कपिलवस्तु । कपिलवस्तु कारागारको २ नम्बर ब्लकमा रहेका कैदीबन्दीले सोमबार दिउँसोदेखि कारागारको भित्री भाग आफ्नो नियन्त्रणमा लिएका छन्। दिउँसो करिब २ बजेदेखि सुरु भएको घटनापछि कारागारभित्र तनाव उत्पन्न भएको छ भने जिल्ला सुरक्षा समितिले वार्तामार्फत अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ।
आन्दोलनरत कैदीबन्दीका प्रतिनिधि नारायण वलीले कारागार प्रशासनबाट लामो समयदेखि हुँदै आएको भनिएको ज्यादती, दुर्व्यवहार र सेवा–सुविधामा भइरहेको अनियमितताविरुद्ध आफूहरू आन्दोलनमा उत्रिएको दाबी गरेका छन्। उनीहरूका अनुसार २ नम्बर ब्लकका मूलनाइके केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुलाई भित्रै नियन्त्रणमा राखिएको छ।
कैदीबन्दीको आरोपअनुसार कारागारका चौकीदार दामोदर थारु तथा मूलनाइके नेतृत्वको समूहले शनिबार चार जना कैदीबन्दीमाथि कुटपिट गरेको थियो। मोहम्मद हनिफ मुसलमान, सुजन विक, निरज कार्की र हबिबुर रहमानलाई ठूलो आवाजमा गीत बजाएर बोरा भित्र राखी मुखमा कपडा कोची निर्घात कुटपिट गरिएको उनीहरूको दाबी छ। सोही घटनापछि २ नम्बर ब्लकभित्र कैदीबन्दीबीच विवाद चर्किँदै गएको बताइएको छ।
आन्दोलनरत पक्षले सरकारले निर्धारण गरेको राशन तथा अन्य सुविधा पूर्ण रूपमा उपलब्ध नगरिएको, कारागारभित्र सञ्चालित क्यान्टिनमा अत्यधिक मूल्य असुल्ने गरिएको तथा विरोध गर्ने कैदीबन्दीमाथि दमन र दुर्व्यवहार हुने गरेको आरोप पनि लगाएका छन्।
कैदीबन्दीहरूले १८ बुँदे माग अघि सार्दै सम्बन्धित आन्तरिक कारागार प्रशासनलाई हटाउनुपर्ने, सरकारले उपलब्ध गराउँदै आएको सेवा सुविधामा कुनै कटौती गर्न नपाइनेलगायतका माग राखेका छन्। घटनापछि जिल्ला सुरक्षा समितिले उच्च सतर्कता अपनाएको छ भने सम्बन्धित पक्षबीच वार्ता जारी रहेको जनाइएको छ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भने कैदीबन्दीबीच सामान्य विवाद भएको र त्यसलाई समाधान गर्ने प्रक्रिया चलिरहेको जनाएको छ। प्रहरीका अनुसार घटनाका क्रममा हालसम्म कुनै पनि व्यक्ति घाइते भएको जानकारी प्राप्त भएको छैन।
कपिलवस्तु कारागारका दुईवटा ब्लकमा गरी करिब ४ सय कैदीबन्दी रहेका छन्। घटनाको वास्तविक कारण र आन्दोलनरत कैदीबन्दीले उठाएका आरोप’bout सम्बन्धित निकायबाट थप अनुसन्धान तथा छलफल जारी रहेको जनाइएको छ।
सम्बन्धित समाचार
घरदैलोमै स्वास्थ्य सेवा, हजारौंले पाए उपचार
बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
उजुरीपछि अख्तियारको छापा
टरिगाउँ विमानस्थललाई हालसम्मकै ठूलो बजेट विनियोजन
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
लुम्बिनी प्रदेशमै उत्कृष्ट बन्यो शिवराज अस्पताल
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी धान रोपाइँ






