जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।
लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताएका छन् । निलम्बनमा परेकाहरुमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी रहेका छन् ।
यी चारै जना सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिए । आर्थिक लाभ लिएर भारतबाट सामान ओहोरदोहोरमा सहयोग पु-याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।