रास्वपाको केन्द्रीय समिति विघटन

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । रास्वपाले पूर्वघोषणाबमोजिम विभिन्न तहका अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि छनोटमा जुटेसँगै मूल आयोजक समिति गठन गरेको हो ।

रविको संयोजकत्वमा मूल आयोजक समिति गठन

प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन ७, ८ र ९ असारमा चितवनमा गर्दैछ । चितवनमा हुने सो महाधिवेशनबाट नयाँ नेतृत्वसहित पार्टीलाई थप बलियो बनाउँदै अगाडि बढ्ने रणनीतिमा नेताहरू छन् ।

पार्टी स्थापनाको चार वर्ष नपुग्दै हुन लागेको महाधिवेशनबाट पार्टी सभापति को हुने चर्चाको विषय बनेको छ । अहिले पार्टी सभापति रवि लामिछाने र सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

लामिछानेको अध्यक्षतामा गठन भएको मूल आयोजक समितिको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली तथा सागर ढकाल रहेका छन् ।

यसका साथै पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरू तथा सबै प्रदेश सभापति समितिका सभापतिलाई समेत मूल आयोजक समितिको सदस्य राखिएको छ । यसअघि नै विभिन्न समिति, उपसमिति गठन गरेर रास्वपा महाधिवेशनलाई सफल बढाउन अगाडि बढेको छ ।

महाधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । वडा, पालिकाको अधिवेशनसहित रास्वपाले २३ र २४ जेठमा जिल्ला अधिवेशन, २६ जेठदेखि १ असारसम्ममा सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

२६ जेठमा बागमती प्रदेश, २७ जेठमा कोशी प्रदेश, २८ गते मधेस प्रदेश, २९ गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ । त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुने कार्यतालिका रास्वपाको छ ।

मौजुदा केन्द्रीय समितिमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्षसहित १२९ सदस्यीय केन्द्रीय सदस्य छन् । रास्वपाको केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ ।

महाधिवेशनको आन्तरिक तयारीमा जुटेको रास्वपाले आइतबार राति भर्चुअल माध्यमबाट सचिवालयको बैठक बसेको थियो । पार्टी संयोजक लामिछाने भारत भ्रमणमा जानुभन्दा अघि बसेको सचिवालय बैठकमा विभिन्न विषयमा गम्भीर छलफल भएको छ ।

समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीसहित विविध विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन