मुम्बई । आदित्य धरको चलचित्र ‘धुरन्धर २’ यसले विश्वव्यापी रूपमा १७५० करोड रुपैयाँको व्यापार गरिसकेको छ । भारतमा सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड ‘धुरन्धर–२’ले राखेको छ । यसै बिच यो चलचित्रको क्लाइमेक्सको ट्यांकर विस्फोट दृश्यले निकै चर्चा पाएको छ ।
यो चलचित्रमा डरलाग्दा एक्सन दृश्यहरू र प्रभावशाली सेट पिसहरू छन् । यो पनि चलचित्रको आकर्षण बनेको छ । चलचित्रका एक्सन दृश्यहरू भिएफएक्स तथा सिजीआई नगरेर वास्तविक रूपमा छायांकन गरिएको सुपरभाइजर विशाल त्यागिले बताएका छन् ।
यो चलचित्रमा रहेका सबै विस्फोटहरू वास्तविक रूपमा गराइएको उनले खुलासा गरेका छन् । ‘धुरन्धर २’ मा रणवीर सिंह र अर्जुन रामपाललाई प्रस्तुत गरिएको निकै डरलाग्दो क्लाइमेक्स दृश्यमा विस्फोट सहित आगोको ठुलो मुस्लो देखाउनको लागि एक पटकमै ५०० लिटर पेट्रोल प्रयोग गरेर विस्फोट गराइएको पनि विशालले बताएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा विशालले यो चलचित्रका सबै एक्सनका दृश्यहरू लाइभ गर्ने भनेर निर्माता निर्देशकसँग सम्झौता भएको पनि खुलाए । एक्सनका दृश्यहरू सिजीआईको मद्दतले ठुला देखाउन सकिने प्रस्ताव आफूले राख्दा पनि निर्देशक आदित्यले ‘धुरन्धर २’ सबै एक्सनहरू लाइभ गर्न निर्देशन दिएको पनि उनले स्पष्ट । सो ’bout विशालले भने, ‘आदित्य धरले म चलचित्रको क्लाईमेक्स तथा एक्सन फाइटमा कुनै एनिमेसन र सिजीआई प्रयोग गर्न चाहन्न । विशेष गरी विस्फोटहरू त मलाई लाइभ चाहिन्छ र अन्तिममा ट्यांकर नै विस्फोट गर्नु पर्छ भनेपछि मैले सहजै स्विकारेँ ।’
इन्धन भरिएको ट्यांकर विस्फोट गर्नु सुरक्षाका कारण आफ्नो लागि सबैभन्दा गाह्रो भएको पनि उनले बताए । ५०० लिटर पेट्रोल भरिएको ट्यांकर विस्फोट गराउँदा त्यति बेला उडेका सबै टुक्राहरू वास्तविक भएको पनि उनले बताए । रणवीर विस्फोट स्थलको केही नजिक हिँडिरहेको तर उनलाई कुनै पनि असर नपरेको पनि विशालले बताए । जसको लागि आफूहरूले पूर्ण सावधानीका सबै उपकरणहरू प्रयोग गरेको पनि उनले जानकारी गराए ।
विशालले भने, ‘म निर्माणबाट धेरै दबाबमा थिएँ । विस्फोटको लागि मैले वास्तविक रेल र कन्टेनरहरू समेत प्रयोग गरेँ । त्यहाँ पनि ठुलो मात्रामा पेट्रोल खर्च भयो’, उनले अगाडि थपे, ‘निर्माण टोलीले मलाई एउटा विस्फोटको लागि २५० लिटर पेट्रोल प्रयोग गर्न भन्यो, तर मैले २५ किलोग्राम विस्फोट सामग्री सहित कम्तीमा ५०० लिटर पेट्रोल चाहिन्छ भनेपछि निर्माण पक्षले मेरो माग पुरा ग¥यो र विस्फोट पनि भयंकर देखियो ।’-एजेन्सी














