्ण छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ, जहाँ प्रतिनिधिसभाको विपक्षी दलका नेता सदस्य हुन्छन् । प्रधानमन्त्रीको अध्यक्षतामा हुने ६ सदस्यीय परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुन्छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसको दलको नेता संवैधानिक परिषद् सदस्य हुनेछन् । परिषद्ले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्नेछ ।

तर कांग्रेसले दलको नेता चयन गर्नमा अझै सर्वसम्मतको प्रयास जारी राखेको छ । निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास भए पनि आकांक्षीले अडान नछाडेपछि शीर्ष नेतृत्व नै दबाबमा परेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समन्वय समितिले सहमतिको प्रयास जारी राखेको छ । उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेको समन्वय समितिले सहमति जुटाउन आकांक्षीसँग संवाद गरिरहेको छ ।

कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथि आएका चुनौती सामना गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको स्नेहीले बताए ।

सोमबार (आज) पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको बताउँदै स्नेहीले बैठकमा सभापति थापाले सर्वसम्मत प्रस्ताव पेस गर्ने बताए । सभापति थापाको प्रस्तावअनुसार दलको नेता चयन गर्दै निर्वाचन समितिले निर्वाचित भएको घोषणा गर्ने उनले बताए ।

विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिले सर्वोच्चबाट मान्यता पाएपछि कांग्रेसको विवाद थप जटिल देखिएको छ । १४औं महाधिवेशन पक्षधरले निवर्तमान केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको भेलासमेत बोलाएको छ । देउवा समूहले पार्टीमा समानान्तर गतिविधि गर्दै आएको छ । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसले दलको नेता चयनका लागि सर्वसम्मतको नाममा ढिलाइ गर्दै आएको छ । दलको नेता चयनका लागि काठमाडौं उपत्यका बाहिर रहेका सांसदलाई गत सोमबारसम्ममा काठमाडौं आइपुग्न यसअघि सूचना गरिएको थियो ।

प्रतिनिधिसभामा ३८ सिट रहेकोमा सभापति थापा समूहका १६ जना मात्रै सांसद रहेका छन् । देउवा समूहसँग १५ र कोइराला समूहसँग ७ जना सांसद रहेका छन् । कोइराला समूहका सांसद जुन समूहमा जान्छ उही समूहका नेता दलको नेता हुने निश्चित छ । थापा र देउवा समूहले कोइराला समूहलाई फकाउँदै विभिन्न आश्वासन दिइरहेको छ । पछिल्लो समय देउवा समूहसँगै रहेको कोइराला समूहले केही समययता देउवा समूहसँग सम्बन्ध विच्छेद गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’