काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको परीक्षाको प्रश्न पत्र गोपनीयता भंग गरेको आरोपमा नेपाल प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई नियन्त्रणमा लिइएको हो।
ब्युरोका अनुसार २०८३ साउन ८ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरअन्तर्गत :‘एमजीटी ५१५: संगठनात्मक व्यवहार’’ विषयको प्रश्न पत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। उक्त घटनापछि प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा सीआईबीले थप दुई जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-४ का २५ वर्षीय अतुल कुमार मिश्र रहेका छन्। उनलाई साउन १० गते काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
त्यस्तै, बाराको लिपनीमाल-१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका-८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा संलग्न अन्य पक्षको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
सम्बन्धित समाचार
नयाँ बसपार्कको गेस्ट हाउसमा निशा सुनारको शव
महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ सर्वप्रथम
खैरो हेरोइनसहित चार जना पक्राउ
सीमा सहजीकरणका लागि सशस्त्रद्वारा ५ वटा सीमा नाकामा सादा पोसाकको टिम परिचालन
मोरङमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध






