दाङ । केही वर्षअघिसम्म प्रेमबहादुर कुमालको दिनचर्या माटाका गाग्री, हाँडी र भुर्का बनाउनमै बित्थ्यो। अहिले भने उहाँ प्रायः माटाका प्लेट र कप मात्रै बनाउनुहुन्छ। बजारको माग फेरिएसँगै पुस्तौँदेखि अपनाउँदै आएको कुमाले पेसाले पनि नयाँ स्वरूप लिन थालेको छ।
तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीका प्रेमबहादुर भन्छन्, “पहिले गाग्री, भुर्का र हाँडीको निकै माग हुन्थ्यो, अहिले बजारमा प्लास्टिकका भाँडा सजिलै पाइने भएकाले ती सामग्रीको माग घटेको छ। बरु अहिले माटाका प्लेट र कपको माग बढ्दो छ।”
पछिल्लो समय विभिन्न स्थानमा ‘मट्का चिया’ पसल खुल्न थालेपछि माटाका कपको माग उल्लेख्य रूपमा बढेको उनको अनुभव छ। चियासँगै माटोको स्वाद र वातावरण खोज्ने ग्राहक बढेकाले आफूहरूले उत्पादन गरेको सामग्री बजारमा सहजै बिक्री हुने गरेको उनी बताउँछन्।
“माग धेरै आउँछ, केही होटल सञ्चालकले त ‘यतै आएर बनाए पनि हुन्छ’ भनेर कोठासमेत दिने प्रस्ताव गर्नुहुन्छ”, उनले भने, “तर जनशक्ति अभावका कारण मागअनुसार उत्पादन गर्न सकिरहेका छैनौँ ।”
प्लेट र कपसँगै अहिले माटाका गमला तथा सजावटका लागि प्रयोग हुने घोडालगायतका मूर्ति बनाउन पनि अर्डर आउने गरेको छ। यसले परम्परागत कुमालको पेसामा नयाँ सम्भावनाको सङ्केत देखाए पनि दक्ष जनशक्तिको अभाव भने मुख्य चुनौती बनेको छ।
कविराम कुमालका अनुसार नयाँ पुस्ताको घट्दो आकर्षणले यो पेसाको भविष्यप्रति चिन्ता बढाएको छ। “माग त पर्याप्त छ, तर यो पेसा अहिले पनि हामीजस्ता पुरानै पुस्ताले धानेका छौँ”, उनले भने, “नयाँ पुस्ताले अपेक्षाअनुसार चासो नदिँदा यो पेसा सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता लाग्छ, यद्यपि केही युवाले सिक्ने प्रयास भने गरिरहेका छन्।”
गरिबी निवारण कोषबाट प्राप्त ‘ग्लेजिङ’ मेसिनले उत्पादनको गुणस्तर सुधार्न सहयोग पुगेको छ। त्यसैगरी हस्तकला महासङ्घले दिएको तालिमपछि यहाँका कुमाल समुदायले आधुनिक डिजाइनका प्लेट, कप र अन्य सामग्री बनाउन सिकेका हुन्। तर उत्पादनको मूल्य निर्धारण गर्ने कुनै मापदण्ड नहुँदा बिक्री मूल्य भने ग्राहकसँगको समझदारीमै निर्भर रहने गरेको उनीहरूको भनाइ छ।
“हामीले बनाएका माटाका भाँडाको निश्चित मूल्य छैन”, कविरामले भने, “त्यसैले अनुमान र बार्गेनिङकै आधारमा बिक्री गर्नुपर्छ।” कुनै समय करिब ६० परिवारले बसोबास गर्ने यस कुमाल बस्तीमा अहिले १०–११ परिवार मात्रै सक्रिय रूपमा माटाका भाँडा बनाउने पेसामा संलग्न छन्। बजारको माग बढे पनि पेसामा संलग्न हुने जनशक्ति भने घट्दै गएको छ।
कच्चापदार्थको अभाव अर्को समस्या बनेको छ। अहिले उनीहरूले तुलसीपुर–७ को कालोखोला क्षेत्रबाट माटो ल्याउने गरेका छन्। तर त्यहाँबाट माटो निकाल्ने विषयमा स्थानीयसँग पटक–पटक विवाद हुने गरेको उनीहरूको गुनासो छ। आवश्यक गुणस्तरको माटो सहज रूपमा उपलब्ध हुन नसक्दा उत्पादनमा असर पर्ने गरेको कुमाल समुदायको भनाइ छ।
बजारको आवश्यकता बदलिँदै जाँदा कुमालको पेसाले पनि आफूलाई समय अनुकूल ढाल्ने प्रयास गरिरहेको छ। परम्परागत गाग्री र हाँडीको स्थान अहिले प्लेट, कप र सजावटी सामग्रीले लिन थालेका छन्। तर यो पुस्तौँ पुरानो सीपलाई दीर्घकालसम्म जोगाइराख्न नयाँ पुस्ताको सहभागिता, कच्चापदार्थको सहज उपलब्धता र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु आवश्यक देखिन्छ।
सम्बन्धित समाचार
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी धान रोपाइँ
‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने
रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ






