आज बिहान मलाई कल आयो, ‘दिदी मेरो दाइलाई एकदम गाह्रो भएको छ, दाइ गाउँमा हुनुहुन्छ, श्वास फेर्न गाह्रो, निद्रा नलाग्ने, छटपटी हुने, टाउको भारी हुने, डर लाग्ने भएको छ रे के गर्ने ?’ मैले भनें, ‘ठीक छ, मलाई कल गर्न भन्नू ।’ त्यसपछि कल आयो । मैले सब कुरा गरें, सोधें, परिचय लिएँ । त्यसपछि कुरा गर्दै जाँदा के पाएँ भने कोरोनाको डर भगाउन रक्सी दिनहुँ खाने गरेका रहेछन् । कोरोनाले यस्तो भइसक्यो, के होला, कसो होला भन्ने कुरा आउँदा रक्सी धेरै भएको बताए । कोरोनाको कारणले गर्दा कतिपय मानिसले रक्सीलाई साथी बनाएको मैले पाएकी छु । रक्सीले चिन्ता कम गर्छ, तनाव हटाउँछ । त्यसैले खाएको भन्ने धेरै छन् तर रक्सीले तनाव हटाउने होइन, बरु बिस्तारै उदासीनताको समस्या ल्याउँछ ।

हाम्रो देश नेपालमा कोरोना संक्रमित बढ्दै छ । दिनदिनै कोरोना संक्रमित बढेकाले मानिसमा डरत्रास हुनु स्वाभाविक हो तर यसका कारणले गर्दा कतिपय मानिस दुव्र्यसनीमा परेका छन् । रक्सी खाएपछि कोरोनाले छुदैन भन्ने भ्रम हामीले पालेका छौं । तर, यो शतप्रतिशत गलत हो । हामीले कोरोनाबाट बच्न रक्सी होइन, सरसफाइमा ध्यान दिनुपर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ । मास्कको प्रयोग गर्नुपर्दछ । रक्सीले कोरोनाबाट बचाउँदैन । यसले हाम्रो रोगसँग लड्न सक्ने क्षमाता घटाइदिन्छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।

रक्सीले कोरोना संक्रमण रोक्ने होइन, बरु रोगसँग लड्न सक्ने क्षमता घटाइदिन्छ

रक्सी एउटा खानामा पर्दछ । यसमा क्यालोरी हुन्छ तर यसमा पौष्टिक हुँदैन । यो एक मादक पदार्थ हो । हामीले खाएको खाना आमाशयले पचाउन समय लगाउँछ तर रक्सी निकै छिटो सोस्ने गर्दछ । रक्सी सेवन गर्ने बित्तिकै करिब २० प्रतिशत अल्कोहल तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ । तत्पश्चात् शरीरका सबै कोष र कोषिकामा प्रवाह हुन्छ । जसलाई हामी ‘रक्सी लाग्नु’ भनेर बुझ्छौं । रक्सी लागिसकेपछि सेवनकर्ताले समाज, संस्कृति, नीति, मान्यता एवं दिमागी सन्तुलन गुमाउँछ । तत्पश्चात् सेवनकर्ता आपराधिक गतिविधि गालीगलौज, होहल्ला, कुटपाट, लडाइँझगडा, चोरीडकैतीको अवस्थामा पुग्दछ । दुर्घटना निम्त्याउन पुग्दछ ।

विज्ञान भन्छ, ‘रक्सी मानिसको दिमागलाई डिप्रेसन बनाउने तथा लत लगाउने एक प्रकारको लागू औषध हो ।’ रक्सी सेवनकर्ताको कन्द्रीय स्नायु प्रणालीको गति कम गराई मस्तिष्कका विभिन्न कोषहरूबीचको पारस्परिक सम्बन्ध निर्माणमा तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशीलतामा क्षयीकरण भई मानिस अव्यवस्थित, अव्यावहारिक र अस्वाभाविक बन्ने गर्दछ । अत्यधिक रक्सी सेवनका कारण पारिवारिक, सामाजिक र आर्थिक हैसियत निर्माणमा सेवनकर्ता पछाडि पर्ने गर्दछ । साथै, सामाजिक तवरले अराजक, अनैतिक, असभ्य एवं गैरजिम्मेवार बन्न पुग्छ ।

त्यसैले, मदिरा प्रयोग नगरांै । यदि हामी यो लतमा छौं भने यो उत्तम समय हो किनकि अहिले हामी पार्टी समारोहमा जानुपर्दैन, वनभोज कार्यक्रम हुँदैन । त्यसैले, यो समयको सदुपयोग गरी आफू र आफ्नो मान्छेलाई यो लतबाट छुटाउन प्रयास गरौं । जो मानिस मदिराको लतमा परेको छ, त्यसको कारण पत्ता लगाउने र समयमै उपचार गराऔं । यसका लागि हामीले मनोचिकित्सक र मनोविमर्शकर्ताको सहयोग लिन सक्छौं ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार