काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपालीमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२० बागबजारका २५ वर्षीय निश्चल तामाङ रहेको खुलेको छ । हाल मृतकहरूको शव बाकाउस्थित स्पितालुल दे गाइनोकोलोजिकको शवगृहमा राखिएको छ ।
रोमानियाको राजधानी बुखारेस्टबाट ३०८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल सडक खण्डमा २ अगस्ट (आइतबार) स्थानीय समय बिहान ३ः२१ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको जनाइएको छ । २४सै घण्टा खुल्ने प्रफिट ननस्टपमा सामान किन्न जाँदा लिक काट्ने क्रममा उनीहरूलाई रेलले ठक्कर दिएको थियो ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलले बताएका छन् ।
‘मृतकहरूको पहिचान खुलेको छ । नेपालमा मृतकका परिवारलाई घटनाको ’boutमा जानकारी गराइएको र दूतावासलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको छ,’ पोखरेलले भनेका छन् ।
यस्तै, उनीहरुसँगै बाटो काट्न लागेका कञ्चनपुरका अनिलकुमार दमाई र डडेलधुराका महेश नाथ घाइते भएका छन् ।
निश्चल अविवाहित थिए । उनी बिदामा नेपाल आएर विवाह गर्ने तयारीमा थिए । शान्तको भने श्रीमती, १० वर्षको छोरी र २ वर्षको छोरा छन् ।
रोजगारीको सिलसिलामा शान्तकुमार २८ अक्टोबर २०२४ मा रोमानिया पुगेका थिए । निश्चल भने ४ वर्षअघि नै त्यहाँ पुगेका थिए । उनीहरु दुवै जना सेम डे सोलुसन कम्पनीमा टीआरके एजेन्सीमार्फत कुरिअर वायर हाउसमा काम गर्थे ।
रोमानियामा ५० हजार भन्दा बढी नेपाली कामदार रहेको जनाइएको छ । यद्यपि, त्यहाँ नेपाल सरकारको कुनै पनि कुटनीतिक संयन्त्र छैन ।
सम्बन्धित समाचार
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा
सुनसरीमा हटाइयो कर्फ्यू
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
गृहमन्त्री गुरुङ मृतकका परिवार भेट्न सिरहा जाँदै






