सुप विश्वविद्यालयका ८३ विद्यार्थी इन्टर्नसीपबाट लाभान्वित

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच भएको द्विपक्षीय समझदारीअनुसार सञ्चालन गरिएको स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रम अन्तर्गत विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत ८३ जना विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रममार्फत विद्यार्थीहरूले प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रत्यक्ष रूपमा कार्यअनुभव हासिल गर्दै आफ्नो विषयगत ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाएका छन् ।

आर्थिक वर्ष २०८२–०८३ मा सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यान्वयनका लागि २०८३ वैशाख १३ गते विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । त्यसपछि विभिन्न सङ्कायका विद्यार्थीहरूलाई स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रमअन्तर्गत सम्बन्धित सरकारी तथा गैरसरकारी निकायमा खटाइएको थियो ।

इन्टर्नसीप अवधिमा सहभागी विद्यार्थीहरूले सम्बन्धित कार्यालय तथा संस्थाबाट व्यावहारिक कार्यअनुभव, कार्यसंस्कृति, सार्वजनिक सेवा प्रवाह, नेतृत्व विकास तथा पेशागत दक्षता अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका छन् । विश्वविद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूको अध्ययनलाई व्यवहारसँग जोड्दै उनीहरूको रोजगारीयोग्य सिप र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूको सम्बन्धित निकायबाट प्रमाणित हाजिरी विवरण तथा प्रगति प्रतिवेदनका आधारमा असार १५ गतेसम्मको पारिश्रमिक सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट उपलब्ध बजेटअनुसार सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धित विद्यार्थीहरूको बैंक खातामा भुक्तानी गरेको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिए । यस अवधिमा सहभागी विद्यार्थीहरूले अधिकतम ३१ हजार २ रुपैयाँ र न्यूनतम ९ हजार १८ रुपैयाँ पारिश्रमिक प्राप्त गरेका उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा विद्यार्थीहरूले आफूले पढ्दै गरेको विषयमा थप सिप सिक्न सकून भनेर स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रमका लागि ४० लाख बजेट विनियोजन गरेको थियो । उक्त योजनाअनुसार विश्वविद्यालयसँग सम्झौता गरेर विद्यार्थीहरूलाई बढीमा ६ महिना उनीहरुले अध्ययन गरिरहेकै क्षेत्रमा स्वयंसेवा तथा इन्टर्नसीपका लागि पठाउने लक्ष्य राखिएको मन्त्रालयका सूचना अधिकारी लोकेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता हुन समय लागेकाले स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रम यो पटक ६ महिना पूरै गर्न नसकिएको बताए । ‘यो कार्यक्रम विद्यार्थीले पढ्दै आफ्नो विषयमा थप कुरा सिक्न सकून भनेर ल्याइएको थियो । मन्त्रालयले ४० लाख बजेट विनियोजन गरेको थियो,’ उनले भने, ‘स्वयसेवक विद्यार्थीलाई खाजा खर्च भनेर दिइएको रकम हो । मासिक १० हजार पाउने गरी स्वयंसेवा तथा इन्टर्नसीपका पठाइएको हो । क्याम्पसहरूले विद्यार्थीको हाजिरी प्रमाणित गरेर पठाएको आधारमा उनीहरुकै खातामा रकम भुक्तानी गरिएको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

मध्यपूर्व तनावले युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि