वृक्षारोपणमा जुट्दै राउटे समुदाय

सुर्खेत । घुमन्ते फिरन्ते जीवन बिताउने र रूख काटेर काठका भाँडा–कुँडा बनाउने समुदायका रूपमा चिनिएका राउटे समुदाय वृक्षारोपण गर्नतर्फ अग्रसर हुन थालेका छन् । अहिले नयाँ परिचय बनाउँदै छन् । पुस्तौंदेखि वनलाई जीविकोपार्जनको आधार बनाउँदै आएका उनीहरू अहिले त्यही वन जोगाउने अभियानमा पनि सक्रिय देखिन थालेका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोलास्थित चोल्पा चौतारा सामुदायिक वनमा शनिवार यस्तै दृश्य देखियो । राउटे बस्तीबाट करिब एक किलोमिटर टाढा रहेको वन क्षेत्रमा समुदायका करिब ४० जना सदस्यले सामूहिक रूपमा पाँच सय बिरुवा रोपेका छन् । रिठा, बकैना, इपिलिपि तथा विभिन्न फूल प्रजातिका बिरुवा रोप्दै उनीहरूले वन संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक समय जहाँ राउटे बस्ती पुग्थ्यो, त्यहाँका रूख काटिने गरेको धारणा समाजमा गहिरोसँग बसेको थियो । उनीहरूको दैनिक जीवन नै काठका कोसी, मदुस, पिर्का लगायतका सामग्री निर्माणमा निर्भर थियो । त्यसैले राउटेलाई वनको उपभोक्ताका रूपमा मात्र हेरिन्थ्यो । तर अहिले त्यही समुदायले आफूले उपयोग गर्ने वनलाई जोगाउने र नयाँ बिरुवा हुर्काउने जिम्मेवारी पनि लिन थालेको छ ।

बाहिरका (दुनिया) समुदायले राउटेले रुख मात्र काट्छ रोप्दैन भन्छ अब हामीले पनि रुख रोप्न थालेको राउटे समुदायका युवा नविन शाही बताउँछन् । उनी भन्छन्, ‘धेरैले राउटेले रूख मात्रै काट्छ भन्छ । अहिले हामी जहाँ–जहाँ बस्छौँ, वर्षाको समयमा बिरुवा पनि रोप्छौँ । पहिले यस्तो गर्दैनथ्यौँ । सोसेकले वन संरक्षणको महत्व बुझाएपछि बिरुवा रोप्न थालेका हौँ ।’

राउटे समुदायको यो परिवर्तन आकस्मिक भने होइन । पछिल्ला केही वर्षदेखि उनीहरूले बस्ती पुगेका क्षेत्रमा नियमित वृक्षारोपण गर्दै आएका छन् । २०७६ सालमा दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजार नजिक टिमुर, उत्तिस र गुराँसका बिरुवा रोपेर सुरु भएको अभियान त्यसपछि सुर्खेतको लेकवेँसी नगरपालिका–९ मा पुग्यो । तेस्रो चरणमा सिम्ता गाउँपालिकाको भिउचुला सामुदायिक वनमा टुनी, गुराँस, दुधुलो र सिमलका बिरुवा रोपिए । यस वर्ष चोल्पा चौतारा सामुदायिक वनमा गरिएको वृक्षारोपण उनीहरूको चौथो अभियान बनेको छ ।

यस अभियानमा डिभिजन वन कार्यालय, सुर्खेतको सहयोग तथा सोसेक नेपालको सहजीकरण रहेको छ । वन संरक्षणका कार्यक्रममार्फत राउटे समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउँछन् ।

केही वर्षअघि लेकवेँसी नगरपालिका क्षेत्रमा भएको वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय, सुर्खेतका वन अधिकृत वसन्तबाबु श्रेष्ठले राउटेहरूलाई भविष्यका पुस्ताका लागि पनि वन संरक्षण आवश्यक रहेको सन्देश दिएका थिए । उनका अनुसार राउटे समुदायले रूख काट्ने मात्र होइन, संरक्षणमा पनि हातेमालो गर्न थालेको परिवर्तन आफैंमा उत्साहजनक छ ।

घुमन्ते फिरन्ते आदिवासी जनजातिका रूपमा परिचित राउटे समुदायको जनसंख्या हाल १३३ रहेको छ । उनीहरूको बसोबास हाल सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ९ मा रहेको छ । अझै पनि उनीहरु घुमन्ते जीवनशैलीमै छन् । बस्ती सर्दै जाने, वनमै बस्ने र वनबाटै जीविकोपार्जन गर्ने उनीहरूको परम्परा यथावत् छ । तर त्यही परम्पराभित्र वातावरण संरक्षणको नयाँ सोच जोडिनु महत्त्वपूर्ण परिवर्तन हो ।

वनसँग राउटे समुदायको सम्बन्ध उपयोगको मात्र नभएर, अब संरक्षण तर्फको पनि बन्दै गएको छ । एक समय थियो वनबाट काठ मात्र निकाल्ने हातहरू आज त्यही वनलाई भविष्यका लागि हराभरा बनाउन बिरुवा रोपिरहेका छन् । समाजमा राउटे समुदाय’bout बनेका पुराना धारणालाई यो परिवर्तनले चुनौती दिएको छ । उनीहरूको यो सानो प्रयासले एउटा ठूलो सन्देश दिएको छ–प्रकृतिबाट जीवन चलाउने समुदाय नै प्रकृतिको सबैभन्दा असल संरक्षक पनि बन्न सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा बजेट विवाद : उत्कर्षमा मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त