सङ्खुवासभाको चैनपुरमा ८ सय ६२ जग्गाधनीलाई लालपुर्जा वितरण

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलेका ८ सय ६२ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । २०५९ साल वैशाख १४ गते तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता श्रेस्ता (मोठ) तथा अन्य महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए ।

चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालय आगजनीबाट अभिलेख नष्ट भएका ८ सय ६२ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका चैनपुर नगरपालिका–१० का ८ सय ६२ जना जग्गाधनीका लागि आवश्यक नापनक्सा तथा कानुनी प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले बताए ।

द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका लालपुर्जा करिब २४ वर्षपछि स्थानीयले पाएका छन् । आगजनी गर्दा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्तालगायतका महत्त्वपूर्ण कागज पत्र नष्ट भएका थिए । चैनपुर –१० का लालपुर्जा एक हजार १ सय ५१ हेक्टर निजी र सरकारी कित्ताका ८ सय ४० हेक्टर जग्गाको नाजजाँच सकेक लालपुर्जा वितरण गरिएको विशेष नापी प्रमुख नेपालले बताए ।

लालपुर्जा प्राप्त गरेपछि जग्गाको किनबेच, बैंकिङ कारोबार, घर निर्माण तथा अन्य प्रशासनिक काममा सहजता भएको छ । २०७६ माघ १३ को मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको हो । हाल यस कार्यालयअन्तर्गत २ वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप नक्सा तथा जग्गा दर्ताको कार्य भइरहेको छ ।

चैनपुर नगरको ३,५, ७, ८, ९, १० र ११ मा नापनक्सा सकिएको विशेष नापी कार्यालय चैनपुरले जनाएको छ । यस मध्ये ८,९ र १० वडाको लालपुर्जा समेत वितरण भइसकेको छ । नपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिका सहित चार स्थानीय तहको ६४ हजार हेक्टर क्षेत्रमा २ टोलीबाट नापी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म