सुर्खेत । गत शनिबार बिहान डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठजना कैदीबन्दी हालसम्म फेला नपरेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
विकट भौगोलिक अवस्था रहेको डोल्पामा भागेका आठै जना कहाँ लुकेर बसेका छन, सामान्य जानकारीसमेत प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भागेका आठ कैदीमध्ये पाँचजना जबर्जस्तीकरणी र तीनजना चोरी मुद्दाका हुन् ।
उनीहरुमध्ये दुईजना थुनुवा हुन् भने बाँकी कैदी हुन् । तीनजना पुर्पक्षका लागि थुनामा आएका थिए । उनीहरुको मुद्दा जिल्ला अदालतमा चलिरहेको थियो । मन्दिरको दानपेटिका चोरी आरोपमा पक्राउ परेका कैदीसमेत भागेको एसएसपी राठौरले जनाकारी दिए ।
‘डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया, २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा, जाजरकोटको ’boutकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, सोही नगरपालिकाको वडा नम्बर १० का ३२ वर्षीय रामबहादुर कामी, वडा नम्बर ३ का ३२ वर्षीय निशान भन्ने अदेश भण्डारी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना सूरुङ खनेर फरार भएका छन् ।’ उनले भने, ‘अहिले उनिहरुको खोजी कार्यका लागि हिजो आइतबार २९० जना खटिएका छन्,’ उनले भने ।
राठाैरले प्रहरीले शंकास्पद रुपमा दुई जनालाई आइतबार नियन्त्रणमा लिइएको बताए । ‘शंका लागेका व्यत्तिःलाई नियन्त्रणमा लिने, भेरिफाइ गर्ने र छोड्ने कार्य भइरहेको छ,’ उनले भने, ‘हिजो मात्रै दुईजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अनुसन्धान हुँदैछ ।’








